मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०९:३३:००
Read Time : < 1 मिनेट
प्रदेश

पश्चिमी खोटाङमा लगाइएको गाँजा नष्ट

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०९:३३:००

प्रहरीले जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयले लगाएको गाँजा खेती नष्ट गरेको छ । स्थानीयले व्यावसायिक रूपमै गाँजा खेती गरेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले गाँजा खेती नष्ट गरेको हो । 

गाँजा खेती नष्ट गर्न इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी सहायक निरीक्षक मधु श्रेष्ठको नेतृत्वमा टोली परिचालित भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवं प्रवक्ता आमोदकुमार खेरवारले जानकारी दिए । प्रतिबन्धित गाँजाको व्यावसायिक खेती नष्ट गर्न विशेष अभियान नै चलाइएको उनले बताए ।

बाहुनीडाँडा र डिकुवामा मात्रै १० हजारभन्दा बढी गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी वामदेव गौतमले जानकारी दिए । हत्तपत्त प्रहरी नपुग्ने पश्चिमी क्षेत्रमा यसपटक इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।

तराईसँग नजिक रहेको पश्चिमी क्षेत्रमा यसअघि प्रहरीकै मिलेमतोमा गाँजा खेती गर्ने गरेको बताइएको छ । गाँजा किन्न तराईबाट तस्करहरू जिल्ला आउने गरेको पनि स्रोतले जनाएको छ । 

गत असारदेखि सुरु भएको अभियानअन्तर्गत प्रहरीले बाहुनीडाँडा, डिकुवा, धितुङ, च्यास्मिटार, बडहरे, हलेसी, मंगलटार, राजापानीलगायत क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।