१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक २९ शुक्रबार १०:२१:००
Read Time : > 1 मिनेट
प्रदेश

स्थानीय तहमा उपनिर्वाचनको सरगर्मी : सात वडाध्यक्षका लागि २२ प्रतिस्पर्धी

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार १०:२१:००

सुदूरपश्चिमका विभिन्न स्थानीय तहका सातवटा वडामा आगामी १४ मंसिरमा उपनिर्वाचन हुँदै छ । बैतडीका तीन तथा कञ्चनपुर, डोटी, अछाम र बाजुराका एक/एक वडामा निर्वाचन हुन लागेको हो । ०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका वडाध्यक्षको विभिन्न कारणले मृत्यु भएपछि ६ वटा वडाध्यक्षविहीन छन् । एकजना वडाध्यक्ष जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएकाले उक्त वडामा पनि उपनिर्वाचन हुँदै छ । 

मनोनयन दर्तासँगै स्थानीय तहमा चुनावी सरगर्मी बढेको छ । अछामको मेल्लेख–५, का कृष्णप्रसाद जैसीले उपनिर्वाचनले गाउँमा चहलपहल बढेको बताए । प्रदेशका सातवटै वडामा हुने उपनिर्वाचनमा ठूला दुई दल नेकपा र कांग्रेसबीच विशेष प्रतिस्पर्धा हुने मतदाताहरू बताउँछन् । निर्वाचन अधिकृतको कार्यालयहरूका अनुसार निर्वाचन हुने सुदूरपश्चिमका सातवटा वडामा गरी १० हजार नौ सयभन्दा बढी मतदाता छन् । 

कुन वडामा को उम्मेदवार ?
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को अध्यक्ष पदका लागि पाँच राजनीतिक दलका पाँचजनाले उम्मेदवारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट कृष्णबहादुर तामाङ र कांग्रेसबाट दीपबहादुर तामाङले उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालयका अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए । समाजवादी पार्टीबाट पदमबहादुर शाही, राप्रपाबाट भीमबहादुर तामाङ र  राप्रपा संयुक्तका श्रीधन तामाङले उम्मेदवारी दर्ता गराएका छन् । पुनर्वास नरपालिका–३, का अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त रहेको थियो । यसैगरी, अछामको मेल्लेख गाउँपालिका–५ को अध्यक्षका लागि नेकपाका रमेशबहादुर खड्का र कांग्रेसका वीरबहादुर बोहराले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट निर्वाचित तत्कालीन वडाध्यक्ष रामबहादुर बोहराको निधनपछि उपनिर्वाचन हुन लागेको हो । 

बाजुराको त्रिवेणी नगरपालिका–१, को अध्यक्षका लागि तीनजनाबीच प्रतिस्पर्धा हुँदै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपाबाट मिलन बुढा, कांग्रेसबाट खगेन्द्र चँदारा र राप्रपाबाट मीनबहादुर ढोलीले उम्मेवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए । ०७४ मा निर्वाचित वडाध्यक्षको खम्ब नेपालीको निधन भएको थियो । 

यसैगरी, डोटीको आदर्श गाउँपालिका–२ को अध्यक्षका लागि एकजना स्वतन्त्रसहित चारजनाले मनोनयन दर्ता गराएका छन् । नेकपाबाट रामबहादुर बोहरा, कांग्रेसबाट महादेव साउँद, राप्रपाबाट काशिराम ओझा र भूमिसिंह खड्काले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

बैतडीको पुरचौडी नगरपालिका–४, को अध्यक्षका लागि नेकपाका उम्मेदवार शैलेन्द्र धानुक र कांग्रेसका उम्मेदवार गोविन्दबहादुर धामीबीच प्रतिस्पर्धा हुनेछ । पुरचौडी–४ मा चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । बैतडीकै सुर्नया गाउँपालिका–१, मा दुईजना र दोगडाकेदार गाउँपालिका–४, मा तीनजनाले उम्मेदवारी दिएका छन् । सुर्नया–१, मा नेकपाका धनबहादुर चन्द र कांग्रेसका गजेन्द्रबहादुर चन्दबीच प्रतिस्पर्धा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दोगडाकेदार–४, मा नेकपाका नरेन्द्रप्रसाद भट्ट, कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तका देवसिंह खत्रीबीच प्रतिस्पर्धा हुनेछ । ३० कात्तिकमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १ मंसिरमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।