मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लेखनाथ पाण्डे
२०७६ कार्तिक २९ शुक्रबार ०९:२९:००
Read Time : > 6 मिनेट
Read Time : > 6 मिनेट
लेखनाथ पाण्डे
२०७६ कार्तिक २९ शुक्रबार ०९:२९:००

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, समाजवाद वा साम्यवाद जे भनिए पनि सम्बन्ध र सम्बोधनका ‘हाइरार्की’ गएका छैनन्

असोज ११ गते सञ्जीव उप्रेतीको दोस्रो उपन्यास ‘हंस’ विमोचनका क्रममा टिप्पणीकार भूषिता वशिष्ठको सम्बोधनले उद्वेलित बनायो । उमेरमा ३० हाराहारीकी भूषिताले लेखकलाई ‘सञ्जीवजी’ भनेर सम्बोधन गर्दा अनौठो लाग्यो । सामान्यतया पाका र आफूभन्दा ठूला मान्छेलाई जी भन्दा ज्यू, हजुर, सर इत्यादि लगाएर सम्बोधन गर्ने चलन छ । चलेका र प्रभावशाली व्यक्ति भए मान्छे चाकडी गर्न तम्सिन्छ । मान्य व्यक्तिका नाम नकाट्ने नियमजस्तै छ । अझ महिलाले पाका पुरुषलाई नामले कमै बोलाउँछन् । हंसमाथि अर्का टिप्पणीकार नयनराज पाण्डे थिए, जो ‘सञ्जीव सर’ भनिरहेका थिए ।

पुंसत्वमा ‘पोस्ट–डक्टरेट’ उप्रेतीका निम्ति यस्तो सोच आफैँमा पुंसत्वको अभिव्यक्ति लाग्ला ! पश्चिमा जगत्मा प्राध्यापकलाई नामले बोलाउनु सामान्य मानिन्छ । लेख्दा ‘डियर फलाना...’ भनेर सुरु गर्छन् । समकालीन समाजमा ज्ञान उत्पादन र वितरणमा समर्पितहरूको कदर अमेरिका र युरोपमा जत्ति अन्यत्र सायदै पाइएला । 

अमेरिकाको ब्राउन र हार्बड विश्वविद्यालयमा अध्ययन गरेका उप्रेतीले यी कुरा देखेकै थिए । हंसमा चराका काल्पनिक संवादलाई मानवीकरण गर्दै रोचक कहानी कुँदेका छन् । उपन्यासमा मानवेतर प्राणी र विशेषगरी हाँसका बन्धनरहित वास, वासना, भावना र श्रेणीविहीन संवादमाथि मिहीन चर्चा छ । चरालाई कहीँ उड्न भिसा लाग्दैन, प्रेम गर्न जातीय वा अन्य छेकबार छैन, न कुनै उँच–नीचको भावना छ । भूषिताले पनि सायद मानव समाजमा व्याप्त असमानता चिर्न ‘जी’ प्रयोग गरेकी थिइन्, ताकि मानिसलाई उमेर, लिंग, जात, धर्म, शक्ति या हैसियतका आधारमा होइन, एउटा व्यक्तिका रूपमा बुझियोस् । 

‘मलाई सञ्जीवजी भनेर सम्बोधन गर्दा कुनै फिल भएन,’ कार्यक्रमको केही दिनपछि भेट्दा प्राध्यापक उप्रेतीले सुनाए, ‘बरु कसैले ‘ज्यू’ भन्दा सामन्तीझैँ सुनिन्छ । जीचाहिँ उदार प्रजातान्त्रिक लाग्छ ।’ केहीले भने उनलाई भूषिताले नामका पछाडि जी लगाएर सम्बोधन गरेकामा अलि असहज लागेको सुनाएका रहेछन् ।
‘खासमा भनिनुपर्ने के थियो र ?’ उप्रेतीले उल्टै सोधेछन् । मसँग जवाफ थिएन, मात्र कौतुहल थियो । यो आलेख त्यही कौतुहलमाथि विमर्श हो ।

‘जी’का गन्थन
प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशअनुसार संवादमा ‘जी’ शब्द मूलतः दुई अर्थमा प्रयोग हुन्छ– एक सही थाप्दा वा बोलाउँदा प्रतिउत्तरमा भन्न र अर्को नामका पछाडि लाग्ने सम्मानसूचक शब्द (पृष्ठ ४६४) । शब्दकोषमा ‘जी’ लाई ज्यूको रूपमा पनि प्रयोग गरिएको पाइन्छ (पृष्ठ ४७६) ।

ठाउँ र भाषापिच्छे शब्दका अर्थ फरक पर्छन् । शब्दकोषमा जी सम्मानसूचक शब्द भनिए पनि बोली र व्यवहारमा यसको अर्थ त्यसमा मात्र सीमित देखिन्न । भाषाविद् भीमनाथ घिमिरेका अनुसार ज्यू उच्चआदरार्थी सम्बोधन हो । जी भने समानार्थी सम्बोधन हो, जुन आफूसरहका व्यक्तिलाई प्रयोग गरिन्छ । यी दुवै संस्कृत वा मौलिक नेपालीका सम्बोधार्थी भने होइनन्, आगन्तुक हुन् । घिमिरेका अनुसार पृथ्वीनारायण शाहका पालाभन्दा अघि कुनै पनि लिखतमा यस्ता शब्द प्रचलनमा भेटिँदैनन् । उर्दूबाट हिन्दी हुँदै नेपालीमा भित्रिएको उनको अनुमान छ । 

‘पहिले अकबरलगायत भारतका मुस्लिम राजाले नेपालका राजालाई बहादुर, शाहजस्ता मान–पदवी र अलंकार दिएको पाइन्छ,’ घिमिरे भन्छन्, ‘पदवीस“गै राजाका प्रशस्ती पनि लेखिन्थ्यो । तिनै प्रशस्तीमार्फत नेपालीमा यी शब्द भित्रिए ।’ नेपाल एकीकरणपछि कार्यालय र प्रशासनका काम गर्न भारतबाट मानिस झिकाइए । तिनले लिखतमा व्यक्तिका पद र मान हेरी ज्यू, जी, हजुरजस्ता आदरार्थी शब्द प्रचलित गराए ।

भाषिक भिन्नता
हिन्दीमा पनि जी र ज्यूजस्ता आदरार्थी प्रयोग हुन्छन् । तर, नेपाली र हिन्दीमा जीले दिने अर्थमा निकै अन्तर छ । भारतमा उच्च आदरार्थीका रूपमा जी प्रयोग हुन्छ । नेपालमा भने ज्यूभन्दा न्यून आदरार्थीका रूपमा जी प्रयोग गरिएको पाइन्छ । भारतीय टेलिभिजनमा देखिन्छ– प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री, वैज्ञानिक, साहित्यकार, भारतरत्न विजेता आदि व्यक्तित्वलाई नाममा जी लगाएर सम्बोधन गरिन्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अटलजी, मनमोहनजी भन्दै अग्रजलाई सम्बोधन गरेको सुनिन्छ । शाहरूख खानले अमितजी भन्दै भारतीय सिनेमाका हस्ती अमिताभ बच्चनलाई आदरभाव व्यक्त गरेको देखे/सुनेका छौँ ।

सायद जी नेपालीमा भित्रिँदा गोर्खाली राष्ट्रवादको कोपभाजनमा पर्न गयो कि ! जी मात्र किन, यस्ता कतिपय शब्द छन्, जसका हिन्दी र नेपालीमा अर्थ भिन्न छन् । बुज्रुकलाई नै लिऊँ न । भारतीय समाजमा कसैलाई बुजु्रक भनियो भने उक्त व्यक्ति साँच्चै विद्वान् भनेको बुझिन्छ । नेपालमा अक्सर त्यसको अर्थ जानिटोपल्ने वा कथित–विद्वान्का रूपमा लिइन्छ । यो गुह्य बुझेका कतिपय नेपालीहरू भारतीय नागरिकले जी लगाएर सम्बोधन गर्दा मुस्काउ“छन् । तर, कुनै नेपालीले भन्दा
सहज मान्दैनन् ।

नेपालमा कतिपय मानिस सम्मुख हु“दा ज्यू, हजुर, सर भने पनि तिनको अनुपस्थितिमा जी लगाउँछन् । आफूभन्दा साना वा जुनियर व्यक्तिलाई पनि जी लगाएर बोलाइन्छ । तसर्थ, शब्दकोशमा समानार्थी सम्बोधन मानिए पनि व्यवहारमा जीको अर्थ पर्गेल्न सहज छैन । जी लगाएर सम्बोधन गर्दा सधैँ सहज र सकारात्मक प्रतिक्रिया नपाइन सक्छ । लाग्छ, जीको आलोकमा मानिसका सम्बन्ध, सामीप्य र कुण्ठा छाम्न सकिन्छ ।

जी–प्रकरण
नेपालमा पत्रपत्रिकामा तिमी लेखिन्छ । टेलिभिजनका पर्दामा पुगेका पाहुनालाई जी लगाएर बोल्ने फेसन नै छ । सामान्यतया बाबुआमा, गुरु वा अभिभावकलाई भने जी जोडेर सम्बोधन गरिएको कमै सुनिन्छ । सायद त्यस्तो भनियो भने ठूलो भएको ठानिन्छ ! त्यस्तै केही उच्च प्रशासनिक पद छन्, जसमा जी लगाउँदा गाली बेइज्जतीसरह हुन्छ ! सचिवलाई जी लगाएर सम्बोधन गरिएको सुनिन्न । मन्त्री प्रधानमन्त्रीले पनि सचिवज्यू नै भनेको पाइन्छ ।

वरिष्ठलाई जी लगाउँदा एक जुझारू सहसचिव कसरी सहकर्मीका आँखाको तारो बने भन्ने एउटा रोचक प्रसंग छ । ०६५ भदौमा तत्कालीन माओवादी नेतृत्वमा सरकार गठन भएलगत्तै परराष्ट्र मन्त्रालयका एक सहसचिव प्रधानमन्त्री पुष्पकमल दाहालको विदेश मामिला सल्लाहकार नियुक्त भए । सहसचिव प्रथम श्रेणीको अधिकृत हुने भए पनि सल्लाहकारका रूपमा उनलाई विशिष्ट श्रेणीको नियुक्ति र सेवा–सुविधा दिइयो ।

त्यसैताका प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय महासभामा सम्बोधन गर्न जाने वार्षिक चटारो चल्दै थियो । नवनियुक्त सल्लाहकारले परराष्ट्रका उच्च अधिकृत, न्युयोर्कस्थित स्थायी प्रतिनिधि र भ्रमणका दौरान प्रधानमन्त्री उड्ने तय भएका अन्य ‘ट्रान्जिट’ मुलुकमा रहेका नेपाली राजदूतलाई निर्देशन दिए । सल्लाहकारले प्रधानमन्त्री वा मन्त्रिपरिषद् सचिवालयको ‘लेटरहेड’मा निर्देशन लेखेका थिएनन् । सोझै निर्देशनात्मक इमेल ठेलेका थिए । इमेलमा सबैलाई ...जी भनेर सम्बोधन गरिएको थियो, जसमध्ये धेरै कूटनीतिक सेवामा उनीभन्दा वरिष्ठ थिए ।

नौ महिनामा सरकार ढलेपछि ती सल्लाहकार सहसचिवका हैसियतमा पुनः परराष्ट्र मन्त्रालय हाजिर भए । जी प्रकरणलगायत सल्लाहकारका रूपमा उनका ‘रवाफिलो’ व्यवहारले मन्त्रालयका वरिष्ठ सहकर्मी उसै उनीप्रति सकारात्मक थिएनन् । राजदूतको दौडमा उनले सहकर्मीबाट साथ पाएनन् । उनले जागिर खाने उमेर बा“की छ“दै स्वेच्छिक अवकाश लिए । जसरी प्रधानसेनापति प्रकरणमा दाहालको सत्ता खुस्कियो, सायद जी प्रकरणले ती अधिकृतको राजदूत बन्ने स्वाभाविक सपना तुहियो । उनी कूटनीतिक सेवामा राजदूत नभई घर फर्किने सीमित सहसचिवमध्ये पर्छन् ।

वामपन्थीमाझ एउटा राम्रो अभ्यास छ, आफ्ना विरादरीका सबैलाई उमेर, रंग, लिंग वा पद नहेरी ‘कामरेड’ अर्थात् मित्र भनेर सम्बोधन गर्ने, पछिल्लो समय वामपन्थी वृत्तमा यो संस्कार पातलिँदो देखिन्छ
 

अड्डा–प्रशासनमा माथिल्लो दर्जाका मानिसलाई आदरार्थी मात्र होइन, चाकडीकै भाषा प्रयोग गरिन्छ । भलै पर्दापछाडि कुरा काट्नु बेग्लै हो ! सुरक्षा अंगका पदाधिकारीबीच बोलिने भाषा झन् ‘सामन्ती’ लाग्छ । देशकै पुरानो संस्था नेपाली सेनामा राजतन्त्र गएकै छैन । अझै बक्स्योस, स्योस्जस्ता प्रभुत्व जनाउने शाही सम्बोधन प्रचलनमा छ । श्रीमान् जर्नेल भएपछि श्रीमती पदेन ‘रानीसाहेब’ बन्न पुग्छन् । संस्थाभित्र र सेवामा छ“दा पदमा भएकालाई जर्साप, कर्साप इन्पेक्टरसा’प, सईसा’प त बोल्ने नै भए । जागिर छाडिसकेपछि पनि यस्ता पदवीले सम्बोधन गरिएको पाइन्छ । सायद त्यसैले भनिएको होला, ‘-यांक नेभर रिटायर्स्’ (दर्जा कहिल्यै निवृत्त हुँदैन) !

सम्बोधनमा फुर्को
वामपन्थीमाझ एउटा राम्रो अभ्यास छ– आफ्ना विरादरीका सबैलाई उमेर, रंग, लिंग वा पद नहेरी ‘कामरेड’ अर्थात् मित्र भनेर सम्बोधन गर्ने । स्पेनी भाषाको क्यामराडाबाट अंग्रेजीमा लिइएको यस सम्बोधनको अर्थ हुन्छ, दमनविरुद्धको संघर्षका सहयोद्धा, सहकर्मी वा साथी । फ्रान्सेली क्रान्तिताका क्रान्तिकारीहरूले यस शब्दलाई प्रचलनमा ल्याए । त्यसपछि बिस्तारै माक्र्सवादी, साम्यवादी र समाजवादीमाझ समानता, एकता र समानार्थी सम्बोधनका रूपमा यसको प्रयोग व्यापक बन्यो । माओले चिनियाँ कम्युनिस्ट पार्टी र जनमुक्ति सेनाका सदस्यले एक–अर्कालाई सम्बोधन गर्दा कमरेड भन्न ‘रुलिङ’ नै गरेका थिए । अहिले यो बाध्यकारी नभए पनि चिनिया“ राष्ट्रवाद चर्काउन र जनमुक्ति सेना र पार्टी कार्यकर्ताका औपचारिक सम्बोधनमा यसको प्रयोग हुन्छ ।

नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टी गठन भएदेखि नै वामपन्थी वृत्तमा ‘कामरेड’ सम्बोधन प्रचलनमा छ । वामपन्थी नेता–कार्यकर्ता कतिपय सन्दर्भमा सर, दाइ, हजुर इत्यादि शब्दले सम्बोधन गरे पनि संगठनभित्र र आपसी भेटघाटमा कामरेड भन्छन् । कतिपय सञ्चारकर्मी पनि वाम नेतालाई कमरेड भन्दै अभिवादन गर्छन् । नेपाली कांग्रेसका नेतालाई दाइ/दिदी भन्दा जसरी सहज मान्छन्, वामपन्थीहरूले कामरेड भन्दा निकटता महसुस गरेको पाइन्छ ।

पछिल्लो समय वामपन्थी वृत्तमा यो संस्कार पातलिँदो देखिन्छ । एकजना पूर्वमन्त्री थिए, जसलाई पदबाट हटे पनि मन्त्रीज्यू भनेर सम्बोधन गरेको सुन्नुपर्ने ‘रोग’ नै थियो । पछिसम्म अंगरक्षक र कार्यकर्ताले उनलाई मन्त्रीज्यू नै भनेर सम्बोधन गरेको देखिन्थ्यो । कतिपयलाई पदमा गुमेपछि गाडी मात्र होइन, पगरी गुमाउन पनि सकसै हुने रहेछ ! स्विडेनमा कानुनका प्राध्यापक कटक मल्लले एउटा यस्तै प्रसंग सुनाए । कुरो २०६६ वैशाखको हो, पुष्पकमल दाहाल प्रधानमन्त्री थिए ।

कटवाल प्रकरण हुनु एक साताअघि प्रधानमन्त्रीलाई भेट्न उनी बालुवाटार बोलाइए । प्रधानमन्त्रीनिवास पुगेपछि उनलाई प्रवेशद्वारमा भनियो, ‘प्रधानमन्त्रीज्यू सवारी भइबक्स्या छैन, केही बेर पर्खनुहोस् ।’ मल्ललाई पर्खन आपत्ति थिएन । तर, प्रधानमन्त्रीलाई जुन सम्बोधार्थी प्रयोग गरिएको थियो, त्यो एउटा क्रान्तिकारीका निम्ति सुहाउँदो लागेन । किनकि, दाहालले राजशाही मात्र होइन, तिनका संस्कारविरुद्ध पनि लडेका थिए । ‘जब क्रान्तिकारीहरू नै पनि यस्ता सम्बोधनलाई सामान्यीकरण र अनुशरण गर्छन्, त्यो क्रान्ति खेर गयो,’ मल्लले हालै एक भेटमा सुनाए ।

वामवृत्तमा समानता झल्काउने र समानार्थी सम्बोधनमा रुचि घट्दै गएको देखिन्छ । कार्यकर्ता र नेता, ठूला र साना नेता तथा नेता र जनताबीच फरक–फरक सम्बोधन हुन्छन् । धेरै वामपन्थीले आफ्ना नेतालाई सम्बोधन गर्दा कमरेड शब्द त प्रयोग गर्छन्, तर त्यसमा उच्च आदरार्थी सिङ–पुच्छर झुन्ड्याउने गरेको पाइन्छ— जस्तो, आदरणीय कामरेडज्यू । यहाँ खासमा आदरणीय र ज्यू अतिरिक्त बोझ हो, जुन कामरेड शब्दको मर्मसँग मेल खाँदैन ।

अड्डा–प्रशासनमा माथिल्लो दर्जाका मानिसलाई आदरार्थी मात्र होइन, चाकडीकै भाषा प्रयोग गरिन्छ, भलै पर्दापछाडि कुरा काट्नु बेग्लै हो,  सुरक्षाअंगका पदाधिकारीबीच बोलिने भाषा झन् ‘सामन्ती’ लाग्छ

यस्ता धेरै सम्बोधनार्थी सर्वनाम छन्, जहाँ उपसर्ग वा परसर्ग लगाइरहनु जरुरी छैन । तैपनि हामी श्रीमान् लेखेपछि ज्यू लेख्छौँ, सम्माननीय, माननीय, प्राध्यापक इत्यादि सम्बोधनपछि पनि ज्यू झुन्ड्याउँछौँ, मानौँ अपमान गरेको ठानिन्छ ! तैपनि किन हो कुन्नि, हामी जर्ज अर्वेलको ‘एनिमल फार्म’लाई सिद्ध गर्न लागिपरेका छौँ ।

सम्बोधनका श्रेणी 
दक्षिण एसियाभर सम्बन्ध र सम्बोधन बढी श्रेणीगत अर्थात् ‘हाइरार्किकल’ पाइन्छ । उमेर, लिंग, पारिवारिक घराना, जात, काम, भूगोल र जन्मका आधारमा तँ, तिमी, तपाईं, हजुर, बक्स्योस्, साहेब इत्यादि सम्बोधन छ । हुन त यस अंग्रेजीभाषी बेलायतसहित अन्य पश्चिमा देशमा पनि ‘श्रेणीगत’ सम्बोधन विद्यमान छ । अझ दक्षिण एसियामा कतिपय उच्च आदरार्थी र प्रभुत्व जनाउने सम्बोधनका लागि उपनिवेशवालाहरूको योगदानलाई भुल्न सकिन्न ।

यसका अतिरिक्त मुस्लिम शासकदेखि मनुसम्म, युरोपेली उपनिवेशदेखि राणा/शाही तन्त्रसम्मका योगदान केलाउन सकिन्छ । अझ जातीय र छुवाछुत प्रथाले श्रेणीगत सम्बोधनलाई थप गा“जेको हो । वर्णव्यवस्थामा उँच–नीच जात तथा राणा/शाहीतन्त्रमा राजा–महाराजा, भाइ–भारदार, प्रजा, नोकर, चाकर, नानी इत्यादिलाई तिनका हैसियत र भूमिकाअनुसार उच्चदेखि तुच्छ सम्बोधन र सर्वनाम बनाइए ।

अहिले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, समाजवाद वा साम्यवाद जे भनिए पनि सम्बन्ध र सम्बोधनका ‘हाइरार्की’ गएका छैनन् । बरु, त्यसको लोकतान्त्रिक, गणतान्त्रिक, उदारवादी र माक्र्सवादी रूपान्तरण तथा कारोबार बढेको छ । कुनै समय दरबार हु“दै भारदार, घरानिया र तिनका नातामा भित्रिएका ज्यू, जी, हजुरजस्ता शब्द अहिले उच्च तथा उच्चमध्यमवर्गका ‘सभ्य’ शैली र भाषिक मानक बन्न थालेका छन् । तीसँग उठबस गर्नुपर्ने सहरिया मध्यमवर्ग पनि उक्त ‘हाइरार्की’ फैलाउन लागेका छन्, जसले एउटा रोचक ‘संक्रमणकालीन व्याकरण’ निर्माण गरिरहेको छ । उदेकलाग्दो त के भने कामरेडजस्ता समानार्थी र सहृदयी सम्बोधनमा अभ्यस्त भएकाहरू यतिवेला तिमी, तपाईं र हजुरका ‘हाइरार्की’ जोगाउन लागिपरेका छन् ।

अन्त्यमा, जी सम्बोधनमै फर्किऔँ । जीस“ग सम्बन्धित मूलतः दुईवटा मुद्दा देखिए । एक, अरूलाई कनिष्ठ ठानी जी भन्नेका र जी भनेको सुन्न नसक्नेका । जीलाई समानार्थी सम्मानका रूपमा लि“दा समस्या रहेन । तर, जब हामी आफूलाई ठूलो ठान्छौँ, अरूबाट ज्यू, हजुर अपेक्षा गर्छौं । अनि, जब अरूलाई ठूला ठान्छौँ, जी, हजुर, ज्यू भन्नमै रमाउँछौँ । मानिस, तिनका सम्बन्ध र सम्बोधनका ‘हाइरार्की’ प्रवद्र्धन गरिरहन्छौँ ।