१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
क्यारोल पिरेस
२०७६ कार्तिक २९ शुक्रबार ०९:२९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

लुला जेलमुक्त भएपछिको तरंग

Read Time : > 2 मिनेट
क्यारोल पिरेस
२०७६ कार्तिक २९ शुक्रबार ०९:२९:००

ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई डेढ वर्षको कारावासपछि नोभेम्बर ८ मा जेलमुक्त गरियो । लुला मुद्दाको बहस जारी रहेकाले उनी पुनः जेल जाने सम्भावना यथावत् छ । तथापि, सम्पूर्ण मुद्दा टुंगोमा नपुगेसम्म उनी जेलबाहिर रहन सक्नेछन् । वर्तमान राष्ट्रपति जेयर बोल्सोनारोको अलोकप्रियता ओरालो लागिरहेको समयमा ब्राजिलमा सबैभन्दा बढी मन पराइएका तथा सबैभन्दा बढी घृणा गरिएका व्यक्तिको राजनीतिक आगमनले देशको तनावलाई झन् गहिरो बनाउने निश्चित छ ।

सन् २०१८ अप्रिलमा लुला जेल गएदेखि उनको वर्कस पार्टी धर्मरायो । पार्टी अन्योलमा हुँदासमेत त्यसलाई सम्हाल्न सक्ने कुनै नेता देखिएनन् । चमत्कारी भाषणकला र ब्राजिलको इतिहासको सबैभन्दा लोकप्रिय राष्ट्रपतिको पहिचानले गर्दा लुला अहिलेको समयमा जनता परिचालन गर्न सक्षम एक मात्र विपक्षी व्यक्तित्व हुन् । रमाइलो कुरा, अहिले बोल्सोनारोको राष्ट्रपतित्वको विरोध मुख्यतः उनकै पार्टीभित्रबाट मात्र आइरहेको छ । लुला जेलमुक्त भएपछि पुनः जागेको पार्टीले बोल्सोनारोलाई सन्तुलनमा ल्याउने प्रतिक्रिया दिने विश्वास गरिएको छ । 

लुला सन् २०१८ को राष्ट्रपतीय चुनावी अभियानमा सबैभन्दा अग्रस्थानमा थिए । कैद भइसकेपछि पनि उनको अग्रस्थान कायम नै थियो । अदालतले नै लुलालाई निर्वाचनमा लड्न नपाउने फैसला गरेपछि उनको चुनावी अभियान अन्त्य भएको थियो । लुला शुक्रबार जेलमुक्त हुँदै छन् भन्ने घोषणा बाहिरिएसँगै कुरिटिवाको संघीय प्रहरी भवनबाहिर उनका कैयन् समर्थक पुगेका थिए । लुला जेलबाहिर आएपछि समर्थकले उत्साहका साथ खुसी व्यक्त गरे । भोलिपल्टै साओ पाउलोमा हजारौँ मानिसको उपस्थिति रहेको धातुसम्बन्धी काम गर्ने श्रमिक युनियन भेला भयो ।

लुलाले सन् १९७० को दशकमा त्यहीँबाट ट्रेड युनियन नेताका रूपमा राजनीति सुरु गरेका थिए । त्यहाँ समर्थकलाई सम्बोधन गर्दै उनले भने, ‘म फर्किएको छु । ममा अहिले जेल गएअघिको भन्दा बढी लड्ने इच्छाशक्ति आएको छ ।’ लुलामाथि लागेको आपराधिक अभियोग नउल्टिएसम्म उनी राष्ट्रपति पदमा लड्न सक्ने छैनन् । तर, त्यो समयमा उनले देशदौडाह गर्न सक्छन् र ब्राजिली राजनीतिमा आफ्नो स्थान पुनस्र्थापित गराउने प्रयास गर्नेछन् ।

उनको रिहाइले विगत पाँच वर्षमा भोगेको ब्राजिलको राजनीतिमा ध्रुवीकरण थप बढाउनेछ । वामपन्थी लुलाको रिहाइमा उग्र–दक्षिणपन्थी बोल्सोनारो शान्त बसेनन् । उनले ट्विटरबाट आफ्नो असन्तुष्टि पोख्दै भने, ‘एक जना बदमासलाई धेरै महत्व नदिऊँ । उनी केही समयका लागि जेलमुक्त भएका हुन्, दोषमुक्त भएका होइनन् ।’ 

सन् २०१८ मा बोल्सोनारोलाई मतदान गर्ने धेरै ब्राजिलीले सहजै वर्कस पार्टीलाई साथ दिन सक्दैनन् । ती लुलालाई जेल पु-याएको भ्रष्टाचारविरोधी अभियान ‘लाभा जाटो’लाई पनि बलियोसँग समर्थन जनाउँछन् । तथापि मतसर्भेक्षणअनुसार तिनीहरू वर्तमान अवस्थाबाट खुसी छैनन् । बोल्सोनारोले पाएको ३२ प्रतिशत समर्थन सन् १९८७ यता कुनै राष्ट्रपतिले पाएको सबैभन्दा न्यून  हो । त्यसो हुँदा पनि अन्य लुलाको रिहाइप्रति क्रुद्ध छन् ।

देशमा लामो समयदेखि कायम संरचनागत दण्डहीनताका कारण देशमा आमअसन्तुष्टि थियो । त्यसैले धेरैले लुलाको कैद सजायलाई स्वागत गरेका थिए । ती मानिसले लुलाको रिहाइलाई भ्रष्टाचारविरुद्धको संघर्षको हारको रूपमा हेरेका छन् । एक प्रभावशाली प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने अवस्थामा बोल्सोनारोले विगतका राजनीतिक गल्तीबाट मानिसको ध्यान अन्यत्र मोड्ने मौका पाएका छन् । लुलासँग भिड्नका लागि उनले भ्रष्टाचारविरोधी अडान पुनः दोहो-याउन सक्छन् । तर, उनको भ्रष्टाचारविरोधी अभियान पछिल्लो समय उनकै पार्टीभित्र र परिवारका शंकास्पद सम्झौता खुलासा भएसँगै खोटमुक्त नरहेको देखिइसकेको छ । पछिल्लो समय ल्याटिन अमेरिकालाई असन्तोष र अशान्तिले छोपेको छ ।

बोलिभिया, चिली र इक्वेडरका प्रदर्शन यसका ज्वलन्त उदारण हुन् । त्यस्तो अवस्थामा सरकार र विपक्षीले तिनको प्रतिद्वन्द्वात्मक सम्बन्धमा ध्यानपूर्वक कदम चाल्नुपर्छ । हुन त, दुवै पक्ष मेलमिलापको मार्गमा अघि बढ्लान् भनेर सोच्नु अपरिपक्व हुन्छ, तर पनि अहिले ब्राजिललाई मेलमिलाप र एकताको आवश्यकता रहेको दोहो-याउनु उपयुक्त हुन्छ । ब्राजिल र ल्याटिन अमेरिकाको लोकतन्त्रलाई क्षति पु-याइरहेको उग्रवादलाई कम गर्नका लागि पनि दुई नेताले एकता र मेलमिलापको प्रयास गर्नु एकदम महत्वपूर्ण हुन्छ ।

बोल्सोनाराले लुलाको आगमनसँगै एक बलियो प्रतिपक्षको सामना गरेका छन् । यो राम्रो कुरा हो । दुवै नेतालाई तिनका कार्यकर्ता देवताको हदसम्म सम्मान गर्छन् । व्यक्तिपूजा ल्याटिन अमेरिकी राजनीतिकै दुर्भाग्यपूर्ण चरित्र रहँदै आएको छ । यो अन्त्य हुनुपर्छ । ७४ वर्षे लुला विगत १६ वर्षदेखि ब्राजिलको राजनीतिमा प्रभुत्व जमाइरहेका छन् ।

उनको उपस्थितिले ब्राजिलको वाम र मध्य–वामपन्थी राजनीतिमा नयाँ पुस्ताको आगमनमा अवरोध पु-याएको छ । भावी दिनमा उग्रदक्षिणपन्थी विचारसँग जुध्न सक्षम अर्को पुस्ताको नेतृत्व पाउन कठिन हुने डर छ । अहिले ब्राजिलमा नेतृत्वको व्यक्तिपूजाको जुन संस्कृति व्याप्त छ, त्यसको विरोध गर्नु सबैभन्दा महत्वपूर्ण भएको हो । यस संस्कृतिका कारण राजनीति लामो समय उही नेताको वरपर घुमिरहने अवस्था सिर्जना भएको छ ।

पिरेस रिपोर्टर हुन्, उनी ब्राजिलको राजनीतिबारे रिपोर्ट गर्छिन् ।

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य