मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०८:२०:००
Read Time : > 1 मिनेट
सम्पादकीय

पवित्र वस्तुको किनबेच

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०८:२०:००

मन्दिरमा फूल मात्र चढाएर हुँदैन भनेर हो कि सँगै चढाइन्छ पैसा पनि । जति धनी भयो, त्यति धेरै पैसा मन्दिरलाई चढाए बढी धर्म कमाइने पाखण्डी विचार मान्यताका रूपमा विकास भएको छ । कम पैसा हुनेहरू सायद धर्म किन्न अर्को धनीले गरेको लगानीबाट मर्माहत हुँदा हुन् । पशुपतिकै दर्शनमा विशेष भेटी चढाउनेहरूका लागि विशेष पूजा आयोजना गर्ने प्रचलन छ ।

धर्ममा धनको प्रभाव विश्वव्यापी छ । अर्थात् धर्मजस्तो आस्था र पवित्र विषय पनि मज्जाले हुन्छ किनबेच । एक जमाना थियो, युरोपेली चर्चहरू धर्मभिरु मानिसलाई स्वर्गमा स्थान सुरक्षित राख्न पहिले पैसा तिरेर प्रमाणपत्र लिन लगाउँथे, जसले किन्न सकेन, ऊ स्वर्ग गएन भनेर अत्याउँथे । संसारका सबै पवित्र वस्तु बिक्रीयोग्य हुन्छन् । शालिग्राम बेचिन्छ र शंखघण्ट पनि । वेद बेचिन्छ र फूलपाती पनि । वेदको मन्त्र वाचन गर्ने पण्डित, पुरोहित आफ्ना मन्त्रोच्चारण समय बिक्री गर्छन् । अहिले त पूजा र यज्ञसमेत ठेक्कामा लगाउने चलन सुरु भएको छ । यति भएपछि मानिसको बिक्री ठूलो भएन । यतिवेला चर्चा गर्न लागिएको भने परोपकार व्यापारको हो ।

लामो समयदेखि चर्चामा रहेको परोपकारको कारोबार हुने एउटा बद्नाम क्षेत्र नेपालमा सञ्चालनमा रहेको एम्बुलेन्स सेवा पनि हो । नेपालका प्रायः एम्बुलेन्स सेवा या त अस्पतालले चलाएका छन्, या त परोपकारका लागि स्थापित संस्थाले । धेरैजसो एम्बुलेन्समा स्व. फलानाको स्मृतिमा सञ्चालित लेखिएको हुन्छ या लायन्स, लियो अथवा कुनै क्लब या समुदायको प्रयासमा त्यो सञ्चालन भएको हुन्छ । यसको अर्थ हो, यस्ता एम्बुलेन्स निजी अस्पतालले चलाएकाबाहेक, परोपकारका उद्देश्यले सञ्चालित छन् ।

नाफामुखी बजार व्यवस्थाले परोपकार र सेवाको कामलाई तुच्छ वैयक्तिक लाभमा रूपान्तरण गरिदिएको छ

यसरी परोपकार गर्ने संस्थाको उद्देश्य आफ्नो इलाकाभित्र कसैले दुर्घटना या अन्य रोगका कारण समयमै अस्पताल पुग्न नपाएर मर्नु नपरोस्, सुत्केरी हुने आमाहरू अकालमा नमरून् र तिनका सन्तानले सुरक्षित रूपमा पृथ्वीमा अवतरण गर्न पाऊन् भन्ने हुन्छ होला । यसको अर्थ त्यस्तो एम्बुलेन्स सेवा दिनेले बिरामीको अवस्था हेरी सकेसम्म राम्रो गुणस्तरको सेवा दिने सबैभन्दा निकट दूरीमा रहेको अस्पतालसम्म पु-याउने कर्तव्य र धर्म सम्झेर काम गर्छ भनेर विश्वास गर्नु हो ।

परोपकार र धर्म भनेकै अरूको सुखमा खुसी खोजिनु हो । अरूलाई दुःख अप्ठेरो पर्दा उपकार गर्न सके मात्र आफ्नो आत्मा र परमात्मा समान देख्ने जनसेवी भावना भएको मानिने हो । तर, यता सबै पवित्र वस्तु तथा सेवालाई व्यापारका लागि किनबेच हुने वस्तुमा रूपान्तरण गर्दै हिँडेको नाफामुखी बजार व्यवस्थाले यस्तो परोपकार र सेवाको कामलाई तुच्छ वैयक्तिक लाभमा रूपान्तरण गरिदिएको छ । अनि बिरामी नपाएर हैरान परेका, अरूका दुःखमा मात्र आफ्नो प्रगति देख्न पल्केका अस्पताल एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामीलाई जालमा पार्छन् र शोषण गर्छन् ।

परोपकारी संस्थाबाट नियमित तलबमा काम गर्ने चालक गरिब र सूचनामा पहुँच नभएका बिरामीलाई उपकारका नाममा कमिसन लिएर महँगो अस्पतालमा बिक्री गरिदिन्छन् । यो हाम्रो समाजको एउटा अश्लील र भद्दा चित्रको नमुना हो । यसलाई रोक र यसको जिम्मेवारी स्वास्थ्य मन्त्रालय, गृह प्रशासन, स्थानीय सरकार र सम्बन्धित एम्बुलेन्स सेवा प्रदान गर्ने संस्थाहरूले लिऊन् । अन्यथा विश्वास कसलाई गर्ने भन्ने एउटा भयानक संकट उत्पन्न हुनेछ । चितवनमा हालै भएको एम्बुलेन्सचालकको भोजभतेरले यस्तै संकेत गर्छ ।