मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०८:२८:००
Read Time : > 3 मिनेट
सेयर बजार

बजारमा वित्तीय विवरणको प्रभाव

Read Time : > 3 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०८:२८:००

निरन्तर दुई दिनको करेक्सनपछि साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ । यस दिन नेप्से ०.०७ प्रतिशत बढेको छ । यस दिन नेप्सेमा वित्तीय विवरणको प्रभाव देखिएको छ । चालू आवको प्रथम त्रैमासमा नाफामूलक वित्तीय विवरण प्रकाशित गरेको कम्पनीहरूको सेयरमूल्य यस दिन बढेको देखिन्छ । कम्पनीहरूले प्रकाशित गर्ने वित्तीय विवरण लगानीकर्ताहरूका लागि लगानीको रणनीति बनाउने आधार हुन् । सोहीकारण नाफामूलक वित्तीय विवरणले यस दिन बजार प्रभावित भएको एक लगानीकर्ताले बताए । आगामी कारोबार दिनमा पनि कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणको प्रभाव देखिने उनको भनाइ छ । यसका साथै केही लगानीकर्ता भने उच्च लाभांश घोषणा गरेको कम्पनीहरूको सेयर खरिद गरिरहेको एक ब्रोकरले बताए । नेप्से परिसूचक बढे पनि यस दिन कारोबार रकम भने घटेको छ ।

बजार सारांश
नेप्से परिसूचक बिहीबार ०.७९ अंक बढेर १ हजार १ सय ३५ दशमलव ९५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन ०.११ अंक घटेर २५०.०६ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन ०.०८ अंक बढेर ८४.३३ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०१ अंक बढेर ८० दशमलव ६० बिन्दुमा पुगेको छ । यस दिन १ सय ६३ कम्पनीको ४ हजार ५ सय १९ पटकको कारोबारमा २२ करोड ८३ लाख ५७ हजार ४ सय ९३ रुपैयाँबराबरको ८ लाख ३३ हजार ८ सय ८१ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ४४ दशमलव ७१ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्रीको चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ८२ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६३ कम्पनीमध्ये ६२ कम्पनीको सेयरमूल्य बढेको छ भने ७५ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २६ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ३३ दशमलव १६ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार १ सय ३९ दशमलव १६ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय ३० दशमलव ३७ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार १ सय ४२ दशमलव ३७ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ३६ दशमलव ३७ रहेको छ ।

२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट
यस दिन बजार सामान्य अंक बढे पनि दुई कम्पनीहरूको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यस दिन साल्ट ट्रेडिङ कर्पोरेसन र पाँचथर पावर कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको हो । साल्ट ट्रेडिङको सेयरमूल्य यस दिन ८५ रुपैयाँ बढेर ९ सय ४३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । पाँचथर पावरको सेयरमूल्य भने यस दिन ९ रुपैयाँ बढेर १ सय २ रुपैयाँमा अन्तिम कारोबार भएको छ । पाँचथरले नाफामूलक वित्तीय विवरण प्रकाशित गरेका कारण त्यसको सकारात्मक प्रभाव परेको हो । गुडविल फाइनान्स, राधी विद्युत् कम्पनी र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाइमूल्य सर्वाधिक ५ दशमलव ६६ प्रतिशत घटेको छ । त्यसैगरी, आँखुखोला जलविद्युत् कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ भने समिट लघुवित्त वित्तीय संस्था र पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

एनएमबिको सेयर कारोबार बढी
कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन एमएमबि बैंक अगाडि रहेको छ । सो बैंकको यस दिन ३ सय ५२ पटकको कारोबारमा ४ करोड २९ लाख ६८ हजार रुपैयाँबराबरको १ लाख १३ हजार २ सय ३९ कित्ता सेयर खरिद–बिक्री भएको छ । बैंकले गत आवको मुनाफाबाट ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताहरू यस बैंकको सेयरतर्फ आकर्षित भएका हुन् । बैंकको सेयरमूल्य यस दिन २ रुपैयाँ बढेर ३ सय ८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस दिन नेपाल बैंक र हिमालयन डिस्टिलरीको कारोबार रकम १ करोड ३० लाखभन्दा बढी सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्याका आधारमा यस दिन रसुवागढी हाइड्रोपावर लिमिटेड अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ३ सय ८८ पटक सेयर कारोबार भएको छ । 

८ समूहको परिसूचक बढ्यो 
यस दिन कारोबारमा आएका १२ समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने ४ समूहको घटेको छ । व्यापार समूहको परिसूचक यस दिन सर्वाधिक ६ दशमलव ५४ प्रतिशत बढेको छ । साल्ट ट्रेडिङको सेयरमूल्यमा सर्किट लागेसँगै यस समूहको परिसूचक बढेको हो । यस दिन म्युचुअल फन्ड समूहको परिसूचक १ दशमलव ६ प्रतिशत, वित्त समूहको शून्य दशमलव ७२ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव २७ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव २१ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव १३ प्रतिशत, उत्पादनमूलक र जलविद्युत् समूहको शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ । यस दिन लघुवित्त समूहको परिसूचक शून्य दशमलव ४५ प्रतिशत, अन्य समूहको शून्य दशमलव २० प्रतिशत, होटेल समूहको शून्य दशमलव १६ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ ।