मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०८:०६:००
Read Time : < 1 मिनेट
खेलकुद

नेपाल सात विकेटले पराजित

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०८:०६:००

एसिसी इमर्जिङ टिम कप क्रिकेट प्रतियोगितामा बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको यू–२३ टोलीसँग सात विकेटले पराजित भएको छ । बंगलादेशमा सम्पन्न ए समूहको आफ्नो पहिलो खेलमा पहिलो ब्याटिङ गरेको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन मात्र बनाएको थियो । प्रत्युत्तरमा भारतले ४२ ओभरमा तीन विकेटको क्षतिमा १९४ रन जोड्यो । 

पहिलो ब्याटिङ गर्दा नेपाली ब्याट्सम्यानले संयमित रूपमा ब्याटिङ गर्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्ल सामना गरेको दोस्रो बलमै डकआउट भए । त्यसपछि नेपालको ब्याटिङ त्यति जम्न सकेन । कुशल भुर्तेल र शरद भेषवाकरले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे । भुर्तेलले ६० बलमा चार चौका प्रहार गर्दै २८ रन जोडे । दीपेन्द्रसिंह ऐरी र भेषवाकरबीच चौथो विकेटका लागि ४४ रनको साझेदारी हुँदा नेपाल २८.२ ओभरमा १०२/४ को स्थितिमा पुग्यो । ऐरीले ३१ बलमा २४ रन बनाए । 

मध्यक्रममा दरिलो प्रदर्शन गरेका भेषवाकर ४४ रनमा आउट भए । उनले ७६ बलमा समान एक चौका र छक्का प्रहार गरेका थिए । नेपालको इनिङमा पवन सर्राफले अर्धशतकीय योगदान दिए । उनले करण केसीसँग आठौँ विकेटका लािग ४१ रन जोडे । पवनले ४९ बलमा सात चौका र दुई छक्काको मद्दतमा ५६ रन जोडे । करणले १६ बलमा समान एक चौका र छक्का प्रहार गर्दै २० रन बटुले । 

भारतका लागि बी सारथ र अर्यान जुयालबीच पहिलो विकेटका लागि ७४ रनको साझेदारी भएको थियो । सारथले ४९ बलमा ४९ रन बनाउँदा आठ चौका र एक छक्का हिर्काए । सन्भिर सिंहले ७३ बलमा ५६ तथा अर्मान जेफिएरले ५१ रन जोड्दा भारतको जित सहज भयो । नेपालका लागि करण, सुसन भारी र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।