ग्लुमी गाइज ब्याक अगेन
सांगीतिक ब्यान्ड
हरि कर्माचार्यको सांगीतिक यात्रा ०४८ सालदेखि सुरु भयो । निर्मल फैँजु, मित्र भोछिभया, सुजेश वैद्य, आत्माराम श्रेष्ठ, जेएन श्रेष्ठ र शोभितमान श्रेष्ठसँग हिमचिम बढ्यो । उनीहरू काभ्रेको बनेपा र धुलिखेलका बासिन्दा हुन् । सातजना मिलेर ०५२ सालमा सांगीतिक ब्यान्ड स्थापना गरे– ग्लुमी गाइज । त्यतिवेला अंग्रेजी गीत ‘ग्लुमी सन्डे’ खुबै चर्चामा थियो । ब्यान्ड स्थापना गर्दै गर्दा उनीहरूमा त्यही गीतको प्रभाव मुखरित भयो ।
उनीहरूले तयार पार्ने गीत ‘सेन्टिमेन्टल’ प्रकारकै हुन्थे । ‘अहिले सोच्दा ब्यान्डको नाम सही राखिएन कि जस्तो लाग्छ,’ कर्माचार्य भन्छन्, ‘हामी सँगसँगै चर्चामा आएका मध्याह्न, कन्दरा, नेपथ्यजस्ता ब्यान्डले आफ्नो नाममा नेपाली मौलिक भाव दिएका थिए ।’ उनीहरूले ०५५ सालमा पहिलो एल्बम ‘ड्रिजल’ सार्वजनिक गरे । एल्बममा समावेश भएको ‘आकाशैमा चिल उड्यो फनन’ गीत निकै चर्चित बन्यो । त्यस गीतमा पहिलोपटक हिपहपको प्रयोग गरिएको थियो ।
त्यसअघि नै ओमविक्रम विष्ट, सञ्जय श्रेष्ठ र बबिन प्रधानहरूले पपसंगीतलाई स्थापित गराइसकेका थिए । ‘आकाशैमा चिल उड्यो फनन’मा प्रयोग गरिएको हिपहपले भने ‘ग्लुमी गाइज’लाई सकसमा पा-यो । एफएम स्टेसनहरूले ‘बीचमा कुरा गरेकोजस्तो के राखेको’ भन्दै प्रश्न गरे । हिपहपको पहिलो प्रयोग भएकाले एफएम सञ्चालकहरू द्विविधामा परेका थिए ।
रेडियोहरूबाट गीत नबज्ने भएपछि उनीहरू एल्बम बिक्रीतर्फ लागे । सडकमा उभिएर पनि उनीहरूले एल्बम बिक्री गरे । सोही क्रममा हास्यकलाकार ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि उनीहरूको एल्बम किनिदिए । चोक–चोकमा त्यो गीत घन्किन थाल्यो । त्यसअघि गीत बजाउन नमानेका रेडियो स्टेसनका सञ्चालकहरू आफैँ उनीहरूलाई खोज्दै आए ।
०६४ सालमा ‘ग्लुमी गाइज’ले संगीतबाट जीवन नचल्ने निष्कर्ष निकाले । र, करिब सात वर्ष उनीहरू गुमनाम बने । ०७१ सालमा आएर ‘ग्लुमी गाइज ब्याक अगेन’ नाममा पुराना र नयाँ गीतका साथ युट्युबमार्फत यस सांगीतिक ब्यान्डको कमब्याक भयो ।
‘ड्रिजल’पछि आएका एल्बमहरूमा समाविष्ट ‘टाटा गाडीमा’, ‘हेर्न देऊ तिम्रो मुहार’, ‘पिरतीको तालमा’, ‘मायाको डोरीले तिमीलाई बाँधुला’, ‘लान्छु तिमीलाई म दार्जिलिङको रेलैमा’, ‘आउने भए आऊ माया’ लगायत गीत चर्चित सदाबहार गीतमा दरिए । उनीहरूले ०५६ मा ‘स्टेप टु’, ०५८ मा ‘आकाश झर्दैन’, ०६० मा ‘स्टेप फोर’ र ०६३ मा ‘यसपालि’ एल्बम निकालेका थिए ।
०६४ सालसम्म आइपुग्दा उनीहरूले संगीतबाट मात्र जीवन नचल्ने निष्कर्ष निकाले । र, सबैजना ‘ग्लुमी गाइज’बाट अलग्गिएर आ–आफ्नो बाटोतर्फ लागे । कोही स्वदेशमै बसे, कोही बिदेसिए । सबै आ–आफ्नै जीवनमा व्यस्त छन्, अहिले । करिब सात वर्ष ‘ग्लुमी गाइज’ गुमनाम बने । ०७१ सालमा आएर कर्माचार्य संगीतमा ‘ब्याक’ भए । र, ‘ग्लुमी गाइज ब्याक अगेन’ नाममा पुराना सबै र केही नयाँ गीत युट्युबमा रिलिज गरे । ‘हाम्रो त्यस गोल्डेन समयलाई कसरी भुल्न सकिन्छ र,’ कर्माचार्य भन्छन्, ‘त्यसैले ग्लुमी गाइजलाई फेरि ब्युँतायौँ ।’
सात वर्षपछि कमब्याक हुँदा नेपाली सांगीतिक क्षेत्र अर्कै बनिसकेको थियो । ०६४ सालसम्म स्टेज सोहरूको रौनक बेग्लै थियो । सात वर्षपछि त्यस्तो चार्म घटिसकेको थियो । कमब्याक ‘ग्लुमी गाइज’मा कर्माचार्यबाहेकका सदस्यहरू नयाँ छन् । पहिलेको सातजनाको टोली अहिले तीनजनामा सीमित छन् । भोकलमा कर्माचार्य आफैँ छन् । गितारमा देवाशिष तामाङ र किबोर्डमा मनेन्द्रकुमार छन् । तीनजनाको टोलीले ब्यान्डलाई नयाँ स्वरूपमा अगाडि बढाउने प्रयास गरिरहेको छ । ‘हल्ला मच्चियो’, ‘ज्यानमारा जोवन’, ‘ओठको मुस्कान’ आदि नयाँ गीत दर्शकमाझ ल्याएका छन् ।