मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०७:४९:००
Read Time : > 1 मिनेट
खेलकुद

नेपाली महिला भलिबललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०७:४९:००

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । बंगलादेशमा सम्पन्न एभिसी सेन्टर जोन महिला भलिबल च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जित्दै महिला टोलीले ऐतिहासिक सफलता चुमेको हो । प्रतियोगितामा अपराजित रहेको नेपाली टोलीले फाइनलमा माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको हो । पाँच वर्षअघि काठमाडौंमा आयोजित दक्षिण एसियाली आमन्त्रण महिला भलिबलमा नेपाली टोलीले रजतपदक हात पारेको थियो । महिला टोलीले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा तीन कांस्यपदक जितेको अवस्था छ । 

एकपक्षीय नतिजा
नेपालले उपाधि हात पार्नेक्रममा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दियो । नेपाली टोलीले उपाधि जित्दासम्म प्रतियोगितामा एक सेट पनि गुमाएन । ढाकाको मिरपुरस्थित सहिद सुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–८ ले हात पारेको थियो । पहिलो सेटको सुरुवातमा नेपाल ४–७ ले पछि रहे पनि महिला खेलाडीले लय समाउँदै सेट आफ्नो पक्षमा ल्याए । नेपालले दोस्रो सेटमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । लगातार दुई सेट गुमाएको माल्दिभ्सले अन्तिम तथा निर्णायक सेटमा पनि गतिलो प्रदर्शन गर्न सकेन । यसैबीच, बिहीबार नै किर्गिस्तानले घरेलु टोली बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पार्‍यो । 

प्रतिभा उत्कृष्ट स्पाइकर
नेपालकी प्रतिभा माली प्रतियोगिताको उत्कृष्ट स्पाइकर घोषित भइन् । उनले सुरुवातबाटै नेपालको प्रभावशाली प्रदर्शनमा महत्वपूर्ण भूमिका खेलेकी थिइन् । अफगानिस्तानविरुद्धको पहिलो खेलमै म्यान अफ द म्याच घोषित प्रतिभाले त्यसपछिका खेलमा पनि निरन्तर उत्कृष्ट प्रदर्शन गरिन् । यसैकारण उनी उत्कृष्ट स्पाइकर बन्न सफल भइन् । त्यस्तै, किर्गिस्तानकी मदिना किर्लान उत्कृष्ट सेटर बन्दा बंगलादेशकी बिठी उत्कृष्ट ब्लकर घोषित भइन् ।

खेलकुदको खुसीको दिन 
राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले भलिबल राष्ट्रिय खेल घोषणा भएको दुई वर्षपछि पाएको उपाधिले सबैलाई खुसी दिएको बताए । उनले आफूभन्दा कमजोर टोलीसँगको प्रतिस्पर्धा भएकाले उपाधि अपेक्षित रहेको बताए । ‘पछिल्लो समय भलिबलमा आकर्षण लोभलाग्दो छ, अब एसियालीस्तरमा नेपाली महिला भलिबल बलियो भएर उदाउन धेरै समय लाग्दैन,’ प्रशिक्षक भट्टले भने, ‘सागका लागि आत्मविश्वास बढेको छ, यही अनुभव काम लाग्नेछ ।’ 

नेपालको उपाधियात्रा

समूह चरण

अफगानिस्तान 
२५–४, २५–९ र २५–६

किर्गिस्तान 
२५–१५, २५–१९, २५–२०

बंगलादेश
२५–७, २५–६ र २५–६

माल्दिभ्स 
२५–१४, २५–६ र २५–१३

फाइनल 

माल्दिभ्स 
२५–१३, २५–१२, २५–८