१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०७:४३:००
Read Time : > 2 मिनेट
अर्थ

सञ्चालनमा रहेकामध्ये ४१ विमानस्थल घाटामा, ८ नाफामा

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०७:४३:००

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाफा ५ अर्ब ७ करोड

नेपालमा सञ्चालनमा रहेका ४९ विमानस्थलमध्ये ४१ विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७५/७६ मा ती विमानस्थलबाट सरकारले २० करोड रुपैयाँभन्दा बढी घाटा व्यहोर्नुपरेको छ । कर्मचारीको पारिश्रमिकलाई पनि गणना गर्ने हो भने घाटा रकम दोब्बर हुने प्राधिकरणको अनुमान छ । विमानस्थलका कर्मचारीको पारिश्रमिक गणना नगर्ने हो भने ३२ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए । उनका अनुसार घाटामा गएकामध्ये १२ वटा विमानस्थलको तथ्यांक प्राधिकरणसँग नै छैन । 

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालमा अन्तर्राष्ट्रिय एक, आन्तरिक मुख्य चारवटा र अन्य आन्तरिक ४४ वटा विमानस्थल छन् । त्यस्तै, ७ वटा आन्तरिक विमानस्थल र २ वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छन् । एउटा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययनको क्रममा छ । 

विमानस्थलले वायुसेवा कम्पनीलाई सेवा दिएबापत विभिन्न शीर्षकमा शुल्क लिन पाउने व्यवस्था छ । त्यस्तै, विमानस्थल परिसरभित्र कारोबार गर्ने विभिन्न संस्थाबाट पनि शुल्क लिन पाउने प्रावधान छ । यद्यपि, कतिपय विमानस्थलमा लामो समयदेखि व्यावसायिक उडान नहुँदा सरकारले नोक्सानी व्यहोर्नुपरेको हो ।

२० वटा विमानस्थलबाट करिब ३ करोड घाटा
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार २२ वटा विमानस्थलबाट करिब ३ करोड घाटामा गएको छ । घाटामा गएका विमानस्थलमध्ये बलेवा अग्रपंक्तिमा छ । गत आवमा बलेवा विमानस्थल ३२ लाख ६८ हजार रुपैयाँ घाटामा सञ्चालन भएको थियो । उक्त विमानस्थलबाट सो अवधिमा ६४ हजार ८ सय ३२ आम्दानी भएको थियो । तर, सञ्चालन खर्च भने ३३ लाख ३३ हजार भएको तथ्यांकले देखाएको छ । लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल गत वर्षदेखि पुनः सञ्चालनमा आएको थियो । सो विमानस्थलमा सीता एयरलाइनस र स्थानीय नगरपालिकाबीच सम्झौता भएपछि एयरलाइन्सले सातामा तीनवटा उडान भर्दै आएको थियो । वायुसेवा कम्पनी र नगरपालिकाबीच जहाजका जतिवटा सिट खाली रहन्छन्, त्यसको क्षति नगरपालिकाले भुक्तानी गर्ने सम्झौता भएको थियो । तर, यात्रुको चाप अत्यन्त न्यून भएपछि पुनः उडान बन्द भएको छ । 

त्यस्तै, ताप्लेजुङ विमानस्थल गत आवमा ३० लाख ८८ हजार रुपैयाँ घाटामा गएको छ । उक्त विमानस्थलले गत आवमा ६ लाख रुपैयाँ आम्दानी गरेको थियो । तर, सञ्चालन खर्च भने ३६ लाख ९९ हजार भएको छ । भोजपुर विमानस्थल भने २८ लाख ७६ हजार नोक्सानीमा गएको छ । सो विमानस्थलले गत आवमा १ लाख ५४ हजार आम्दानी गरेको थियो भने सञ्चालन खर्च ३६ लाख ८९ हजार भएको थियो । 

८ वटा विमानस्थल नाफामा
नेपालमा सञ्चालित विमानस्थलमध्ये ८ वटा विमानस्थल मात्रै नाफामा गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए । उनका अनुसार विमानस्थलका कर्मचारीको पारिश्रमिक प्राधिकरणले नै भुक्तानी गर्दै आएको छ । कर्मचारीको पारिश्रमिकसहित गणना गर्ने हो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध विमानस्थल, पोखरा विमानस्थल, विराटनगर विमानस्थल, भरतपुर विमानस्थल, नेपालगन्ज विमानस्थल, चन्द्रगढी विमानस्थल र सिमिकोट विमानस्थल मात्रै नाफामा गएका छन् । पारिश्रमिकबाहेकको तथ्यांकअनुसार १७ वटा विमानस्थल नाफामा गएको देखिने पौडेलले बताए । जसमा जनकपुर विमानस्थल, भरतपुर विमानस्थल, जुम्ला विमानस्थल, जोमसोम विमानस्थल, धनगढी विमानस्थल, तेन्जिङ विमानस्थल, फाप्लु विमानस्थल र रारा विमानस्थल पनि पर्छन् । 

गत आवमा त्रिभुवन विमानस्थलले ५ अर्ब ७ करोड नाफा कमाएको छ । पोखरा विमानस्थलले ५ करोड ७९ लाख, विराटनगरले ५ करोड ५७ लाख, तेन्जिङ हिलारीले १ करोड ३६ लाख आम्दानी गरेका छन् । त्यस्तै, चन्द्रगढीले १ करोड ३८ लाख, भरतपुरले १ करोड ४ लाख नाफा गरेका छन् । अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुबाट भने विमानस्थलले १ अर्ब ९२ करोड संकलन गरेको छ । विमानस्थलले अन्तर्राष्ट्रिय उडान गर्ने प्रत्येक यात्रुबाट १ हजार शुल्क लिँदै आएको छ । यो रकम विमानस्थलको संरचना निर्माणमा खर्च गरिनेछ । 

नाफाका लागि मात्रै विमानस्थल सञ्चालन नगरिने
सरकारले नाफा पाउन मात्रै विमानस्थल सञ्चालन नगर्ने प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए । ‘विमानस्थल जनतालाई सहज यातायात सुविधा दिनका लागि मात्रै सञ्चालन गरिएको पूर्वाधार हो । यसबाट नाफा मात्रै हुन्छ भन्ने छैन । नाफा नभए पनि जनतालाई सेवा दिनका लागि विमानस्थल सञ्चालन गरिन्छ,’ उनले भने । 

नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । तर, वायुसेवा कम्पनी, विमानको संख्या र यात्रुको चापका कारण दिनप्रतिदिन हवाई ट्राफिक बढ्दै गएको छ । यसलाई व्यवस्थित गर्न सरकारले गौतम बुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माण गरिरहेको छ ।