मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०७:३६:००
Read Time : < 1 मिनेट
अर्थ

सुपर न्यादी इपिसी मोडलमा नेपालीले नै निर्माण गर्ने

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०७:३६:००

साढे ३ वर्षमा ४० मेगावाट उत्पादन गर्ने लक्ष्य 

ङादी ग्रुप पावर कम्पनीले निर्माण गर्न लागेको ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजना इपिसी (इन्जिनियरिङ–खरिद–निर्माण) मोडलमा निर्माण हुने भएको छ । आयोजना इपिसी मोडलमा निर्माण गर्ने गरी प्रवर्द्धक कम्पनीले हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन र धवलागिरि कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट जेभीलाई निर्माणको जिम्मेवारी दिएको हो । बुधबार प्रवद्र्धक कम्पनी ङादी ग्रुप पावर लिमिटेडका प्रबन्ध सञ्चालक शैलेन्द्र गुरागाईं र निर्माण ठेकेदार कम्पनीबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । 

सम्झौताअनुसार कम्पनीले साढे ३ वर्ष (४२ महिना) भित्र आयोजना निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेछ । हालसम्म नेपालका निजी निर्माण कम्पनीहरूले इपिसी मोडलमा भन्दा इन्जिनियरिङ, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल, सिभिल संरचनाजस्ता निर्माणको काम छुट्टाछुट्टै कम्पनीले गर्ने गरेका थिए । तर, यस आयोजनामा एउटै ठेकेदारले निर्माणका सबै काम पूरा गर्नुपर्नेछ । 

सम्झौताअनुसार निर्माण ठेकेदार कम्पनीले ५ अर्ब ८० करोडमा आयोजनाको सम्पूर्ण निर्माण पूरा गर्नुपर्नेछ । आयोजनाको लागत भने ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ६ वटा बैंकले ५ अर्ब २५ करोड ऋण लगानी गरेका छन् । प्रवर्द्धकले १ अर्ब ७५ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी गर्ने जनाएको छ । 

प्रवर्द्धक कम्पनीका अनुसार लमजुङको बाहुनडाँडामा आयोजनाको बाँध रहनेछ । २०–२० मेगावाट क्षमताका दुईवटा उत्पादन युनिट विद्युत्गृहमा रहनेछन् । आयोजनाबाट उत्पादन हुने विद्युत् उत्पादनगृहबाट ११ किलोमिटरमा पर्ने टारी कुना सबस्टेसनमा लगेर जोडिनेछ । आयोजनाबाट वर्षको २३ करोड ५७ लाख ६० हजार युनिट (किलोवाट आवर) विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट १ साउन ०७९ सालसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।