मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०६:४१:००
Read Time : < 1 मिनेट
प्रदेश

कर्मचारी कुट्ने प्रहरी हवल्दारलाई उन्मुक्ति

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०६:४१:००

भरतपुर अस्पतालको पोस्टमार्टम कक्षमा कार्यरत दुई कर्मचारीलाई निर्धात कुटपिट गर्ने प्रहरी हवल्दारलाई सामान्य स्पष्टीकरण सोधेर उन्मुक्ति दिइएको छ । भरतपुर अस्पतालमै खटिएका प्रहरी हवल्दार जमिर अली सेखले गत ७ कात्तिकमा ४९ वर्षीय देवानन्द राई र ६० वर्षीय पूर्ण विकलाई निर्धात कुटपिट गरेका थिए ।

हवल्दार सेखको कुटाइबाट विकको देब्रे हात भाँचिएको थियो भने राईको ढाडभरि निलडाम थिए । तर, जिल्ला प्रहरी कार्यालयले सामान्य स्पष्टीकरण लिएर हवल्दार सेखलाई उन्मुक्ति दिएको अस्पतालका कर्मचारीहरूले गुनासो गरेका छन् ।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले हवल्दार सेखसँग दुईपटकसम्म स्पष्टीकरण लिएर कारबाही गरिएको बताए । तर, कारबाही गरिएको भनिएका हवल्दार अझै भरतपुर अस्पतालमै खटिएका छन् । ‘घटनापछि त्यहाँबाट हटाएर अनुसन्धान गर्नुपर्ने थियो,’ अस्पतालका एक कर्मचारीले भने, ‘प्रहरीबाटै दण्डहीनताको संरक्षण भएको छ ।’ ६५ वर्षीया एक महिलाको पोस्टमार्टम गर्ने क्रममा कानमा लगाएको गहना चोरी गरेको आरोपमा आफूहरूमाथि लाठीले हानिएको घाइतेहरूको भनाइ छ ।  

घटनापछि घाइते राईले अस्पताल प्रशासनमा पनि निवेदन दिएका थिए । अस्पतालले शाखा अधिकृत कृष्णप्रसाद गौतम र रामहरि ढकालको संयोजकत्वमा अनुसन्धान टोली बनाएको थियो । टोलीले प्र्रतिवेदन बुझाइसकेको छ । तर, अस्पताल प्रशासनले प्रतिवेदन सार्वजनिक गरेको छैन ।