नेपालले उत्सवको रुपमा मनाउन थालेको भ्रमण वर्ष २०२० तेस्रो हो । यस अघि सन् १९९८ र सन् २०११ मा भ्रमण वर्ष मनाइएको थियो ।
पहिलो पटक भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । पहिलो भ्रमण वर्षमा पर्यटन समितिको राष्ट्रिय संयोजकका भूमिका पर्यटन व्यावसायी कर्ण शाक्यले निभाएका थिए । उनको अनुभवमा आन्तरिक पर्यटक नै अन्तर्राष्ट्रिय पर्यटनको जग हो । भ्रमण वर्ष १९९८को तयारीको विषयमा शाक्यको अनुभव :
भ्रमण वर्ष के हो भन्नेबारे नै कसैलाई थाहा नभएको समयमा त्यो काम गर्नु चुनौतीपूर्ण थियो । चितवन, गोरखा, पोखरा, लुम्बिनी, जोमसोमलगायत २६ गन्तव्यको सूची तयार पारिएको थियो । त्यतिवेला प्रचारको लागि पनि अहिलेजस्तो माध्यमहरू थिएनन् । तीन मिनेटको फिल्म बनाएर नेपाल टेलिभिजनमा प्रसारण भएको थियो ।
रेस्टुरेन्टहरूमा त्यतिबेला गजल चल्थ्यो । गजललाई विस्थापित गराएर दोहोरी गीत गाउने काम सुरु भयो । रेशम फिरिरि, पानको पातजस्ता गीतमा भ्रमण वर्षको टुक्का जोडेर प्रचार गरिन्थ्यो । होटल तथा रेस्टुरेन्टमा गुञ्जने गीतमा भ्रमण वर्षको प्रचार छुट्थेन ।
त्यतिवेला देशभरि १ सय ५० वटा जात्रा तथा महोत्सवको आयोजना पनि भएको थियो । नेपालमा त्यसैवेलादेखि ठमेल, असन, भोटाहिटीलगायत सहरमा ‘स्ट्रिट फेस्टिभल’ सुरुवात भएको हो ।
त्यसताका, भ्रमण वर्षको सचिवालय मात्र नभएर आम नेपाली जनतामा पनि भ्रमण वर्षको जिम्मेवारी बाँडफाँट गरिएको थियो । सबै नेपाली जनताले यसलाई महत्वपूर्ण उत्सव मानेका थिए । पर्यटक आफ्ना गाउँठाउँमा आउँदा हुने फाइदाबारे उनीहरूलाई प्रशस्त ज्ञान दिइएको थियो ।
दसैं तिहारमा आफ्नो घर सजाएजस्तै गरी पर्यटन वर्षको लागि पनि आम जनताले आफ्नो घरको विशेष सजावट गरेका थिए । पहिलो भ्रमण वर्ष भव्य र सफल भएको उनी मान्छन् । ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको त्यस वर्षको भ्रमण वर्षमा ४ लाख ४२ हजार पर्यटक नेपाल भित्रिएका थिए ।
सबैभन्दा महत्वपूर्ण कुरा, हरेक जनताले यसलाई अपनत्व गरेर अघि बढ्दा भ्रमण वर्ष सफल हुनेमा दुई मत छैन ।