मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २८ बिहीबार १०:२९:००
Read Time : > 4 मिनेट
सेयर बजार

नेप्सेसँगै घट्यो कारोबार रकम

Read Time : > 4 मिनेट
२०७६ कार्तिक २८ बिहीबार १०:२९:००

मंगलबार ओरालो लागेर बन्द भएको नेप्सेले बुधबार पनि सोही गतिलाई निरन्तरता दिएको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अल्पकालीन लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लागेका कारण यस दिन पनि बजार घटेको हो । सोमबार कम्पनीहरूले घोषणा गरेको उच्च लाभांशका कारण नेप्से १३ अंक बढेको थियो । लामो समयदेखि नेप्से सुस्त गतिमा रहँदा नाफा कमाउन नपाएका अल्पकालीन लगानीकर्ताले यही मौकामा नाफा सुरक्षित गर्न सेयर बिक्री गर्न थाले पनि बजार घटेको एक ब्रोकरले बताए । यद्यपि, पछिल्लो समयमा बजार घट्नुको मुख्य कारण लगानीकर्ताहरूको कमजोर मनोबल हो । नियामक निकायले लगानीकर्ताको माग सम्बोधन नगरेका कारण बजारले गति लिन नसकेको एक लगानीकर्ताले बताए । उनका अनुसार पुँजीबजार विस्तार तथा सुधारका कार्यहरूले गति लिए मात्र बजारले सकारात्मक दिशा लिनेछ । 

बजार सारांश
बुधबार नेप्से परिसूचक ४ दशमलव ८० अंक घटेर १ हजार १ सय ३५ दशमलव १६ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ३९ अंक घटेर २ सय ५० दशमलव १८ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ३१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३५ अंक घटेको छ । यस दिन १ सय ५४ कम्पनीको ४ हजार १ सय २७ पटकको कारोबारमा २७ करोड ५४ लाख २७ हजार ८ सय ८६ रुपैयाँबराबरको ९ लाख ८ हजार ३ सय ६३ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ४४ दशमलव ११ स्केलमा पुगेको छ । बजार ओरालो लागे पनि न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्रीको चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ६० रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ५४ कम्पनीमध्ये ४७ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २९ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ३२ दशमलव १२ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार १ सय ३९ दशमलव ४८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय २९ दशमलव शून्य ८ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार १ सय ४३ दशमलव ८० बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट विन्दु १ हजार १ सय ३६ दशमलव ४४ रहेको छ ।

एनएमबिको उच्च कारोबार
यस दिन कारोबार रकम र कारोबार संख्याका आधारमा एनएमबि बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ३ सय २२ पटकको कारोबारमा ३ करोड १२ लाख ९८ हजार रुपैयाँबराबरको ८२ हजार ६ सय ९७ कित्ता सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा भने यस दिन माछापुच्छ«े बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन २ करोड १२ लाख ४७ हजार रुपैयाँबराबरको ९४ हजार ४ सय ३९ कित्ता सेयर किनबेच भएको छ । म्याचिङ कारोबार भएको साल्ट ट्रेडिङ कर्पोरेसनको यस दिन २ करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको कारोबार रकम यस दिन १ करोड नाघेको छ । 

८ प्रतिशत घट्यो साल्ट ट्रेडिङको सेयरमूल्य
यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडको सेयरमूल्य सर्वाधिक ७ दशमलव ९२ प्रतिशत बढेको छ । यस दिन सो कम्पनीको सेयरमूल्य ६३ रुपैयाँ बढेर ८ सय ५८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ६ दशमलव ४६ प्रतिशत बढेको छ भने आँधीखोला लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य यस दिन ५ दशमलव ५१ प्रतिशत घटेर २ सय ५७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । १९ प्रतिशत लाभांश घोषणा गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य यस दिन ४ दशमलव ३७ प्रतिशत घटेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, स्वदेशी लघुवित्त वित्तीय संस्था, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन डिस्टिलरीको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ ।

८ समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ८ समूहको परिसूचक घटेको छ भने ३ समूहको परिसूचक बढेको छ । यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ५ दशमलव शून्य ९ प्रतिशत बढेको छ । वित्त समूहको परिसूचक यस दिन शून्य दशमलव २ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ । 

म्युचुअल फन्ड समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव २२ प्रतिशत घटेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव ८४ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ८१ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ५ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ४९ प्रतिशत, होटल समूहको शून्य दशमलव ४४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव १८ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव १२ प्रतिशत घटेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आवको मुनाफाबाट १९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कात्तिक २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० दशमलव ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित गरी ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

प्रभु बैंकको ऋणपत्र निष्कासन बन्द
प्रभु बैंक लिमिटेडले कात्तिक २१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको १० दशमलव २५ प्रतिशत प्रभु डिबेन्चर २०८६ मा आवेदन दिने म्याद कात्तिक २७ गते सकिएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो । ऋणपत्रको अवधि १० वर्षको रहेको छ । ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ प्रतिशत हुनेछ । आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात् भुक्तानी गरिनेछ । सो ऋणपत्रलाई इक्रा रेटिङ नेपालले इक्रा नेपाल एलबिबिबी रेटिङ प्रदान गरेको छ । यसले कर्जा जोखिम मध्यम रहेको संकेत गर्छ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कामना सेवाको लाभांश
कामना सेवा विकास बैंक लिमिटेडले गत आवको मुनाफाबाट ६ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कात्तिक २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कर प्रयोजनका लागि सहित गरी सो नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख रुपैयाँ रहेको छ ।

लक्ष्मी लघुवित्तको साधारणसभा
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २० गते अग्रवाल भवन, कमलपोखरीमा आठौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १५ प्रतिशत बोनस सेयर, सोको कर प्रयोजनका लागि सहित गरी ११ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्जर अथवा एक्विजिसन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्नेछ ।