मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २८ बिहीबार १०:१०:००
Read Time : < 1 मिनेट
खेलकुद

पिएसएलको ड्राफ्टमा सन्दीप : टिममा छनोट भए अहिलेसम्मकै  सर्वाधिक रकम पाउने

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २८ बिहीबार १०:१०:००

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा परेका छन् । सन्दीपको नाम पिएसएलको आगामी संस्करणका लागि प्लाटिनम क्याटेगोरीमा समावेश रहेको आयोजक पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले जनाएको छ ।

यसै महिनाको अन्त्यतिर हुने ड्राफ्टमार्फत छनोट भए सन्दीपले अहिलेसम्मकै सर्वाधिक रकम पाउनेछन् । पिसिबीले प्लाटिनम क्याटेगोरीमा पर्ने खेलाडीले कम्तीमा एक करोड ६९ लाख रुपैयाँ देखि दुई करोड ५१ लाख रुपैयाँसम्म प्राप्त गर्नेछन् । सन्दीपको विदेशी फ्रेन्चाइज लिगमा हालसम्मको सर्वाधिक अनुबन्ध रकम एक करोड ४४ लाख रहेको छ । उनी इंग्ल्यान्डमा हुने तय भएको नयाँ फर्म्याटको द हन्ड्रेड बल प्रतियोगितामा गत महिना सो रकममा अनुबन्ध भएका हुन् । सन्दीपले आफ्नो एजेन्टमार्फत पिसिएलको आगामी सिजनका लागि ड्राफ्टमा नाम पठाएका हुन् । पिसिबीले बुधबार सार्वजनिक गरेको प्लेटिनम क्याटेगोरीको विदेशी खेलाडीको सूचीमा नेपालबाट सन्दीपको मात्रै नाम समावेश छ । 

पिएसएलको आगामी सिजनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले थप पाँच नेपाली खेलाडीको नाम पनि सिफारिस गरेको छ । क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)सँगको समन्वयमा विनोद भण्डारी, करण केसी, पवन सर्राफ, ललितनारायण राजवंशी र मोहम्मद आरिफ सेखको नाम पिसिएलको खेलाडी ड्राफ्टमा समावेश गर्न सिफारिस गरेको हो । उनीहरूको नाम ड्राफ्टमा समावेश भए–नभएबारे भने पिसिबीले सार्वजनिक गरिसकेको छैन ।