मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २८ बिहीबार ०६:३९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

दलितलाई भोजमा बोलाए, पस्किएर पनि दिए, खानै लाग्दा सोहोरेर फालिदिए

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २८ बिहीबार ०६:३९:००

सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियास्थित कविलासी गाउँमा भएको मृत्युभोजमा ‘तल्लो जात’ भन्दै दलित समुदायमाथि विभेद र दुर्व्यवहार  भएको छ । कथित ‘उपल्लो जात’का व्यक्तिलाई खुवाइसकेपछि घरधनीले दलित समुदायलाई साँझपख मात्रै भोजमा बोलाएका थिए । तर, पस्किएर दिएको भोज खानै लाग्दा यादव समुदायका ‘अगुवा’ले खोसेर फालिदिएका हुन् । केही दलितमाथि कुटपिटसमेत भएको छ ।

भोजमा अपमान भएपछि अधिकारकर्मीसँग गाउँमै छलफल गर्दै कविलासीका दलित समुदाय । 

‘दिउँसो भोजमा नबोलाएर विभेद भएकै थियो । तर, भोज आयोजक परिवारले नै साँझ हाम्रा घरमा आएर खान आउन भने । छिमेकीले बोलाएपछि बालबालिकादेखि वृद्धवृद्धासम्म सयजति दलित गयौँ, आँगनमा लहरै बस्यौँ,’ दलित अगुवा रामचन्द्र पासवानले भने, ‘तर, पस्केर दिएको खाना खानै लाग्दा जातीय माइञ्जन (अगुवा)ले फालिदिए । रात नपरी आँगनमा बसेर खाने भन्दै गालीगलौज गर्दै हातपातसमेत गरे । हामी नखाई फर्कियौँ ।’ स्थानीय पशुपति यादव, उपेन्द्र यादव, रामचन्द्र यादव र भुल्ला भनिने रामप्रीत यादवसहितको समूहले अपमान गरेको उनले बताए । 

जातीय अगुवाहरूले दलितमाथि अपमान र दुव्र्यवहार गरेको भोज आयोजक परिवारका सदस्य उमेश यादवले स्विकारे । घटनाले आफूहरूलाई दुःखी बनाएको उनले बताए । ‘गाउँका अन्य समुदायले भोज खाएपछि मात्र दलितहरूलाई बोलाउनू भन्ने माइञ्जनको आदेशबमोजिम साँझ ७ बजेतिर बोलाएर ल्याएका हौँ,’ उनले भने, ‘उहाँहरू पस्किएको खानेकुरा खान सुरु गर्दै हुनुहुन्थ्यो, त्यहीवेला मदिरा सेवन गरेर आएका चारजनाले अस्वाभाविक व्यवहार गरे । उनीहरूले खाना मात्रै खोसेर फालेनन्, चन्दर पासवान, छेदी मोचीसहित तीन–चारजनालाई हातपातसमेत गरे ।’ 

घटना २३ कात्तिकको हो । १० कात्तिकमा स्थानीय ७४ वर्षीय सूर्यनाथ यादवको मृत्युपछि १३औँ दिनमा मृत्युभोज आयोजना भएको थियो । पीडितहरू बुधबार न्याय माग्दै जिल्ला प्रशासनको ढोकामा पुगेपछि घटना सार्वजनिक भएको हो । उनीहरूले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसमक्ष घटना सुनाएका थिए । प्रजिअ अधिकारीकै सुझाबअनुसार कानुनी कारबाहीका लागि बुधबार नै दलितहरू जिल्ला प्रहरी कार्यालय पुगे । तर, ढिला भएकाले बिहीबार मात्रै उजुरी लिने सिरहा प्रहरीका डिएसपी अपिलराज बोहराले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहामा पछिल्ला चार वर्षमा जातीय भेदभाव र छुवाछुतसम्बन्धी ६ मुद्दा मात्र दर्ता भएका छन् । दलितमाथि भएका छुवाछुतका घटना गाउँमै दबाइने गरिएको दलित अभियन्ता बताउँछन् । कविलासीमा दलितमाथि दुर्व्यवहार  भएको खबर पाएपछि मंगलबार प्रदेश २ की सांसद सुनिता राम, दलित अभियन्ता शिवकुमार महरालगायत टोली कविलासी गाउँ पुगेको थियो । आफूहरूमाथि विभेद र दुर्व्यवहार  भएको भन्दै कानुनी उपचारमा जान सुझाएपछि पीडितहरू प्रशासनसम्म पुगेका हुन् । 

सिडिओ गोपालकुमार अधिकारी भन्छन्–जातीय अपमान गर्नेमाथि कानुनी कारबाही हुन्छ


भोज खान जाँदा दुर्व्यवहार  र अपमन भएको घटना लिएर पीडितहरू मकहाँ आउनुभएको थियो । मैले नै प्रहरीमा गएर उजुरी दिन भनेको छु । भोजमा बोलाएर जुनसुकै पक्षले पनि जातीय आधारमा अपमान गर्न पाउँदैन । त्यस्तो पुष्टि भए दाषीलाई कानुनबमोजिम कारबाही हुन्छ ।

दलित अगुवा रामचन्द्र पासवान भन्छन्—रात नपरी आँगनमा बसेर खाने भन्दै पात खोसेर फालिदिए, गालीगलौज गर्दै हातपात गरे 


दिउँसो भोजमा नबोलाएर हामीमाथि विभेद गरेकै थिए । तर, साँझ पख भोज आयोजक परिवारका सदस्य हाम्रो घरमै आएर बोलाए । छिमेकीले बोलाएपछि बालबालिकादेखि वृद्धवृद्धासम्म सय जनाजति गयौँ, आँगनमा लहरै बस्यौँ । पातमा पस्केर पनि दिए तर खानै लाग्दा जातीय माइञ्जन (अगुवा)ले रात नपरी आँगनमा बसेर खाने भन्दै खाना फालिदिए । गालीगलौज गर्दै हातपातसमेत गरे । त्यसपछि हामी नखाई फर्कियौँ ।

भोज गर्ने परिवारका उमेश यादव भन्छन्—दलितहरूमाथि भएको अभद्र व्यवहारले हामीलाई नै लज्जित बनाएको छ, केहीले गल्ती गरे 
गाउँका अन्य समुदायले भोज खाएपछि मात्र दलितहरूलाई बोलाउनू भन्ने माइञ्जनको आदेश थियो । त्यसै अनुसार साँझ ७ बजेतिर बोलाएर ल्याएका हौँ । आँगनमा लहरै बसेका उनीहरू पस्किएको खानेकुरा खान सुरु गर्दै थिए । त्यति नै वेला मदिरा सेवन गरेर आएका चारजनाको समूहले अस्वाभाविक व्यवहार देखायो । उनीहरूले दलितको खाना मात्रै खोसेर फालेनन्, चन्दर पासवान, छेदी मोचीसहित तीन–चारजनालाई हातपातसमेत गरे । यो घटनाले हामीलाई लज्जित तुल्याएको छ ।