मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २७ बुधबार ११:०५:००
Read Time : > 1 मिनेट
प्रदेश

६० मिटरको दोर्दीखोला पुल बन्न आठ वर्ष

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ११:०५:००

निर्माण सुरु भएको आठ वर्षपछि लमजुङको दोर्दीखोलामा पुल बनेको छ । दुई वर्षमा निर्माण सक्ने सम्झौतासहित बेँसीसहर–११, चितीको चित्रे र दोर्दी गाउँपालिका–४ नौथरको शेरा जोड्ने यो पक्की पुल आठ वर्षपछि निर्माण सम्पन्न भएको हो ।

डिभिजन सडक कार्यालय दमौलीका अनुसार चैत ०६८ मा पुलको शिलान्यास भएको थियो । सम्झौताअनुसार ०७० असार मसान्तसम्ममा निर्माण पूरा गर्नेुपर्ने थियो । पुल निर्माणको जिम्मा हेटौँडाको सपना निर्माण सेवा र धादिङको जयबाबा निर्माण सेवाले लिएका थिए ।

सम्झौतापछि लामो समयसम्म निर्माण व्यवसायीले काम नगरेको स्थानीय मोहनप्रसाद घिमिरेको  भनाइ छ । उनले भने, ‘निर्माण सुरु गरेपछि पनि निकै ढिला गरी सकिएको छ । पुल नबन्दा सिंगो गाउँपालिका समस्यामा थियो ।’ पुल बनेसँगै गाडी गुड्न र सामान ओसार–पसार गर्न सहज भएको उनको भनाइ छ । काम नगर्नेलाई सरकारले कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएपछि गत जेठदेखि निर्माण व्यवसायीले पुल निर्माणमा गति दिएको उनको भनाइ छ । 

 सरकारको चेतावनीपछि बन्यो पुल
कारबाहीमा परिने डरले निर्माण व्यवसायीले हतारहतार पुल निर्माण सम्पन्न गरेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । उनले भने, ‘लगातारको ताकेतापछि बल्ल पुल निर्माण सम्पन्न भएको छ । पुल बनेसँगै दोर्दीबासी खुसी बनेका छन् । यो पुलबाट दोर्दी गाउँपालिकाका नौथर, ढोडेनी, पाचोक, श्रीमञ्ज्याङ, फलेनीलगायतका बासिन्दालाई खाद्यन्न ढुवानी र गाउँमा उत्पादन भएको कृषि उपज निकासी गर्न सहज भएको छ ।

६० मिटर लम्बाइ र ६ मिटर चौडाइको यो पुल २ करोड ८० लाख रुपैयाँमा निर्माण सम्झौता भएको डिभिजन सडक दमौलीका इन्जिनियर ठाकुर भण्डारीले बताए । भौतिक निर्माणलाई गति दिन गृहमन्त्रीको योजना अनुरुप निर्माण कम्पनी र सडक कार्यालयलाई पटक–पटक ताकेता गरेको भण्डारीको भनाइ छ ।

उनले भने, ‘सबैको चासो र चिन्ताले मात्र पुल निर्माण पूरा भयो ।’ सपना र जयबाबा जेभीले संयुक्त रूपमा निर्माण गर्दै आएको यो पुल निर्माणको जिम्मा पछिल्लोसमय जयबाबाले लिएको थियो  । जयबाबाका साइट इन्चार्ज धनबहादुर बमले भूकम्प, नाकाबन्दी, बजेट अभाव, निर्माण सामग्री अभाव, पुल निर्माणस्थलको चट्टान र बिलिङ समस्याले ढिलाइ भएको दाबी गरे ।