Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ कार्तिक २७ बुधबार १०:५७:००
Read Time : > 1 मिनेट
प्रदेश

उग्रतारा मेला सम्पन्न

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार १०:५७:००

सुदूरपश्चिम प्रदेशमै प्रसिद्ध उग्रतारा मेला (देहिजाँत) मंगलबार सम्पन्न भएको छ  । यस क्षेत्रमा देहिजाँत भनेर चिनिने यो मेला प्रशिद्ध शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा भव्यरूपमा लाग्ने गर्छ ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात ‘रतेडी’ र दोस्रो दिन ‘दिउँसेडी’ मेला लाग्ने प्रचलन छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउँसेडी’ देहिजाँत भनिन्छ । राती र दिउँसो गरी दुई दिन हुने मेलामा यस वर्ष सोमबार बेलुकादेखि भएको थियो भने  मंगलबार बेलुकी सम्पन्न भएको हो  । 

अमरगढी–६ दुमडा, छचोडा, अमरगढी ८ खनमडा र अमरगढी–५ जिलोडामा भ्राण रहेको उग्रतारा मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलाका लागि बिहान चार बजे ‘देउँरो’ आई दिउँसेडी मेला सुरु हुने गर्छ ।

बिहान चार बजे मन्दिरमा चारै गाउँका देउरा पुगेपछि भगवती माताको पूजा आराधना सुरु हुन्छ । पूजाआजापछि प्रसादका रूपमा तिलक ग्रहण गर्ने गरिन्छ । बिहानको पूजाआजापछि दिउँसो दाइन दमाह, रुइसिंगका साथ मन्दिर क्षेत्रको मैदानमा गाँज नचाइन्छ । बेलुकी चारवटै गाउँबाट आएका देउरा गाउँमै पुर्‍याएपछि जाँत सम्पन्न हुने उग्रतारा क्षेत्र विकास समतिका अध्यक्ष तेजबहादुर साँकीले  बताए ।

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा भारतबाट समेत श्रद्धालु आएका साँकीले बताए । ‘विभिन्न जिल्ला र भारतबाट आएका भक्तजनको डडेल्धुरा सदरमुकाममा घुइँचो नै लागेको थियो,’ साँकीले भने, ‘यो मेलामा जिल्लाका विभिन्न गाउँका स्थानीय मात्र होइन तराईलगायत अन्य क्षेत्रबाट र कामको सिलसिलामा बाहिर गएकाहरू पनि फर्कने गर्छन् ।’  

डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा रहेको  उग्रतारा भगवतीको मन्दिरमा हजारौँ दर्शनार्थीले पूजा–आराधना गरेका थिए ।  

 देहिजाँतमा स्थानीयहरूले भगवतीको गाथा गाएर देउडा खेल्ने चलन छ । मेलाको अवसरमा यहाँ दर्शन गरे वर्ष दिनसम्म भगवतीले रक्षा गर्ने र परिवारमा सुख, समृद्धि छाउने जनविश्वास रही आएको पुजारी लोकराज भट्टले बताए । मेलाम करिब एक लाखभन्दा बढीको सहभागिता भएको उग्रतारा क्षेत्र विकास समिति जनाएको छ ।