बाक्सिला बजारको हाटस्थलको स्तरोन्नति
जिल्लाको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारको हाट लाग्ने स्थलको स्तरोन्नति गरिएको छ । साढे चार दशकदेखि चित्राको छाप्रोमा सञ्चालन हुँदै आएको बाक्सिला बजारस्थित हाटस्थलको होटेल तथा पसल व्यवस्थित गर्न प्रदेश सरकारको एक करोड लगानीमा स्तरोन्नति गरिएको हो ।
हरेक साता बुधबार हटिया लाग्दै आएको बाक्सिला बजारको हाटस्थलमा १७ वटा फलामे ट्रस, वधशाला, खानेपानीको धारा, महिला तथा पुरुषका लागि छुट्टाछुटै चारवटा शौचालय, फोहोर व्यवस्थापन केन्द्र, ढल निकास, प्रतीक्षालयलगायत निर्माण गरिएका छन् । हाटस्थलको स्तरोन्नति गरिएपछि बाक्सिला बजारको मुहार नै फेरिएको छ भने हिउँदको समयमा हुन सक्ने आगलागीको जोखिमसमेत कम भएको छ । हाटस्थल स्तरोन्नति गर्न ८६ लाख नौ हजार दुई सय ६६ रुपैयाँ खर्च भएको उपभोक्ता समितिका अध्यक्ष शिवकुमार राईले बताए ।
केपिलासगढी गाउँपालिका–४ मा पर्ने बाक्सिला बजारमा विशेषगरी अर्गानिक कृषि उपज खरिद तथा बिक्री हुने गरेको छ । बाक्सिला बजार उत्तरी क्षेत्रमा बसोवास गर्ने स्थानीयको प्रमुख व्यापारिक केन्द्र एवं किरात ऐतिहासिक स्थलसमेत भएकाले प्रदेश सरकारको सहयोगमा त्यसलाई व्यवस्थित गर्दै आधुनिकीकरण गर्ने काम सुरु गरिएको गाउँपालिकाप्रमुख राईले बताए । करिब आठ रोपनी क्षेत्रफलमा रहेको हाटस्थल स्तरोन्नति गरिएसँग धुपी, कपूर, शिरीष, कल्की र करवीर जातका दुई सय ५० वटा बिरुवासमेत रोपिएका छन् ।