१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ कार्तिक २७ बुधबार ०९:३५:००
Read Time : > 1 मिनेट
विश्व

अमेरिकालाई टक्कर दिने बोलिभियाका निवर्तमान राष्ट्रपतिले लिए मेक्सिकोमा शरण

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०९:३५:००

बोलिभियाका वामपन्थी नेता तथा राष्ट्रपतिबाट राजीनामा घोषणा गरेका इभो मोरालेस मेक्सिकोमा शरण लिने भएका छन् । आफ्नो कार्यकालभर अमेरिकालाई टक्कर दिएका शक्तिशाली नेताले मेक्सिकोमा राजनीतिक शरण लिन लागेका हुन् । तीन साताअघि सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीले आन्दोलन चर्काएपछि दुई दिनअघि उनले राजीनामा दिएका थिए ।

राजनीतिक शरणार्थी
मेक्सिकोले बोलिभियाको राष्ट्रपतिबाट राजीनामा घोषणा गरेका मोरालेसलाई राजनीतिक शरणार्थीका रूपमा स्वीकार गर्ने जनाएको छ । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिएको जानाकारी दिए । उनले भने, ‘मेक्सिकोको विदेश मन्त्रालयले बोलिभियाली नेतालाई शरणार्थीका रूपमा स्वीकार गर्न तयार छ । मानवीयता र इमानदारी प्रदर्शन गर्दै बोलिभियाली नेतालाई शरण दिने सरकारले गरेको हो ।’ मोरालेसलाई शरण दिने विषय बोलिभियाली विदेश मन्त्रालय, मेक्सिकोको सिनेट र राष्ट्रसंघलाई औपचारिक जानकारी गराइएको विदेशमन्त्री एब्राडले बताए ।

कम्युनिस्ट राष्ट्रहरूको सहानुभूति
मेक्सिको, भेनेजुएला र क्युबासहितका देशले बोलिभियामा सेनाले ’कू’ गरेको आरोप लगाउँदै निर्वतमान राष्ट्रपति मोरालेसप्रति समर्थन र सहानुभूति जनाएका छन् । मोरालेसको सन् २०२० को जनवरीमा कार्यकाल सकिने भए पनि बोलिभियाली सेनाले राजीनामा दिन दबाब दिएपछि उनले राजीनामा दिएको ती राष्ट्रहरूले जनाएका छन् । उनीमाथि कू भएको ती राष्ट्रहरूको दाबी छ ।

कोकाको पात बेच्ने किसान
पश्चिम बोलिभियास्थित ओयुरोको एउटा ग्रामीण आदिवासी परिवारमा मोरालेस जन्मिएका थिए । उनी कोका उत्पादकको युनियनको नेता हुँदै राजनीतिमा उदाएका थिए । कोकेनको कच्चा पदार्थ कोका हजारौँ वर्षदेखि एन्डिज क्षेत्रमा धार्मिक तथा हाई अल्टिच्युड सिकनेसको उपचार र र मन्द नशा दिने पदार्थका रूपमा प्रयोग गरिँदै आएको छ ।

सन् २००५ पहिलोपटक राष्ट्रपति
वर्षौंदेखि अन्याय र उत्पीडनको जाँतोमा पिल्सिएका बोलिभियाका जनजातिहरूको उत्थान गर्ने प्रतिबद्धतासहित मोरालेस सन् २००२ को राष्ट्रपति निर्वाचनमा होमिए । तर, उनी पराजित भए । दोस्रोपटक सन् २००५ को डिसेम्बरमा उनी पुनः राष्ट्रपति निर्वाचन प्रतिस्पर्धामा आए । यसपटक भने उनलाई राम्रो समर्थन भयो र विजयी पनि बने । मोरालेसले कोकेनको उत्पादन र तस्करी रोक्न पर्याप्त कदम नचालेको अमेरिकी अधिकारीहरूले आरोप लगाउँदै आएका छन् ।

गरिबी घट्यो, घटेन भ्रष्टाचार
मोरालेस सत्तामा आएपछि बोलिभियाको गरिबी घटेको थियो । बोलिभियामा सन् २००६ मा ३८ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेकोमा सन् २०१८ मा यो तथ्यांक १७ प्रतिशतले झरेको थियो । तर, पछिल्ला वर्षमा बोलिभिया गरिबीको चपेटामा परेको आलोचकले बताउँदै आएका छन् । मोरालेसले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र दण्डहीनताले प्रश्रय पाएको बताउँदै आएका थिए । 

विभेद अन्त्य गर्न पहल
वर्षौंदेखिको विभेद र अत्याचार अन्त्य गर्ने प्रतिज्ञासहित सत्तामा पुगेका उनले नयाँ संविधान ल्याए, जसले बोलिभियामा रहेका दर्जनौँ जातीय समूहलाई सम्बोधन गर्न देशलाई धर्मनिरपेक्ष बनायो ।

उनले कोका किसानको अधिकारको पक्षमा उभिँदै कोकाखेतीलाई वैधानिकता दिए । अमेरिकी दबाबका बाबजुद उनले कोका कृषकको अधिकार सुनिश्चित गर्न र कोकाखेतीलाई कानुनी मान्यता दिए । आफूले कोकेनको उत्पादनमा कटौती गरेको र धार्मिक प्रयोजनका लागि सानो परिमाणमा कोकाखेती गर्न दिएको उनले बताएका थिए ।

अन्तर्राष्ट्रिय जगत्को प्रतिक्रिया
मोरालेसको राजीनामा र मेक्सिकोमा लिएको राजनीतिक शरणप्रति विश्व नेताहरूले विभिन्न प्रतिक्रिया दिएका छन् । उनको पतन बोलिभियाली जनताका लागि महत्वपूर्ण घटना भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिप्पणी गरेका छन् । विपक्षीको हिंसात्मक प्रदर्शनले चौथोपटक राष्ट्रपतिमा निर्वाचित मोरालेसलाई आफ्नो जिम्मेवारीबाट विमुख बनाइएको रसियाको विदेश मन्त्रालयले जनाएको छ । क्युबाका राष्ट्रपति मिगेल डियाज क्याननेलले दक्षिणपन्थीको हिंस्रक र ‘कू’ले मोरालेसलाई पदच्युत गरेको बताए । निकारागुवा र भेनेजुएलाले पनि मेरालेसप्रति ऐक्यबद्धता जनाएका छन् । त्यस्तै, स्पेनले पनि बोलिभियाको सेनाको भूमिकाप्रति चासो देखाउँदै उसको हस्तक्षेप अस्वीकार्य भएको प्रतिक्रिया दिएको छ ।