काठमाडौंको अस्तित्व र स्याटलाइट सहर
भूमिगत पानीको दोहनलाई रोक्दै त्यस्ता स्रोतलाई संरक्षण नगर्ने हो भने निकट भविष्यमै काठमाडौंले अकल्पनीय जटिलता भोग्नुपर्ने निश्चित छ
स्याटलाइट सहरको अवधारणा
काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको रिङरोड बाहिर, खासगरी काँठक्षेत्रआसपास चारवटा स्याटलाइट सहर बनाउनका लागि विगत केही वर्षदेखि अध्ययन र तयारी गरिरहेको देखिन्छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि अहिले मुख्य प्राथमिकताको सूचीमा स्याटलाइट सहर विकास गर्ने पर्छ । उक्त स्याटलाइट सहर कस्तो र कत्रो बन्ने त्यसको विस्तृत विवरण बाहिर आइसकेको छैन । यद्यपि, चारमध्ये तीन स्याटलाइट सहरको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र बाँकी एक सहरको विस्तृत परियोजना प्रतिवेदन केही समयभित्र तयार हुने बताइएको छ । सञ्चारमाध्यममा आएअनुसार इशान (पूर्वोत्तर), आग्नेय (दक्षिणपूर्व), नैऋत्य (दक्षिण–पश्चिम) र उत्तर गरी चार आधुनिक स्याटलाइट सहरको अवधारणा अघि सारिएको छ ।
चारमध्ये सबैभन्दा ठूलो सहरका रूपमा एक लाख रोपनी क्षेत्रफलमा फैलिने इशानलाई विकास गर्ने लक्ष्य छ । इशान सहर पूर्वमा भक्तपुरतिर नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, क्रिकेट मैदान, मूलपानी, गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ भने उत्तरमा साँखु बजार र साँखु जाने मूल सडकसम्म र दक्षिणमा भक्तपुरको पुरानो बाटो, सैनिक प्रतिष्ठानलाई समावेश गरिनेछ । त्यस्तै, दोस्रो स्याटलाइट सहर (आग्नेय) करिब १० हजार रोपनीको हुनेछ ।
यो सहरले पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिरअगाडिको वनक्षेत्रसम्म र पश्चिममा खहरेखोला, बालकोट, बिरुवा सडक, पानीट्यांकी, बालकोट, अमरनगर, थिमी हुँदै अरनिको राजमार्गसम्म फैलिनेछ । उत्तरमा अरनिको राजमार्गसम्म फैलिनेछ भने दक्षिणमा सिलामखाल, रानीकोट जंगलछेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार, बिरुवा हुँदै खहरेसम्म पुग्नेछ ।
तेस्रो, नैऋत्य सहर पूर्वतर्फ खोकना बुङमती भएर छम्पी जाने बाटो, पश्चिम र दक्षिणतर्फ बागमती नदीसम्म र उत्तरमा सैँबुसम्म फैलिने र जसको क्षेत्रफल करिब १० हजार रोपनी हुने भनिएको छ । १० हजार रोपनीमा फैलिने उत्तर सहर उत्तरमा सपनतीर्थ, मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म र दक्षिणमा ग्रिनल्यान्ड चोकदेखि महादेवखोला काभ्रेस्थली मूल सडकसम्म पुग्ने गरी प्रस्तावित गरिएको छ । पूर्वमा सामाखुसी, टोखा सडक हुँदै बाइपाससम्म र पश्चिमतर्फ काभ्रेस्थलीदेखि बाइपास आउने मूल सडकसम्म रहनेछ ।
विभिन्न अध्ययन अनुसन्धानले जुन–जुन स्थानबाट काठमाडौं उपत्यकाको भूमिगत पानी पुनर्भरण भइरहेको छ वा पुनर्भरणका लागि प्राविधिक हिसाबले राम्रो भनिएको छ, त्यही स्थानमा काठमाडौं उपत्यका विकास प्राधिकरणले तीनवटा स्याटलाइट सहर निर्माण गर्दै छ ।
देश संघीयतामा गइसकेको र काठमाडौंमा जनसंख्याको उच्च चाप भइसकेको अवस्थामा काठमाडौं उपत्यकाभित्रै फेरि चारवटा सहर किन बनाउन प¥यो त ? यसबारे पनि बहस होला । ती चारवटा सहर निर्माण गर्ने खर्चले काठमाडौंबाहिर सहर निर्माण गर्न सकिन्न ? वा काठमाडौंभित्रै भएका बस्तीलाई अझ व्यवस्थित गर्दै र काठमाडौंकेन्द्रित सेवा–सुविधा विकेन्द्रीकरण गरेर काठमाडौंमा हुने बसाइँ–सराइलाई न्यून गर्नतर्फ किन नलाग्ने ? के उपत्यकामा अहिले भएका सहर र बस्ती व्यवस्थित छन् त ?
वर्तमानको सहरलाई लथालिंग छाडेर नयाँ सहर बनाउनैपर्ने के कारण हो ? यस्ता धेरै आर्थिक, सामाजिक र प्राविधिक पक्षमा बहस जरुरी छ । अहिलेको परिवेशमा काठमाडौं उपत्यकामा नयाँ चारवटा सहर आवश्यकताले भन्दा पनि काठमाडौं उपत्यका विकास प्राधिकरणले आफ्नो काम देखाउने अभिलाषाले ल्याएको देखिन्छ ।
भूमिगत पानीको अनियन्त्रित दोहन तथा भूमिगत पानी पुनर्भरणको मात्रा घट्दै गएकाले जमिनमुनिको पानीको सतह दिनानुदिन गहिरिँदै गएको छ, जसको वातावरणीय असर र जमिन भासिन सक्ने सम्भावना त छँदै छ अन्य जोखिम पनि निम्तिने खतरा बढेको छ
तर, यी स्याटलाइट सहरको अध्ययन गरिँदै गर्दा यी सहरले काठमाडौंको वातावरण, भूमिगत पानीसहितको जलचक्रको पूरै बेवास्ता गरिएको देखिन्छ । काठमाडौं उपत्यकालाई अझ व्यवस्थित र चलायमान बनाउन ती स्याटलाइट सहर प्रस्तावित गरिएका होलान्, तर ती सहर निर्माण भए समग्र उपत्यकामा कस्तो असर पर्ला ? कस्तो स्थानमा सहर बनाइँदै छ ?
सुनको अन्डा दिने कुखुरा काटिने कथाजस्तो त हुने छैन ? काठमाडौंको भूमिगत पानी कहाँ–कहाँबाट भरण हुन्छ र त्यस विषयका विभिन्न अध्ययन प्रतिवेदनलाई ध्यान नदिएको देखिन्छ । अहिले निर्माण गर्ने भनिएका चार सहरमध्ये विशेष गरी तीनवटा सहरले काठमाडौं उपत्यकाको अस्तित्व नै संकटमा पार्न सक्छ भन्नेतर्फ त्यति ध्यान दिएको पाइएको छैन । जसबारे यहाँ चर्चा गरिनेछ ।
सुक्दै गरेका पानीका स्रोत
काठमाडौं उपत्यकाको हकमा बढ्दो अनियन्त्रित सहरीकरण, भूकम्पीय तथा आगलागीको जोखिम, नदीनालाको अतिक्रमण तथा फोहोर व्यवस्थापन र अन्य विषयमा चिन्ता र चासो भइरहेको छ । भूमिगत पानीको अनियन्त्रित दोहन तथा भूमिगत पानी पुनर्भरणको मात्रा घट्दै गएकाले जमिनमुनिको पानीको सतह दिनानुदिन गहिरिँदै गएको छ, जसको वातावरणीय असर र जमिन भासिन सक्ने सम्भावना त छँदै छ अन्य जोखिम पनि निम्तिने खतरा बढेको छ ।
मल्लकालमा काठमाडौं उपत्यकाको खानेपानी भूमिगत स्रोतमा निर्भर थियो । त्यतिवेला ढुंगेधारा र इनारमा जमिनमुनिको स्रोतबाट अटुट पानी आउँथ्यो । अहिले परिस्थिति फेरिएको छ । हालसम्म काठमाडौंका झन्डै तीन सय ९० ढुंगेधारामध्ये एक सय ६० ढुंगेधारा सुकिसकेका छन् । परम्परादेखिका इनार हराइसकेका छन् । जमिनमुनिको पानी तानिरहने, तर पक्की संरचनाले वर्षाको पानी जमिनमुनि छिर्न नपाउने भएपछि काठमाडौंको भूमिगत पानीको सतह दिनानुदिन घट्दै गइरहेको छ ।
सन् १९५० मा काठमाडौं उपत्यकाको करिब १ प्रतिशत क्षेत्रफलमा मात्र भवन तथा अन्य पूर्वाधर रहेकोमा यो बढेर सन् २०१८ मा करिब २५ प्रतिशत पुगेको छ । काठमाडौं महानगरपालिकाभित्रको मात्र क्षेत्र हेर्ने हो भने करिब ८० प्रतिशत जमिन भवन तथा अन्य पूर्वाधारले ढाकेको छ । जसबाट उपत्यकामा बर्सेनि करिब चार करोड लिटर पानी मात्रै रिचार्ज हुन सक्ने आकलन गरिएको छ ।
केही वर्षअघिसम्म उपत्यकाका ढुंगेधारा र इनारमा अटुट पानी आउनुको कारण वर्षात्को पानी जमिनमुनि गएर रिचार्ज हुनु नै हो । ठुल्ठूला फाँट तथा खुला स्थानबाट पानी जमिनमुनि छिरेर भूमिगत पानीको सतह घट्न दिँदैनथ्यो । उपत्यकाका तिनै जिल्लाका राजकुलाले सिँचाइ र जमिन रिचार्जको काम गर्थे । पक्की संरचना र पिच धेरै भएर काठमाडौं उपत्यकामा वर्षात् को पानी छिर्ने खुला ठाउँ निकै कम छ । यसैकारण पर्याप्त पानी जमिनमुनि पुग्नुको सट्टा नाली, ढल हुँदै खोलामा बगिरहेको छ भने विनारिचार्ज दैनिक करोडौँ लिटर पानी जमिनमुनिबाट निकाल्दा माटोको संरचना बिथोलिएको छ ।
काठमाडौंको भूमिगत पानी नेपालमा धेरै अनुसन्धान गरिएको क्षेत्र र विषय हो । नेपाल, जापान, थाइल्यान्डलगायत अन्य देशका विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीले धेरै अनुसन्धान गरेर विश्वका उत्कृष्ट जर्नलमा यसबारे आलेख प्रकाशित गरिसकेका छन् । एक अध्ययनअनुसार ३० वर्षअघि आठदेखि १० मिटर खन्दा पानीको स्रोत भेटिन्थ्यो, तर अहिले ४०–५० मिटरसम्म खन्दासमेत पानीको स्रोत पाउन कठिन छ । दीपेन्द्र गौतम र रघु प्रजापतीले गरेको अध्ययनले पनि काठमाडौं उपत्यकाको भूमिगत पानीको सतह डरलाग्दो पाराले घटेको देखाएको छ ।
काठमाडौंका अधिकांश इनारमा गरिएको अध्ययनले सन् २००० देखि सन् २००५ को अवधिमा मात्रै भूमिगत पानी करिब १० मिटरसम्म गहिरिएको देखिएको छ । काठमाडौं उपत्यकाको भूमिगत पानीको अत्यधिक दोहन र पानी पुनर्भरण हुने क्षेत्र विनाशका कारण उपत्यकाको जमिनमुनि करिब दुई सय २७ मिलियन घन मिटर पानी पुनर्भरण हुन बाँकी रहेको युरोपियन वाटर जर्नलमा विष्णुप्रसाद पाण्डेको समूहले सन् २०१२ मा प्रकाशित गरेको आलेखमा उल्लेख छ । सामान्य भाषामा भन्नुपर्दा भूमिगत पानीको सतहभन्दा माथि करिब २२६.५ मिलियन घन मिटर खाली ठाउँ रहेको एक अध्यनले देखाएको छ ।
यो मात्रा अहिले अझै धेरै बढेको निश्चितप्रायः छ । पाण्डेको उक्त लेखमा सन् १९८० देखि सन् २००० सम्म काठमाडौं उपत्यकामा भूमिगत पानीको अधिक दोहन र न्यून पुनभरणका कारण भूमिगत पानीको सतह १३ मिटरदेखि ३३ मिटरसम्म गहिरिएको उल्लेख गरिएको छ । त्यस्तै, सन् २००० देखि २००८ सम्ममा भूमिगत पानीको सतह अझ थप ७.५ मिटरसम्म गहिरिएको भनिएको छ । यसरी जमिनमुनि पानी रिचार्जको तुलनामा जमिनमुनिबाट निकै धेरै पानी तानिरहेकाले भूमिगत पानीको प्राकृतिक सन्तुलन बिग्रिएको हो ।
इको लजिकल अस्ट्रेलियाका अनुसन्धानकर्ता रिचार्ड क्रेसवेलको समूहले सन् २००५ मा गरेको अध्ययनले काठमाडौं उपत्यका भूमिगत पानीको वार्षिक दोहन भूमिगत पानीको वार्षिक पुनर्भरणभन्दा २० गुणा बढी रहेको देखाएको थियो । यो अनुपात अहिले अझ धेरै भएको छ । भूमिगत पानीको दोहन (प्रतिवर्ष करिब २२ मिलियन घन मिटर) र पुनर्भरण सन् २००१ कै अवस्थामा रहने हो भने काठमाडौं उपत्यकाको भूमिगत पानी एक सय वर्षभन्दा कम समयमै रित्तिने पाण्डेको अनुसन्धानले देखाएको छ ।
उपत्यकामा भूमिगत पानीको परिमाण करिब १५ अर्ब घनमिटर रहेको देखाएको छ । यसमध्ये करिब ३ अर्ब घनमिटर पानी मात्र उपयोग गर्न सकिने देखिन्छ । एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीका सहप्राध्यापक संगम श्रेष्ठले प्रकाशित गरेको अनुसन्धानअनुसार सन् २०११ मै काठमाडौंको भूमिगत पानीको दोहन प्रतिवर्ष तीन करोड घनमिटर पुगिसकेको थियो । यो मात्रा अझ बढ्दै छ । अबको केही दशकमा काठमाडौंको भूमिगत पानी रित्तिने सम्भावना देखिएको छ भने काठमाडौंमा भूमिगत पानीका कारण उपत्यकाको अस्तित्व नै संकटमा पर्न सक्ने सम्भावना छ ।
सन् १९९० तिर जापानी सहयोगी संस्था जाइकाले गरेको एक अध्ययनले काठमाडौं उपत्यकामा दैनिक डेढ करोड लिटर मात्रै भूमिगत पानी निकाल्न सकिने र त्योभन्दा बढी निकालिए भूमिगत पानीको सतह घट्न गई प्राकृतिक सन्तुलन बिग्रिन सक्ने देखाएको थियो । काठमाडौं उपत्यकाको प्रमुख सहरी क्षेत्रभन्दा बहिर रहेको र भूमिगत पानी पुनर्भरणका लागि राम्रो मानिएको मूलपानीमा समेत सन् २००१ र २०१३ मा खनिएको डिपवेलले पानीको सतह घटेको पाइएको थियो । सन् २००१ मा जमिनबाट ३३.३ मिटरमै पानी आउँथ्यो, जबकि सन् २०१३ मा करिब ३६ मिटरमा मात्रै पानीको सतह भेटियो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले करिब ८० वटा डिप बोरिङमार्फत मात्र दैनिक करिब सात करोड लिटर पानी निकालिरहेको छ । त्योबाहेक ठूला–ठूला होटेल, हाउजिङ, स्कुल, व्यापारिक संस्था तथा सम्पन्न घरानाले विनारोकतोक अवैधानिक रूपमा ठूलो मेसिन तथा गहिरो ट्युबवेल प्रयोग गरी पानी तानिरहेका छन् । काठमाडौं उपत्यकामा मेलम्ची आएको अवस्थामा पनि भूमिगत पानीको प्रयोग न्यून गर्न सकिने अवस्था छैन ।
भूमिगत पानीको दोहनलाई रोक्दै त्यस्ता स्रोतलाई संरक्षण नगर्ने हो भने निकट भविष्यमै काठमाडौंले अकल्पनीय जटिलता भोग्नुपर्ने निश्चित छ । यसका लागि भूमिगत पानीको पुनर्भरण हुने स्थानलाई संरक्षित गर्नुपर्छ वा त्यस्ता स्थानलाई विकासका नाममा विनाश गर्नुहुँदैन ।
प्राकृतिक पुनर्भरण
काठमाडौंको सबै स्थानबाट भूमिगत पानीको पुनर्भरण सजिलै हुने स्थिति छैन । माटोको प्रकार, जस्तैः ग्रेगर, बालुवा, कालोमाटो र जमिनको भिरालोपना तथा बोटबिरुवाको घनत्वजस्ता आदि विषयले पानीको पुनर्भरणको सहजतालाई निर्धारण गर्छ । जाइकाको अध्ययनले काठमाडौंको भूमिगत पानीलाई उत्तरी, मध्य र दक्षिण गरी तीन खण्डमा विभाजन गरेको छ । अरू धेरै अध्ययनले यसलाई पुष्टि पनि गरेको छ । यीमध्ये उत्तरी भेगका करिब २५ क्षेत्र भूमिगत पानी पुनर्भरणको दृष्टिकोणले उचित मानिन्छ ।
काठमाडौंको गोंगबु, धापासी, साँग्ला, नेपालटार, गोलढुंगा, काभ्रेस्थली, मनमैजु, धर्मस्थली, टोखा, धोबिखोला, भीमढुंगा, भद्रकाली, बुढानीलकण्ठ, चपली, महादेवस्थान, सैँबु, सितापाइला, तिनथाना, सतुंगल, कटुन्जे, कपन, चुनिखेल, गोकर्णलगायत क्षेत्रलाई उत्तरीखण्ड भनिएको छ । भक्तपुरको बोडे र मनहरा खोला पनि पानी पुनर्भरणका लागि महत्वपूर्ण स्थान हुन् । यो बालुवा, ग्रेगानका सतहले बनेको क्षेत्र भएकाले सहजै पानी छिर्न सक्छ । जसलाई ‘पुनर्भरण क्षेत्र’ भनिन्छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले प्रस्तावित गरेका इशान (पूर्वोत्तर) र उत्तर सहरको अधिकांश क्षेत्र र आग्नेय (दक्षिणपूर्व) सहरका केही क्षेत्र भूमिगत पानी पुनर्भरणको दृष्टिकोणले उचित मानिने क्षेत्रमा पर्छन् । जसले थप संकट निम्त्याउने पक्का छ ।
हालै मात्र संयुक्त राष्ट्रसंघ विश्वविद्यालय जापानमा कार्यरत अञ्जना दाहालको समूहले ‘ग्राउन्ड वाटर फर सस्टेनेबल डेभलभमेन्ट जर्नल’मा हालै प्रकाशित पेपरमा काठमाडौं उपत्यकाको उत्तरी क्षेत्र जल पुनर्भरणका लागि अति उपयुक्त भएको निक्र्योल निकालेको छ । जसमा लप्सेफेदी, गागलफेदी, सुन्दरीजल, चपली, भद्रकाली, बुढानीलकण्ठ र बालुवालगायत क्षेत्र पर्छन् । त्यस्तै, उनीहरूको अध्ययनमा दक्षिणी क्षेत्रका देबीचौर, नल्लु, भारदेभ, गोदावरीलगायत क्षेत्र काठमाडौं उपत्यकाको भूमिगत पानी पुनर्भरणका लागि अति महत्वपूर्ण क्षेत्र भनेर निष्कर्ष निकालिएको छ ।
काठमाडौंको उत्तरी क्षेत्रबाट पानी पुनर्भरण भइरहँदा पनि अनियन्त्रित दोहनले गर्दा भूमिगत पानी रित्तिँदै छ, उपत्यकाको टाउको मानिने उत्तर र पूर्वोत्तर क्षेत्रमा सहर बसाएर समग्र उपत्यकाको जीवनलाई किन संकटमा पार्दै छौँ भन्ने आजको प्रश्न हो
इकोलजिकल अस्ट्रेलियाका रिचर्ड क्रेसवेलको समूहले सन् २००५ मा गरेको अध्ययनले पनि काठमाडौं उपत्यकाको उत्तर र पूर्वोत्तर क्षेत्र भूमिगत पानीका हिसाबले अति संवेदनशील देखाएको छ । हालै मात्र इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्राध्यापकद्वय सुरज लामिछाने र नरेद्रमान शाक्यले ‘जर्नल अफ हाइड्रोलोजीः रिजनल स्टडिज’मा हालै प्रकाशित गरेको पेपरमा उल्लेखित काठमाडौं उपत्यकाको भूमिगत पानी पुनर्भरण नक्साले पनि उपत्यकाको उत्तर र पूर्वोत्तर क्षेत्र भूमिगत पानी पुनर्भरणका हिसाबले अति उपयुक्त भएको देखाएको छ ।
तर, यी क्षेत्रमा केही वर्षदेखि घर तथा अन्य निर्माणको चाप बढ्दै गइरहेको छ, जसले गर्दा उपत्यकाको पानी पुनर्भरण हुने क्षेत्र विनाश भई जमिनभित्र पानी छिर्ने मात्रामा कमी हुँदै गएको छ । राज्यस्तरबाट यस्ता क्षेत्रमा निर्माणका कार्य नियन्त्रण गरी संरक्षित क्षेत्रका रूपमा विकास गर्नुपर्ने हुन्छ । करिब एक सय ५६ वर्गकिमिमा फैलिएको उत्तरी क्षेत्रको करिब ५६ वर्गकिमि क्षेत्र भूमिगत पानी पुनर्भरणका लागि अति उपयुक्त मानिन्छ ।
उक्त ५६ वर्ग किमिलाई जोगाउन सकेनौँ भने उपत्यकामा ठूलो बहुविपद् आइलाग्ने निश्चित छ । पुराना इनार, ताल, पोखरीलाई रिचार्ज गरेर बढाउन, हरियाली बढाएर खुला क्षेत्रलाई प्रयोग गरी पानीको पुनर्भरण बढाउनुपर्नेमा यही क्षेत्रमा हामी स्याटलाइट सहरको विकास गर्ने नाममा काठमाडौं उपत्यकालाई जीवन प्रदान गरिरहेका क्षेत्रलाई विनाश गर्दै छौँ ।
काठमाडौं र ललितपुरको सहरी क्षेत्र मध्यखण्डमा पर्छ । करिब एक सय १४ वर्गकिमि रहेको मध्यक्षेत्र भूमिगत पानी पुनर्भरणका लागि अनुपयुक्त मानिन्छ । यहाँ पानी छिर्न र बग्न सक्ने पातलो बालुवा, ग्रेग्रानलगायत सतहसँगै करिब दुई सय मिटर बाक्लो कालोमाटोको लेदो छ, जसलाई क्ले भनिन्छ । यही क्षेत्रमा सबभन्दा बढी डिपवेल छन् । क्लेबाट पानी छिर्न नसक्ने भएकाले यहाँ कतैबाट पनि रिचार्ज गर्न सकिँदैन । दुई सय मिटर बाक्लो क्लेमुनिबाट अत्यधिक मात्रामा भूमिगत पानी दोहन गरिसकेपछि त्यो क्षेत्र जोखिममा पर्ने निश्चित छ । दक्षिणी खण्ड सतुंगल, नैकाप, पाटन चक्रपथ, धोबिघाट हुँदै हरिसिद्धि क्षेत्रमा बाक्लो क्लेको सतह भएकाले यस क्षेत्रमा पानी पुनर्भरण हुन सक्दैन ।
अस्ट्रेलियाका बेसिनमा पानी उच्च दोहन भएपछि अहिले त्यहाँका सहरमा पानीको संकट पर्दै छ । त्यहाँका भूमिगत पानीको ठूलो स्रोत भएका ग्रेट आर्टेसियन बेसिन, मुररे–डार्लिङ बेसिनहरूमा भूमिगत पानीको स्रोत रित्तिँदै जाँदा ठूलो संकट देखिँदै छ । भारतमै पनि करिब २१ वटा सहरमा आगामी केही वर्षमा भूमिगत पानी रित्तिने भनेर चिन्ता व्यक्त भइरहेको छ ।
दिल्ली, कलकत्ताजस्ता सहरमा भूमिगत पानीको अत्यधिक दोहनका कारण जमिन भासिन सक्ने चिन्ता व्यक्त भएको छ । काठमाडौंकै जस्तो भूबनोट मानिने मेक्सिको सहरमा पनि भूमिगत पानीको अत्यधिक दोहन समस्याग्रस्त बनेको छ । मेक्सिको सहर, बैंककजस्ता सहरमा भूमिगत पानीको अधिक दोहनले जमिन भासिन लागेकोलगायत समस्या देखापरेका छन् । रित्तिँदै जाँदा भूमिगत पानीको गुणस्तरमा पनि ह्रास आउँछ । त्यसपछि पानीमा एमोनिया, नाइट्रेट, आर्सेनिक, फलाम आदि तत्वको मात्रा बढ्दै जान्छ । त्यसपछि त्यो पानी सोझै पिउनलायक हुँदैन । उच्च भूमिगत पानी दोहनका कारण रित्तिएको भूभागमा समयमै पुनर्भरण गर्न सकिएमा उच्च दोहनबाट निम्तिएका र निम्तिन सक्ने धेरै समस्यालाई न्यूनीकरण गर्न सकिन्छ र काठमाडौंको जीवन बचाउन सकिन्छ । तर, अहिलेसम्मको अवस्था हेर्दा हामी उल्टो बाटोतर्फ गइरहेका छौँ ।
काठमाडौंको उत्तरी क्षेत्रबाट पानी पुनर्भरण भइरहँदा पनि अनियन्त्रित दोहनका कारण काठमाडौंको भूमिगत पानी रित्तिँदै छ । अझ प्रस्तावित इशान, आग्नेय, र उत्तर सहरको निर्माण भएमा काठमाडौंको भूमिगत पानी पुनर्भरणमा भारी गिरावाट आउनेछ । उक्त सहरहरू बनेका केही वर्षमा काठमाडौं मरुभूमिजस्तै बन्ने उच्च जोखिम छ । काठमाडौं उपत्यकाको टाउको मानिने उत्तर र पूर्वोत्तर क्षेत्रमा सहर बसाएर समग्र उपत्यकाको जीवनलाई किन संकटमा पार्दै छौँ ? भन्ने आजको प्रश्न हो ।
(लेखक भूप्रविधिविज्ञ हुन्)