मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २७ बुधबार ०९:०५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

पेरिस सम्झौताबाट अमेरिका बाहिरिँदा

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०९:०५:००

राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो साता अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट बाहिर निकालेर चुनावी वाचा पूरा गरेका छन् । अमेरिकाको बहिर्गमन अकस्मात् रूपमा आएको थिएन, तर पनि धेरै यसबाट दुःखी बने । बहिर्गमनले अमेरिकाको स्वार्थलाई कसैगरी पनि सहयोग गर्दैन । किनकि जलवायु संकटले सिमानाको ख्याल गर्दैन । अमेरिका दुई सय राष्ट्रले हस्ताक्षर गरेको सन्धिबाट बाहिरियो भन्दैमा क्यालिफोर्नियाका वनमा लाग्ने डढेलो कम हुने होइन ।

वान की मुन /प्याट्रिक भरकुइजेन

न त बढ्दो समुद्री सतहले अमेरिकी तटलाई नै अछुतो छाड्नेछ । पेरिस सम्झौता अहिलेका लागि बढ्दो तापक्रमले निम्त्याउने विनाशकारी असरबाट मानव जगत्लाई जोगाउने एक मात्र विकल्प हो । के कुरा स्पष्ट भइसकेको छ भने यदि यो शताब्दीको अन्त्यसम्म विश्वको औसत तापक्रम एक सेल्सियस डिग्रीले मात्र बढ्यो भने कुनै पनि देशको भलो हुँदैन । यसमा सबैको हार हुनेछ । 

ट्रम्प आप्रवासीको अमेरिका आगमनप्रति गम्भीर असन्तोष व्यक्त गर्ने गर्छन् । जलवायु परिवर्तनको असरले ठूलो संख्याका मानिसलाई घरबारविहीन बनाउनेछ । त्यसपछि अमेरिकामा आप्रवासीको बाढी नै आउनेछ । विश्व बैंकको तथ्यांकअनुसार जलवायु परिवर्तनले अमेरिकाका छिमेकमा रहेका मेक्सिकोलगायत उत्तरी र दक्षिण अमेरिकाका १४ लाख मानिस घरबारविहीन हुनेछन् ।

उक्त क्षेत्रको एकतिहाइ रोजगारी कृषिसँग जोडिएको छ । जलवायु परिवर्तका असर प्रकट हुन थालेसँगै तिनको जनजीविका दयनीय हुँदै गएको छ । जलवायु शरणार्थीलाई अमेरिकाको मूलढोकामा रोक्ने हो भने अमेरिकाले सशक्त र प्रभावकारी जलवायु सम्झौतालाई समर्थन जनाउनुपर्छ । यसले अमेरिकाको छिमेकमा रहेका राष्ट्रलाई खडेरी र अस्थिर मौसमी अवस्थाबाट जोगाउनेछ । तर, ट्रम्पले पेरिस जलवायु सम्झौताबाट बाहिरिएर त्यो अवसरमा बेवास्ता दर्शाएका छन् । 

यो कुनै व्यापार सम्झौता होइन । डेट्रोएट, योङटाउन र पिट्सवर्गका मतदातालाई खुसी पार्न पेरिस सम्झौता त्याग्नुलाई तर्कसंगत मान्न सकिँदैन । फेरि, भन्सार र प्रतिबन्धले जलवायु समस्याको सामना गर्न सकिँदैन । खासमा, पेरिस सम्झौता एक सामूहिक बिमा नीति हो, जसमा हामी सबैले आफ्नो भविष्यको सुरक्षाका लागि लगानी गर्नुपर्छ । हाम्रो खाना, पानी र ऊर्जाका स्रोत, हाम्रो यातायात, आवास र सहर, अनि हाम्रो व्यवसाय र वित्तलाई जलवायु परिवर्तनको असरबाट जोगाउने त्यो लगानी सबैभन्दा उत्कृष्ट लगानी हुनेछ ।

हामीले उच्च तापक्रम, बढ्दो समुद्री सतह, ठूला आँधी, पानीको अभाव र डढेलोको सामना गर्नुपर्नेछ । त्यससँग जुध्न र अनुकूलन हुनका लागि लगानी गर्नैपर्छ । यी परिस्थिति अब रोक्न सकिँदैन, त्यसैले हामीले त्यसको अनुकूलताका लागि तयारी गर्नुपर्छ । अनुकूलनसम्बन्धी विश्व आयोगले आगामी दशक जलवायु परिवर्तनका असरको सामना गर्नका लागि गरिने १८ खर्ब अमेरिकी डलर लगानीले ७० खर्ब डलरको फाइदा गर्ने बताएको छ । अनुमानित उपलब्धिका हिसाबले त्यो राम्रो लगानी हो ।

अर्को शब्दमा भन्दा, हामी जलवायु परिवर्तनविरुद्ध तयारी सुरु गरेर आफूलाई थप सुरक्षित गर्न सक्छौँ । अहिले निष्क्रिय बस्यौँ भने भविष्यमा हामीले गम्भीर परिणाम भोग्न तयार हुनैपर्छ । ट्रम्पले दोस्रो खराब विकल्प रोजेर भावी दिनमा आफ्नो देशलाई खतरामा पारेको देखिन्छ । यो कत्तिको सही विकल्प हो ? पेरिस सम्झौता बृहद् मानव सहकार्यको परियोजना हो । सम्भवतः यो मानवजगत्ले सामूहिक रूपमा सञ्चालन गरेको सबैभन्दा ठूलो प्रयास । सम्झौता पूर्ण छैन, तर पनि यसलाई कार्यान्वयनमा लानु उत्तम विकल्प हो ।

अमेरिका प्रविधिमा निकै अग्रणी देश हो, ऊ पेरिस सम्झौताबाट बाहिरिँदा विश्वले न्यून–कार्बनतर्फको यात्रामा उच्च प्रतिभा, नेतृत्व र विचार गुमाउनेछ, यसले अमेरिका र बाँकी विश्वको भलो गर्दैन

जलवायु संकटसँग लड्न हामीसँग उपलब्ध एक मात्र हतियार यही सम्झौता मात्र हो । पेरिस सम्झौता निरन्तर सुधारिँदै जाने सहमति हो । सम्झौतामा तय गरिनुपर्ने मापदण्ड र लक्ष्यको व्यवस्था छ । सम्झौताले सबै देशले सहमति गर्नुपर्ने कदम र बजेटको प्रावधानको पनि उल्लेख गरेको छ । सम्झौताको सबैभन्दा उत्कृष्ट पक्षमा, सम्बद्ध राष्ट्रले न्यून–कार्बन प्रविधिमा हासिल गरेको उपलब्धिलाई अरू सदस्यसँग बाँड्नुपर्छ ।

अमेरिका प्रविधिमा निकै अग्रणी देश हो र उसको सहभागिताविना पेरिस सम्झौताले निश्चय नै केही गुमाउनेछ । तर, त्योसँगसँगै यो सामूहिक कार्यमा सहभागी भएर अमेरिका आफैँले पनि धेरै हासिल गर्नेछ । आखिर हाम्रो समयको सबैभन्दा ठूलो प्राविधिक र आर्थिक रूपान्तरणबाट किन बाहिर रहने ?

सबैभन्दा मुख्य कुरा विश्वले न्यून–कार्बनतर्फको यात्रामा अमेरिकाको प्रतिभा, नेतृत्व र विचारको अभाव महसुस गर्नेछ । हुन त जलवायु परिवर्तनविरुद्धको कार्यमा अमेरिका पूरै निष्क्रिय रहने छैन । अमेरिकाका हजारौँ स्थानीय तथा राज्य सरकारका साथसाथै व्यवसायले ‘वी आर स्टिल इन’ नामक अभियानमार्फत हरितगृह ग्यासको उत्सर्जन कम गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो अभियान वर्तमान अमेरिकी प्रशासन पेरिस सम्झौताबाट बाहिरिएपछि पनि अझै करोडौँ अमेरिकी पेरिस सम्झौतालाई समर्थन गर्छन् भन्ने प्रमाण हो । ट्रम्पलाई आफ्नो निर्णय पुनर्विचार गर्नका लागि अझै समय नभएको होइन । पेरिस सम्झौतामा सहभागी रहँदा अमेरिका र बाँकी विश्वलाई फाइदा हुनेछ । भनिन्छ, विस्टन चर्चिलले एक समय अमेरिकाबारे भनेका थिए, ‘अमेरिकाले सबै प्रयास गरेर भए पनि अन्तिममा सही काम गर्छ भन्नेमा ढुक्क हुन सकिन्छ ।’ हामी आशा गर्छौं, ट्रम्पले सुरुदेखि नै सही कदम चालेर चर्चिललाई गलत पार्नेछन् ।

वान की मुन संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव हुन् भने प्याट्रिक भरकुइजेन ‘ग्लोबल सेन्टर अन एडाप्टेसन’का प्रमुख कार्यकारी हुन् ।

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य