मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २७ बुधबार ०८:४६:००
Read Time : > 1 मिनेट
अर्थ

३ महिनाको राजस्व लक्ष्य ४ महिनामा पनि उठ्न कठिन 

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०८:४६:००

सरकारले चालू आवको पहिलो ३ महिनामा राखेको राजस्व लक्ष्य ४ महिना सकिन लाग्दासमेत पूरा भएको छैन । सरकारले असोज मसान्तसम्म २ खर्ब ५२ अर्ब रुपैयाँ राजस्व संकलन लक्ष्य राखेको थियो । तर, कात्तिक सकिन ५ दिन बाँकी रहँदा २ खर्ब ५० अर्ब ९१ करोड ६९ लाख रुपैयाँ संकलन भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

अर्थ मन्त्रालयले भने चालू आर्थिक वर्षमा वस्तु आयातमा कमी आएका कारण भन्सारबाट संकलन हुने राजस्वको वृद्धि न्यून रहेको जनाएको छ । ‘विशेष गरी डिजेल, पेट्रोल, एल्पी ग्यास, जिप, कार, भ्यानलगायतका सवारीसाधन, सिमेन्ट क्लिङकर, सुन, पत्थर, कोइलालगायतका वस्तुको आयात घटेकाले त्यसको प्रभाव राजस्व परिचालनमा पर्न गएको हो,’ अर्थ मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा उल्लेख छ ।

४ महिनामा साढे ५ प्रतिशत मात्र विकास खर्च
चालू आर्थिक वर्षको ४ महिना सकिन लाग्दा विकास खर्च साढे ५ प्रतिशत मात्र भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार २५ कात्तिकसम्ममा २३ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । यो कुल विकास बजेटको ५ दशमलव ६४ प्रतिशत हो । चालू आर्थिक वर्षमा पुँजीगत बजेट ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ रहेको छ । चालू आव सम्पन्न हुन ७ महिना बाँकी छ ।

यो अवधिमा ३ खर्ब ८५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ । आवको पहिलो ४ महिना भनेको कुल अवधिको ३३ प्रतिशत हो । चालू खर्च सबैभन्दा धेरै भएको छ । कुल ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँमध्ये २५ कात्तिकसम्ममा १ खर्ब ८७ अर्ब ३६ करोड ५९ लाख रुपैयाँ खर्च भइसकेको छ । यो कुल चालू खर्चको १९ दशमलव ५८ प्रतिशत हो । 

कुल बजेटमध्ये अहिलेसम्म १४ दशमलव ०३ प्रतिशत खर्च भएको छ । चालू आवको कुल बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ छ । त्यसमध्ये अहिलेसम्म २ खर्ब १५ अर्ब ६ करोड ५० लाख रुपैयाँ मात्र खर्च भएको छ ।