१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ कार्तिक २७ बुधबार ०८:१०:००
Read Time : > 1 मिनेट
खेलकुद

एभिसी सेन्ट्रल जोन महिला भलिबल : अपराजित रहँदै नेपाल फाइनलमा

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०८:१०:००

नेपाल बंगलादेशमा जारी एसियाली भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले समूहगत चरणको अन्तिम खेलअगावै फाइनल स्थान सुरक्षित गरेको हो । 

यससँगै नेपालले प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई पनि कायमै राखेको छ । नेपालले अब उपाधिका लागि बिहीबार हुने फाइनल खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि बुधबार हुने समूहगत चरणको आफ्नो अन्तिम खेलमा पनि नेपालले माल्दिभ्ससँगै प्रतिस्पर्धा गर्नेछ ।

 निरन्तर सोझो सेटको जित
बंगलादेशमाथि सुरुवातबाटै हाबी भएको नेपालले पहिलो सेट २५–७ ले आफ्नो पक्षमा पारेको थियो । घरेलु टोलीले नेपालविरुद्ध पहिलो सेटमा ७ अंक कटाउन सकेन । पहिलो सेटमा सहज जित निकालेको नेपालले दोस्रो सेटमा पनि सोही लयलाई कायम राख्यो । नेपालले दोस्रो सेट अझ सहज रूपमा २५–६ ले जित्यो । दोस्रो सेटको खेलमा नेपालले निरन्तर १५ अंक जोडेपछि मात्रै बंगलादेशले पहिलो अंक जोडेको थियो । त्यसपछि तेस्रो सेट पनि २५–६ ले आफ्नो पक्षमा पार्दै नेपालले फाइनल यात्रा निश्चित गरेको हो ।

सबै खेलाडीलाई अवसर 
बंगलादेशविरुद्धको खेललाई नेपाली प्रशिक्षक जगदीश भट्टले खेलाडी प्रयोगको अवसरका रूपमा लिए । सुरुवातबाटै कमजोर देखिएपछि बंगलादेशविरुद्ध उनले तीनै सेटमा फरक खेलाडीलाई मौका दिएका थिए । नेपाली टोलीमा रहेका १२ मध्ये सबै खेलाडी खेलको कुनै न कुनै समयमा कोर्टमा प्रवेश गरेका थिए । सबै खेलाडी अब्बल रहँदा बंगलादेशले तीन खेलमा गरेर कुल १९ अंक मात्रै बनाउन सकेको थियो । जारी प्रतियोगितामा हालसम्म तीन खेल खेलेको नेपालले यी सबै खेल सोझो सेटमै जितेको छ । नेपालले प्रतियोगितामा लगातार तीन जितबाट ९ अंक बनाएको छ ।

नेपालको जितले माल्दिभ्स पनि फाइनलमा
नेपालसँगै माल्दिभ्स पनि एक खेलअगावै फाइनलमा स्थान बनाउन सफल भयो । मंगलबार नेपालले आयोजक बंगलादेशलाई पराजित गर्दा माल्दिभ्स पनि समूहगत चरणको अन्तिम खेलअगावै प्रतियोगिताको फाइनलमा पुगेको हो । एकल राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै, तेस्रो र चौथो स्थानमा रहने दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालपछि माल्दिभ्सको ८ अंक रहेको छ । किर्गिस्तान ४ अंकसहित तेस्रो तथा ३ अंक भएको आयोजक बंगलादेश चौथो स्थानमा रहेका छन् । अंकविहीन अफगानिस्तान पुछारमा छ । 

 खेलाडीको प्रशंसा
नेपाली टोलीका प्रशिक्षक भट्टले प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली खेलाडीको प्रशंसा गरे । उनले यो प्रतियोगिताको प्रदर्शनले आसन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि पनि राम्रो ‘एक्सपोजर’ मिलेको प्रतिक्रिया दिए ।

‘खेलाडीहरूले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यो प्रतियोगितामा सबै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव पनि बटुल्ने अवसर पाएका छन्,’ बंगलादेशबाट उनले भने, ‘यसले गर्दा भविष्यमा पनि नेपाली टोलीलाई निकै फाइदा हुने अपेक्षा गरेको छु ।’