मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २७ बुधबार ०७:५३:००
Read Time : > 2 मिनेट
खेलकुद

मन्त्री र सदस्यसचिवको फरक अपेक्षा

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०७:५३:००

साग आउन अब १९ दिन मात्र बाँकी छ । भव्य रूपमा उद्घाटन हुने दशरथ रंगशाला निर्माणाधीन छ । हिटिङ स्विमिङ पुलको काम पनि भइरहेको छ । उद्घाटनस्थल र सर्वाधिक धेरै पदक संख्या भएको स्विमिङ पुलको निर्माणको संशय अझै बाँकी छ । तर, सदस्यसचिवको भनाइ मान्ने हो भने हिटिङ स्विमिङ पुल अबको एकसातामा पौडीका लागि योग्य हुन्छ । त्यस्तै, दशरथ रंगशाला पनि ५ मंसिरभित्र पूर्ण रूपमा तयार हुन्छ । तर, उनका दाबीहरू पटक–पटक असफल भइसकेका छन् । यसपटक पनि निर्माणाधीन अवस्थालाई हेर्दा उनले भनेको समयमा काम पूरा हुन गाह्रो छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको खेलकुद पत्रकारहरूको स्तरवृद्धिको कार्यशाला उद्घाटन गर्दै  खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा।

मंगलबार सागलाई लक्षित गर्दै खेलकुद पत्रकारको स्तरवृद्धिका लागि राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा दुई दिने कार्यशाला सुरु भएको छ । सोही कार्यक्रमका दौरान खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राखेप सदस्यसचिव रमेश सिलवालले पत्रकारलाई सकारात्मक समाचार सम्प्रेषण गर्न औपचारिक आग्रह गरे । देशभरबाट एक सय ४० को संख्यामा उपस्थित खेलकुद पत्रकारमाझ मन्त्री र सदस्यसचिवको अपेक्षा फरक रह्यो । उनीहरूको एउटै आग्रह थियो– जसरी भए पनि साग हुन्छ । त्यसैले सागको संरचना जस्तो भए पनि यसको भव्यताको मात्रै प्रचार होस् र पत्रकारहरूले देशको गौरवलाई ख्याल गरिदिऊन् । 

बुँदागत रूपमै असन्तुष्टि
मन्त्री विश्वकर्माले आफ्नो खटाइको कम मूल्यांकन भएको गुनासो पोखे । उनले बुँदागत रूपमै पत्रकारहरूसमक्ष आफ्ना असन्तुष्टि पोखेका थिए । उनले भने, ‘सागका लागि आफ्नो पदीय मर्यादा बिर्सिएर आफैँ रंगशालामा खटिएको छु । जसरी भए पनि समयमा काम हुनुपर्‍यो भनेर लागेको छु । तर, यहाँ सकारात्मक चर्चाभन्दा नकारात्मक चर्चाहरू बढी भइरहेका छन् ।’ उनले २०७२ मै नेपाललाई सागको जिम्मेवारी दिएको र अघिल्ला सरकारहरूले काम नगर्दा अहिले दबाब परेको दाबी गरे । मन्त्री विश्वकर्माले भने, ‘०७२ सालमै नेपाललाई दुई वर्षपछि साग हुने भनेर जिम्मेवारी दिइएको थियो । तर, अघिल्ला सरकारहरूले निरन्तर साग सारिरहे, संरचना निर्माणमा जोड दिएनन् । तर, यसपटक हामीले जोखिम मोलेर मिति नसारी कामलाई रातदिन गरेर अघि बढाइरहेका छौँ ।’

यद्यपि, उनकै कार्यकालमा पनि एकपटक साग सरिसकेको छ । सागका लागि भौतिक पूर्वाधार निर्माणमा पछिल्लो एक महिना निकै जोडतोडले लागिए पनि अझै संरचनाहरू पूरा हुन सकेका छैनन् । मन्त्री विश्वकर्माले आफूहरूले गरेको काम हतारमा भएको भनेर हुने आलोचनाले दुःख लाग्ने गरेको बताए । उनले भने, ‘अन्तिम समयमा धमाधम काम हुँदै भनेर लेख्ने र भन्ने गरिन्छ । तर, हाम्रा लागि छोटो समय थियो । यो समयमा पनि काम रातदिन गरेर हुनु सकारात्मक होइन र ?’

अहिलेसम्मकै सफल आयोजना
वर्कसपमा सदस्यसचिव सिलवाललाई सागका बारेमा भएको प्रगति तथा भइरहेका र गर्न बाँकी कामहरू, चुनौती र सागलाई भव्य बनाउने योजनाहरूका बारेमा बोल्ने जिम्मेवारी दिएको थियो । उनले यी विषयमा थोरै बोल्दै आफ्नो असन्तुष्टि पोख्ने थलोको रूपमै वर्कसपलाई प्रयोग गरे । सदस्यसचिवले सागका लागि भएका निर्णय केही जानकारी गराएपछि पत्रकारहरूसमक्ष असन्तुष्टि राख्दै भने, ‘मैले फरक–फरक खालका पत्रकारहरूको संगत गर्ने मौका पाएको छु । जसमा खेलकुद समाचारमै केन्द्रित हुने र खेलकुदको विकास चाहने पत्रकारको संख्या निकै कम छ ।’ उनले सागका लागि महत्वपूर्ण कामहरू सम्पन्न भइसकेको र भौतिक पूर्वाधार अबको दुई साताभित्र पूरा हुने बताए । सिलवालले भने, ‘दशरथ रंगशाला ५ मंसिरसम्ममा तयार हुन्छ । हिटिङ स्विमिङ पुल पनि एक साताभित्र खेल्नका लागि योग्य हुन्छ । पोखरा रंगशाला पनि १० मंसिरभित्र खेल्न योग्य हुने जानकारी मलाई आएको छ ।’

सिलवालले साग ब्रोडकास्टका लागि ठूलो सम्झौताको तयारी भइरहेको दाबी गरे । उनले उद्घाटनमा १५ हजारको उपस्थिति रहने बताए । साथै, सागको सुरक्षाका लागि २० हजार सुरक्षाकर्मी परिचालित हुने जानकारी दिए । ‘हामीले सबै काम प्लानअनुसारै गरिरहेका छौँ । त्यसैले साग समयमा हुन्न कि भन्ने प्रश्नको अन्त्य भएको छ । र, बाँकी काम पनि बिस्तारै सम्पन्न हुँदै जान्छन्,’ सिलवालले भने ।