मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ कार्तिक २७ बुधबार ०७:४०:००
Read Time : < 1 मिनेट
खेलकुद

म्याच फिक्सिङ अब श्रीलंकामा पनि अपराध 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०७:४०:००

श्रीलंका खेल मिलेमतो (म्याच फिक्सिङ) लाई अपराध मान्ने पहिलो दक्षिण एसियाली राष्ट्र बनेको छ । श्रीलंकाको संसद्ले खेलसँग सम्बन्धित अपराध रोकथामको एक विधेयकलाई पास गरेको हो ।

म्याच फिक्सिङ र भ्रष्टाचारसँग जोडिएको यो नयाँ नियम सबै खेलमा लागू हुने जनाइएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एन्टी–करप्सन युनिट (एसियू) ले खेल मिलेमतोसँग जोडिएको विषयमा छानबिन गरेको थियो ।

नयाँ कानुनअनुसार यदि कुनै खेलमा मिलेमतो गरेका पाइएमा अपराध ठहर गरी संलग्न खेलाडीलाई १० वर्षसम्मको जेल सजाय हुनेछ । साथै, ठूलो मात्रामा आर्थिक जरिवानासमेत तिर्नुपर्ने श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन् । यो कानुनअनुसार खेल पदाधिकारी तथा क्युरेटरसमेत तानिनेछन् । यदि क्युरेटरले सट्टेबाजसँगको मिलेमतोमा पिच तयार गरिएको पाइएमा उसलाई पनि यो कानुनअनुसार कारबाही हुने जनाइएको छ ।

आइसिसीसँगको सहकार्य
श्रीलंकाका खेलकुदमन्त्री हरिन फर्नान्डोले यो विधेयकलाई संसद्मा पेस गरेका थिए । जसलाई पूर्वकप्तान अर्जुन रणातुंगाले संसद्मा समर्थन गरेका थिए । खेल मन्त्रालयले बिलको ड्राफ्ट तयार गर्ने क्रममा आइसिसीको एन्टी–करप्सन युनिटसँग सल्लाह लिएको जनाएको छ । 

सट्टेबाजसँगको सम्पर्क लुकाए कारबाही
यो विधेयकअनुसार खेलाडीले सट्टेबाजसँग भएको सम्पर्कको सूचना लुकाएमा पनि कडा कारबाही हुनेछ । यदि कुनै सट्टेबाजले सम्पर्क गरेमा खेलाडीले तत्काल सम्बन्धित निकायमा जानकारी दिनुपर्नेछ । अन्यथा, कडा कारबाही भोग्नुपर्ने जनाइएको छ । हालै मात्र सट्टेबाजसँग भएको कुराकानीको सूचना लुकाएको आरोपमा बंगलादेशी खेलाडी सकिब अल हसन आइसिसीको कारबाहीमा परेका छन् । उनी कुनै पनि क्रिकेटबाट एक वर्षसम्मका लागि प्रतिबन्धित भएका छन् । आफ्ना खेलाडीले पनि यस्तो गल्ती नगरून् भन्ने उद्देश्यले श्रीलंकाली संसद्ले यो विधेयक पारित गरेको हो ।