२०७६ कार्तिक २६ मंगलबार १७:०८:००
करण ताम्राकार डडेल्धुरा

डा. केसीले भारतीय प्रधानमन्त्रीलाई पत्र लेख्दै अनसन स्थगित गरे 

माग पूरा नगरे चाँडै अर्को सत्याग्रह गर्ने चेतावनी

डा. गोविन्द केसीले १७औन् सत्याग्रह तोडेका छन् । अमरगढी नगरपालिका–४ का चार वर्षीय बालक श्रीयान्स जैरुको हातबाट सुन्तलाको जुस पिएर केसीले मंगलबार नवौँ दिनमा अनशन स्थगित गरेका हुन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै केसीले १८ कात्तिकदेखि १७औँ अनशन सुरु गरेका थिए ।

डडेल्धुरा अस्पतालले केसीको स्वास्थ्य अवस्था बिग्रेको भन्दै अन्यत्र लैजान आग्रह गरेपछि सरकारले सोमबार नेपाली सेनाको हेलिकोप्टर उनलाई लिन पठाएको थियो । तर, केसीले आफू कतै नजाने भन्दै अडान राखेपछि सेनाको हेलिकोप्टर चार घन्टा बसेर रित्तै फर्किएको थियो । उनले मंगलबार बिहान आफ्नो उपचारमा आएका सरकारी चिकित्सकलाई पनि फिर्ता पठाइदिएका थिए । तर, सबैको अनुमानविपरीत केसीले दिउँसो अनशन बीचमै तोडेका छन् ।

डा. केसीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेख्दै आफ्नो अनशन स्थगित गरेको जनाएका छन् । अनशन बीचमै रोकिए पनि चिकित्सा क्षेत्रमा देखिएका विकृति र विसंगतिविरुद्ध आफ्नो लडाइँ जारी रहने उनले उल्लेख गरेका छन् । केसीले भारतीय प्रधानमन्त्री मोदीलाई लेखेको चिठी मंगलबार नै काठमाडौंस्थित भारतीय दूतावासमा बुझाइएको छ ।

डा. केसीले राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशवासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगित गरेको जनाएका छन् । सरकारले आफ्नो माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने उनले उल्लेख गरेका छन् ।

सत्याग्रहकै बीचमा भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमाक्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले अरू नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको केसीले जनाएका छन् । ‘भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमाक्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको छ ।

यो समाचारले अरू नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सीमारक्षा राष्ट्रियताको पहिलो सर्त हो । सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमारक्षा मात्रै काफीचाहिँ छैन । आमनागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा विनाभेदभाव र विनाभय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ ।’

आमनागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा स्वास्थ्य उपलब्ध हुने तथा विनाभेदभाव र भय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्ने केसीको तर्क छ । ‘अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरूबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कूटनीतिक माध्यमबाट मिचिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौँ । त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन,’ उनले भनेका छन्, ‘चिकित्सा शिक्षाक्षेत्रमा भएको दस अर्ब ठगीका अभियुक्तलगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन ।’ 

 नेपाल समृद्ध भए मात्र भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित
डा. केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्रमा दुई देशबीचको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धबारे चर्चा गरेका छन् । 
नेपाल मजबुत र समृद्ध भए मात्र भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुने भन्दै केसीले भारत र नेपाल मिलेर लड्नुपर्ने लडाइँ धेरै रहेको उल्लेख गरेका छन् ।

‘कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे म जानकार छैन । तर, सामान्य नागरिकको हैसियतले मैले जानेको यत्ति हो, जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुन्छ,’ केसीले भनेका छन्, ‘नेपालमा भारतका अनेक सरोकार होलान् । खासगरी, राष्ट्रिय सुरक्षाको संवेदनशीलताका कारण नेपालमा भारतको गहिरो चासो छ भनिन्छ । तर, नेपाल मजबुत र समृद्ध भए मात्रै भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुन सक्छ ।’

मोदीलाई यस्तो लेखे चिठी
श्री नरेन्द्र दामोदरदास मोदी,
प्रधानमन्त्री, भारत गणराज्य

कुशल छौँ र यहाँको कुशलता चाहन्छौँ । भारत र नेपालबीचको गहिरो र आत्मीय सम्बन्ध रातारात विकास भएको हैन । अनादिकालदेखि यी भूभागमा बसिआएका मानिसहरूबीचको अन्तरंग सम्बन्ध नै आधुनिक नेपाल र भारत निर्माण भएपछि दुई देशीय सम्बन्धका रूपमा विकास भएको हो । सन् १८१६ को सुगौली सन्धिले आधुनिक नेपालको प्रारम्भिक नक्सा कोरेको थियो ।

 त्यसपछिको अवधिमा ब्रिटिस इन्डिया र स्वतन्त्र भारतसँग राज्यस्तरको सम्बन्धमा उतारचढाव आए पनि जनस्तरमा मैत्रीपूर्ण आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध कायम छ । धेरै नेपालीको जीविका भारतको रोजगारले धानेको छ भने भारतबाट रोजगारका लागि नेपाल आउने जनसंख्या पनि उल्लेख्य छ ।

नेपाल र भारत मात्रै नभई पाकिस्तान र बंगलादेशजस्ता अरू छिमेकी देशका पनि भुइँ तहका मानिसहरूका पीडा उस्तै छन् । गरिबी, अशिक्षा र रोगजस्ता साझा समस्याबाट दक्षिण एसियाका सबै देशका नागरिक जुधिरहेका छन् । भ्रष्टाचार, कुशासन र असमानताको बढोत्तरी सबै देशका नागरिकहरूका साझा समस्या हुन् । सन् २००१ को भूकम्पपछि मैले यहाँको गृहराज्य गुजरातको भुजमा घाइतेहरूको सेवा गर्ने मौका पाएको थिएँ । त्यस्तै, सन् २०१३ मा उत्तराखण्डमा भीषण बाढी आउँदा केदारनाथमा फसेका तीर्थयात्रीको सेवा गर्ने मौका पनि मैले पाएको थिएँ । त्यसक्रममा मेरो आफ्नै ज्यान मुस्किलले बचेको थियो । जुनसुकै देश र राष्ट्रियताका मानिस भए पनि उनीहरूको पीडा एकै किसिमको हुन्छ र मानवीय सेवा गर्दा मिल्ने सन्तुष्टि पनि एउटै हुन्छ भन्ने मैले महसुस गरेको छु । 

अहिले म नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि सत्याग्रही अभियानमा छु । तर, यहीबीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमाक्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको छ । यो समाचारले अरू नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु । 

कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे म जानकार छैन । तर, सामान्य नागरिकको हैसियतले मैले जानेको यत्ति हो, जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुन्छ । नेपालमा भारतका अनेक सरोकार होलान् । खासगरी, राष्ट्रिय सुरक्षाको संवेदनशीलताका कारण नेपालमा भारतको गहिरो चासो छ भनिन्छ । तर, नेपाल मजबुत र समृद्ध भए मात्रै भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुन सक्छ । 

अन्तमा, भारत र नेपाल मिलेर लड्नुपर्ने लडाइँ धेरै छन् । विश्वका धेरै ठाउँमा उन्मूलनजस्तै भएका धेरै संक्रामक रोगहरूको ठूलो भार हामीकहाँ छ । अशिक्षित र निरक्षर मानिसहरूको ठूलो संख्या पनि यसै क्षेत्रमा छ । अपेक्षित गतिमा अर्थतन्त्र विस्तार नहुँदा जीविकाको समस्या त झन् सबैभन्दा जटिल बन्दो छ । आज हजारौँ माइल टाढा मरुभूमिमा जोखिमपूर्ण काममा न्यूनतम ज्याला लिएर काम गरिरहेका कामदारमध्ये धेरै भारतीय र नेपाली छन् ।

त्यसैले, यस्ता साझा समस्यासित भारत र नेपाल मात्रै नभई सबै दक्षिण एसियाली देशहरू मिलेर लड्नु जरुरी छ । त्यसका लागि नेपालसित हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्नस्तरमा हुने कूटनीतिक छलफलबाट समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न विशेष आग्रह गर्दछु ।
डा. गोविन्द केसी
डडेल्धुरा
१२ नोभेम्भर २०१९