Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ११:३२:००
Read Time : > 2 मिनेट
नयाँCity

जंगबहादुरले बसाएको सहर  नेपालगन्ज

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ११:३२:००

सहर संवाद

नेपालगन्ज सहरको यात्रा वि.सं. १९१७ देखि सुरु भयो । अंग्रेजबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फर्काएपछि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले नेपालगन्ज सहरको कल्पना गरेका थिए । उनकै चाहनामा भारत लखनउको व्यापारिक केन्द्र हजरतगन्जको मोडेलमा यसको संरचना निर्माण अगाडि बढ्यो ।

अभिलेखहरूअनुसार जंगबहादुरले सुब्बा सिद्धिमान राजभण्डारीलाई नयाँ सहर स्थापनाका लागि अध्ययन गर्न खटाए । उनको प्रतिवेदन प्राप्त भएपछि पद्मनाभ जोशीलाई नयाँ सहर बसाउन पठाए । जोशीले हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ एक सय आठ फिट सडकको दायाँ–बायाँ घरहरू निर्माण गराए । सँगसँगै लोकबहादुर थापाले काठ भारततर्फ निकासीका लागि काठमहल बनाए ।

सनतकुमार रेग्मी
साहित्यकार

हालको त्रिभुवन चोकको नाम सुरुमा चोकबजार थियो । यही चोकबाट पूर्व र पश्चिम लाइन, इदगाहरोडलगायत सडकमा पसल, कबलसहितका घरहरू निर्माण गरेर जोशीले नेपालगन्ज सहर बसाए । हाल त्रिभुवनको सालिक रहेको स्थानमा एउटा चारपाटे दुईतले घर ठड्याइयो । सोही घरको माथिल्लो तलामा भन्सार राखियो । नेपालगन्जमा व्यापार गर्न आउने महाजनहरूलाई त्रिभुवन चोक र आसपासकै घरहरू उपलब्ध गराइयो । सोही कारण चोकबजार सधैँ गुल्जार रह्यो । यही चोक नेपालगन्ज नगरको केन्द्र बनिरह्यो । राणा शासनकालमा चोकबजारमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको सालिक राखियो । बुढापाकाहरूका अनुसार बटुवाहरू जुद्धशमशेरको सालिकलाई सलाम गरेर मात्र अगाडि बढ्थे रे ।

चोकबजारको उत्तर र पश्चिमतर्फ सडकमै स–साना पसल खुले, जहाँ खाजा, सातु, चना, भुजा र दही बेचिन्थ्यो । पश्चिमपट्टि ठुल्ठुला कराहीमा दुई–चार मन घ्यू पगालिन्थ्यो । र, टिनमा प्याक गरिन्थ्यो । बिस्तारै बस्ती बढ्दै गयो । चोकबजारको दक्षिणतर्फ बीच सडकमै मन्दिरहरू निर्माण भए । पछिसम्मै बिहान ४ बजे बागेश्वरी मन्दिरको डंका बजेपछि चोकबजारमा चहलपहल सुरु हुन्थ्यो । बिहान ७ बजेतिर तरकारी पसल खुल्थे । १० बजे कार्यालय भ्याउन हतारिने कर्मचारीहरू चोकबजारमा केही क्षण उभिएर मात्र आ–आफ्नो गन्तव्यतर्फ लाग्थे ।

चाडबाडका वेला भारतबाट आएका बाईजीहरूले नौटंकी देखाउँथे । अरू वेला अवध संस्कृतिका लोकनृत्य, भाड भेडैती, रुब बदल, सफेडा, नागहरूको नृत्य, सडक जादु, नरहरूको कर्तब हुने गर्थे । ००७ सालको जनक्रान्तिको प्रभाव चोकबजारमा पनि पर्‍यो । क्रान्तिकारी युवाले जुद्धशमशेरको सालिक ढाले । ०१६ सालमा नेपालगन्ज नगरपालिका गठन भयो । मेयर मुलचन्द आजाद र उपमेयर पूर्णमान आजाद थिए । नगरपालिकाले जुद्धशमशेरको सालिक हटाएर ट्राफिक पोस्ट बनायो । चोकबजारको वरिपरि काठको खम्बामाथि काँचको लेन्टर्नबक्स हुन्थ्यो । त्यसभित्र टुकीमार्फत सडक बत्ती बालिन्थ्यो । सडक धुलाम्य थिए । स्थानीयवासीले साँझ–बिहान पानी छर्केर धुलो व्यवस्थापन गर्थे ।

०२०/२१ सालतिर तत्कालीन नगर पञ्चायतले राजा त्रिभुवनको सालिक चोकबजारमा स्थापित गर्‍यो । ०६२/६३ को परिवर्तनपछि भएको मधेस आन्दोलनका क्रममा त्रिभुवनको सालिक भत्काइयो । तर, जनजिब्रोबाट त्रिभुवन चोक हटेको छैन ।


नेपालगन्ज साबिक मध्य तथा सुदूरपश्चिमाञ्चलको व्यापारिक र शैक्षिक केन्द्र हो । नेपाल–भारत व्यापारको पनि केन्द्र बन्यो, यो सहर । ठूला उद्योग र कलकारखाना सञ्चालनमा आए । आर्थिक वर्ष ०७४/७५ सम्मको तथ्यांक केलाउँदा नेपालगन्ज र आसपासको इलाकामा प्रशस्त उद्योग, कलकारखाना स्थापना भइसकेका छन् । उत्साहजनक लगानी भित्रिएको छ । पछिल्ला वर्षमा नयाँ–नयाँ सहरहरू स्थापना हुँदै गर्दा पनि नेपालगन्जको ‘चार्म’ घटेको छैन । प्रदेश–५ र ६ का पहाडी जिल्लासँग सीधा हवाई सम्पर्क छ । र, भारतीय तीर्थयात्रुले कैलाश मानसरोवर जान नेपालगन्जबाट हुम्ला हुँदै तिब्बत सीमासम्म हवाईमार्ग प्रयोग गर्छन् । नेपालगन्जलाई चिनाउने अर्को माध्यम बन्दै गएका छन्, सुविधासम्पन्न होटेलहरू । काठमाडौंको होटेल सोल्टीको चेन ब्रान्डको रूपमा पाँचतारे ‘सोल्टी वेस्टर्न’ सञ्चालनमा आएको छ । चारतारे होटेल पनि प्रशस्त खुलेका छन् ।

अहिले कर्णाली, सुदूरपश्चिम र प्रदेश–५ का विद्यार्थीका लागि प्राविधिक शिक्षाको केन्द्र बनेको छ, नेपालगन्ज । अब प्राविधिक शिक्षा आर्जनका लागि यस भेगका विद्यार्थीले काठमाडौं र विदेश जानुपर्ने बाध्यता अन्त्य भएको छ । स्नातक तहसम्मका प्राविधिक शिक्षालयहरू स्थापना भएका छन्, यहाँ ।