१३औैँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । फुटबल इभेन्टमा नेपाल साबिक विजेता हो । नेपालले २०१६ मा गुवाहाटीमा भारतलाई पराजित गर्दै स्वर्णपदक जितेको थियो । प्रशिक्षक बालगोपाल महर्जनले सोमबार २० सदस्यीय युवा टोलीको घोषणा गरे ।
घोषित टोलीमा अन्तर्राष्ट्रिय लिगमा चर्चित रहेका नेपाली खेलाडी छनोट हुन सकेनन् । यू–२३ टोलीमा तीन सिनियर खेलाडीलाई समावेश गर्न सक्ने प्रावधान छ । प्रशिक्षक महर्जनले कप्तान तथा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र नवयुग श्रेष्ठलाई टोलीमा राखेनन् । चेम्जोङ र रोहितलाई क्लबले रिलिज नगरेकाले टोलीमा नपरेका हुन् । अब तीन सिनियर खेलाडीका रूपमा मिडफिल्डर सुजल श्रेष्ठ, डिफेन्डर विक्रम लामा र गोलरक्षक विकेश कुथू रहनेछन् ।
विक्रमलाई आवश्यकताअनुसार डिफेन्स र मिडफिल्डमा खेलाउन सकिने प्रशिक्षक महर्जनले बताए । पछिल्लो संस्करणमा कप्तान विराज महर्जन, विक्रम र नवयुग श्रेष्ठ समावेश थिए । नेपालले गुवाहाटीमा स्वर्ण जित्दा नवयुगले सनसनीपूर्ण गोल गरेका थिए ।
यस्तो छ नेपाली टोली
गोलरक्षक– विकेश कुथू, अर्पण कार्की, दीप कार्की
डिफेन्डर– अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिचेन तामाङ, छिरिङ गुरुङ
मिडफिल्डर– सुजल श्रेष्ठ, सुनील बल, हेमन्त थापामगर, नीतिन थापा, सेसेहाङ आङदेम्बे, तेज तामाङ
स्ट्राइकर– विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, अञ्जन विष्ट