मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ०७:२६:००
Read Time : < 1 मिनेट
अर्थ

व्यावसायिक भेडा–च्यांग्रा पालनमा सरकारी अनुदान 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०७:२६:००

अर्थमन्त्री डा. युवराज खतिवडाले व्यावसायिक भेडा–च्यांग्रापालन गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन् । गलैँचा तथा पस्मिनाका लागि आवश्यक कच्चा पदार्थ नेपालमै उत्पादन गर्ने गरी भेडा–च्यांग्रा पाल्न उनले व्यवसायीलाई आग्रह गरेका हुन् । काठमाडौंमा सोमबार नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको दोस्रो वार्षिक साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् । 

‘तपाईंहरू (गलैँचा र पस्मिना व्यवसायी)ले विदेशबाट कच्चा पदार्थका रूपमा भेडा र च्यांग्राका ऊन ल्याउनुहुन्छ,’ उनले भने, ‘नेपालमै भेडा–च्यांग्रा उत्पादन गर्न सकिए एकातर्फ गलैँचा र पस्मिनालाई ऊन उपलब्ध हुन्छ भने अकार्तफ मासु पनि आउँछ ।’ भेडा–च्यांग्रापालनका लागि आवश्यक जग्गा उपलब्ध गराउन तथा प्रविधि र पुँजीको सहयोग गर्न सरकार तयार रहेको उनले बताए । 

यसअघि सोही कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि नेपालमा व्यावसायिक रूपमा भेडा–च्यांग्रापालनको थालनी हुनुपर्ने बताएका थिए । ‘गलैँचा उत्पादक तथा निकासीकर्ताले सामूहिक रूपमा वा संघका माध्यमबाट व्यावसायिक भेडा–च्यांग्रापालन गर्नुपर्छ,’ उनले भने । सोही अवसरमा अर्थमन्त्री खतिवडाले निर्यातमा दिइने नगद अनुदानलाई बढाउन सरकार तयार रहेको समेत बताए । निर्यात हुने उत्पादनमा मूल्य अभिवृद्धि बढाएमा नगद अनुदान बढाउन सरकार तयार रहेको उनले बताए । ‘यसअघि ३ प्रतिशतको नगद अनुदानलाई बढाएर ५ प्रतिशत पुर्‍याइएको छ,’ उनले भने, ‘तपाईंहरू निर्यात हुने उत्पादनमा मूल्य अभिवृद्धि बढाएर ७० प्रतिशत नघाउनुस्, सरकारले सोहीअनुसार निर्यातमा नगद अनुदान बढाउनेछ ।’