मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २६ मंगलबार १०:२४:००
Read Time : > 3 मिनेट
अर्थ

२ लाख हेक्टरमा रोपाइँ नै भएन सवा लाख हेक्टरको खेतीमा क्षति 

Read Time : > 3 मिनेट
२०७६ कार्तिक २६ मंगलबार १०:२४:००

धानमा बाढी, नक्कली बिउ र फौजी किराको असर, ५ लाख मेट्रिकटन कम फल्ने 


नेपालमा १५ लाख हेक्टरभन्दा बढी धानखेतीयोग्य जमिन छ । त्यसमध्ये यो वर्ष समयमा पानी नपर्दा १३ लाख हेक्टरमा मात्र रोपाइँ भयो । कम रोपाइँ भएको  वर्षमै बाढी पसेको, नक्कली बिउ तथा फौजी किराको संक्रमणका कारण ५९ हजार २ सय ८६ हेक्टर जमिनको खेतीमा क्षति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको तथ्यांकअनुसार ३७ हजार ४ सय ६६ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा बाढीले क्षति गरेको छ । त्यस्तै २० हजार ४ सय १४ हेक्टर क्षेत्रफलको धानबाली फौजी किराको आक्रमणमा परेको छ भने १ हजार ४ सय ६ हेक्टरमा नक्कली बिउका कारण बाला नै नलागेको मन्त्रालयले जनाएको छ । नेपालमा धानको उत्पादकत्व ३.७ टन प्रतिहेक्टर छ । यो तथ्यांकअनुसार चालू वर्षमा ४ लाख ८१ हजार ५ सय ९९ मेट्रिकटन धान कम फल्ने प्रक्षेपण गरिएको छ ।

गत वर्ष इतिहासमै सबैभन्दा बढी ५६ लाख १० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । तर, गत वर्षको तुलनामा यो वर्ष करिब ७० हजार कम क्षेत्रफलमा रोपाइँ भएको छ । मन्त्रालयको प्रारम्भिक अध्ययनअनुसार दुई वर्षअघिकै स्थितिमा धान उत्पादन हुने देखिएको छ । आव ०७४/७५ मा ५१ लाख ५१ हजार मेट्रिकटन धान उत्पादन 
भएको थियो ।  

रोपाइँ सकिन लाग्दा बाढी पस्यो
साउन अन्तिम साता भारी वर्षाका कारण धान लगाएको ३७ हजार ४ सय ६६ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ । मन्त्रालयका अनुसार धान उत्पादन धेरै हुने तराईका जिल्लाहरू रौतहटमा १६ हजार १ सय ८० हेक्टर, बारामा १५ हजार हेक्टर, पर्सामा ३ सय ३८ हेक्टर, सिराहामा ७ सय हेक्टर, सप्तरीमा ३ हजार १ सय २५ हेक्टर, महोत्तरीमा १ सय ५० हेक्टर र सर्लाहीमा २ सय हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । त्यसैगरी सबैभन्दा धेरै धान उत्पादन हुने झापामा १ हजार ७ सय ७६ हेक्टरमा क्षति पुगेको छ । झापामा ६९ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । 

नक्कली बिउका कारण बाला लागेन
उत्पादन क्षमता बढी भएको र छिटो फल्ने धान भन्दै पश्चिम तराईका जिल्लामा गरिमा जातको धान रोपिएको थियो । भारतको हैदराबादबाट आयात गरिएको उक्त धान कात्तिक महिना लाग्दासमेत बाला नलागेपछि किसान चिन्तित छन् । मन्त्रालयका अनुसार ९ जिल्लाको १४ सय ६ हेक्टर क्षेत्रफलमा लगाइएको उक्त बालीमा क्षति पुगेको छ । गरिमा जातको धान कञ्चनपुर, कैलाली, बाँके र बदिर्या, दाङ,  कपिलवस्तु, तनहुँ, नवलपरासी र चितवनमा लगाइएको थियो । समयमै बाला नलागेकाले उक्त धान नफल्ने भन्दै मन्त्रालयको प्रारम्भिक अध्ययनले क्षति भएको उल्लेख गरेको छ । गरिमा भन्दै लगाइएको उक्त धान नक्कली भएको पुष्टि भइसकेको छ । राष्ट्रिय बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रले नमुना संकलन गरी कृषि अनुसन्धान परिषद् (नार्क) मार्फत डिएनए परीक्षण गराउँदा उक्त धानको बिउ गरिमा जातको नभएको पुष्टि गरेको थियो । 

फौजी किराले २० हजार हेक्टरको धान खायो
बाला लाग्नै लागेको धानमा यो वर्ष मिथिम्ना सेपेरेटा (फौजी) किराको संक्रमण फैलिएको छ । पश्चिम तराईका ९ जिल्लाको २० हजार ४ सय १४ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा फौजी किराको आक्रमणबाट क्षति पुगेको मन्त्रालयको भनाइ छ । फौजी किराले बाला लाग्नै लागेको अवस्थामा धानको बाला काटेको र बाला नलागेको धानको बोट नै काटेको बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले जानकारी दिए । ‘मिथिम्ना सेपेरेटा भन्ने किरा हो । यो रैथाने किरा हो । यसलाई फौजी भन्न मिल्छ,’ उनले भने, ‘यसले पायो भने बाला काट्छ । नपाए बोट काट्न थाल्छ । हामीले अध्ययन गरेका ठाउँहरूमा यस्तै भेटियो ।’

उत्पादन घट्दा आर्थिक वृद्धिदरमा असर
कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । नेपालको कृषि क्षेत्रमा धानको मात्रै २० प्रतिशत योगदान छ । त्यसैले धान उत्पादनले समग्र जिडिपीमै प्रत्यक्ष सरोकार राख्ने गर्छ । धान उत्पादन घट्दा मुलुकको आर्थिक वृद्धिदरलाई नै असर पार्ने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री बताउँछन् । ‘परार सबैभन्दा बढी धान उत्पादन भएको भन्दै सरकारले खुसीयाली मनाउँदासमेत अर्बौँको चामल आयात भएको छ,’ क्षत्रीले भने, ‘यस वर्ष कम उत्पादन हुने देखिएको छ । यसले एउटा त आयात गर्नैपर्ने हुन्छ । नत्र वैशाख, जेठ लागेपछि चामलको हाहाकार हुन्छ, ।’

 चामल आयात बढ्दो
भन्सार विभागको तथ्यांकअनुसार चामलको आयात बढ्दै गएको छ । आर्थिक वर्ष ०७३/७४ मा १८ अर्ब ७७ करोडको चामलको आयात भएकोमा आव ०७४/७५ मा २२ अर्ब ८२ करोड ४८ लाखको चामल आयात भएको थियो । गत आव ०७५/७६ मा २४ अर्ब ६३ करोड ३ लाख ५७ हजार रुपैयाँबराबरको चामल आयात भएको थियो । 

कृषिसचिव युवकध्वज जिसी भन्छन्– क्षतिको भरपाई हुन्छ 
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले प्रतिहेक्टर ३.७ मेट्रिकटन उत्पादकत्व भए पनि फरक स्थानअनुसार उत्पादनमा थपघट हुने भएकाले धेरै क्षति नहुने आपेक्षा गरिएको बताए । ‘धानको बिउअनुसार प्रतिहेक्टर ५ मेट्रिकटनसम्म पनि धान फल्छ,’ उनले भने, ‘त्यस हिसाबले उत्पादन पोहोरको तुलनामा घट्छजस्तो लाग्दैन । बढी उत्पादकत्व हुने क्षेत्र र बिउले त्यो रिकभर गर्छ, ।’

धानको उत्पादन स्थितिबारे अध्ययन गर्न मन्त्रालयले सातै प्रदेशमा टोली खटाउन लागेको र अध्ययनपछि मात्रै कतिले घट्यो भन्ने वास्तविक तथ्यांक भन्न सकिने उनले बताए ।  गरिमा धानबाट भएको क्षतिको पनि उचित भरपाई हुने उनको भनाइ छ । ‘किसानलाई मार्का परेको छ । त्यो मार्कालाई परिपूर्ति गर्नुपर्छ । अहिलेको प्रावधानअनुसार भारतमा भएको उत्पादक कम्पनी र आयात गर्ने कम्पनीबाटै भराउने भन्ने छ,’ उनले भने, ‘सोहीअनुसार हामीले सिफारिस गर्ने हो ।’