मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
क्रिस किल्लिजा
२०७६ कार्तिक २६ मंगलबार ०७:४४:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

ब्लुम्बर्गको उम्मेदवारी र ट्रम्पको हैरानी 

Read Time : > 1 मिनेट
क्रिस किल्लिजा
२०७६ कार्तिक २६ मंगलबार ०७:४४:००

ब्लुम्बर्गको चुनावी दौडले ट्रम्पलाई जति हैरान बनाउनेछ, त्यति अन्य उम्मेदवारका कारण हुनेछैन 

संसार नियाल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामान्य चस्मा छ– तिमी जति धेरै धनी र प्रसिद्ध हुन्छौ, त्यति राम्रा हुन्छौ । अहिले न्युयोर्क सहरका पूर्वमेयर माइकल ब्लुम्बर्ग डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका आकांक्षी छन् । ब्लुम्बर्ग धेरै धनी छन् र धेरै प्रसिद्ध पनि । फोर्ब्सका अनुसार मिडिया सम्राट् ब्लुम्बर्गको कुल सम्पत्ति ५१ बिलियन डलरभन्दा माथि छ र उनी अमेरिकाका सर्वाधिक धनाढ्यमध्ये आठौँ स्थानमा छन् । यस सूचीमा ट्रम्प २७५औँ स्थानमा छन् । उनको सम्पत्ति झन्डै ३.१ बिलियन डलर छ । 

ब्लुम्बर्गले मनकारी भएर परोपकारमा गरेको खर्चले उनलाई राष्ट्रिय सेलेब्रिटी बनाएको छ । ब्लुम्बर्ग अब ट्रम्पसँग आफ्नो तुलना हुने गरी अघि बढेका छन् । सन् २०१६ मा डेमोक्रेटिक पार्टीको राष्ट्रिय भेलामा उनले भनेका थिए– अहिले हामीले यस अभियानमा व्यवसाय बुझेको नेता चाहिन्छ भन्नेबारे धेरै कुरा सुन्यौँ । मैले आफ्ना बाबुसँग दसौँ लाखको चेक लिएर बिजनेस सुरु गरेको होइन । निजी क्षेत्रमा हासिल गरेको सफलताकै कारण मैले अमेरिकाको ठूलो सहरलाई १२ वर्ष हाँक्ने अवसर पाएँ, त्यो पनि यसको विध्वंसपछिको समयमा ।

मेरो अनुमानमा ब्लुम्बर्गले अब यस्तो भन्न सक्छन्– अहिलेका राष्ट्रपतिजस्तै म पनि व्यापारी हुँ । म उनीभन्दा धेरै सफल छु, धेरै स्थिर र धेरै–धेरै धनी । यस्तो सन्देश डोनाल्ड ट्रम्पसमक्ष जाँदैन भनेर सोच्नुहुन्छ भने तपाईंले ट्रम्पलाई राम्रोसँग बुझ्नुभएको छैन ।

ट्रम्पले सम्पत्तिका विषयमा गरेको ट्रोलकै कारण ब्लुम्बर्ग डेमोक्रेटिक पार्टीबाट नछानिए पनि जति धेरै ट्रम्पले ब्लुम्बर्गलाई ध्यान दिन्छन्, त्यति नै डेमोक्रेट्सको नजरमा उनी पर्नेछन्
 

ट्रम्पको मस्तिष्कमा ब्लुम्बर्ग छन् भन्ने पर्याप्त प्रमाण अहिल्यै हामीले पाइसकेका छौँ । जुलाई २०१६ मा ट्रम्पले ट्विट गरेका थिए— साना माइकल ब्लुम्बर्ग, जसलाई कहिल्यै राष्ट्रपतिमा लड्ने साहस थिएन । उनी मेरा बारे केही जान्दैनन् । उनले अगाडि थपेका थिए– मेयरका रूपमा उनको पछिल्लो कार्यकाल विध्वंस थियो । यसपछि ट्रम्पले फेरि अर्को ट्विट गरे— यदि माइकल ब्लुम्बर्ग फेरि न्युयोर्क सहरको मेयरमा लडे भने उनले १० प्रतिशत भोट पनि पाउँदैनन् । जनताले उनलाई सहरबाटै भगाउनेछन् ।

ब्लुम्बर्गको सम्भावित उम्मेदवारीका विषयमा सोधिएको प्रश्नमा शुक्रबार बिहान ट्रम्पले भने— उनी केही पनि बन्न सकेनन् । उनले राम्रो गर्नेवाला छैनन् । उनीसँग राम्रो गर्न सक्ने जादु छैन । उनले थपे— लिटिल माइकलले धेरै पैसा खर्चनेछन् । उनीसँग केही व्यक्तिगत समस्या र केही अरू समस्या छन् ।

ट्रम्पले केवल सम्पत्तिका विषयमा गरेको ट्रोलकै कारण ब्लुम्बर्ग डेमोक्रेटिक तर्फबाट छानिनेवाला छैनन् । तर, जति धेरै ट्रम्पले ब्लुम्बर्गलाई ध्यान दिन्छन्, त्यति नै धेरै डेमोक्र््याट्सको नजरमा उनी पर्नेछन् । आगामी वर्ष राष्ट्रपतीय निर्वाचनमा सम्भावित बहस र तर्क यस्तो हुन सक्छ– तपाईंले ट्रम्पको व्यापारिक पृष्ठभूमि मन पराउनुभयो ? ठिक छ, मसँग पनि त्यस्तो छ । तर, म उनीभन्दा धेरै सफल छु र उनको दाँजोमा म धेरै ठिक छु । 

तर, यस्ता तर्क गर्न ब्लुम्बर्ग आमनिर्वाचनका लागि डेमोक्रेटिक पार्टीबाट छानिनुपर्छ, अहिलेको अवस्थामा यो दूरदृष्टि हो । उनको उम्मेदवारी कसरी अघि बढ्छ र यसले कस्तो आकार लिन्छ भन्ने अनिश्चित छ । तर, यो तथ्य धेरै स्पष्ट छ, ब्लुम्बर्गको गम्भीर चुनावी दौडले ट्रम्पलाई जति हैरान बनाउनेछ, त्यति अन्य उम्मेदवारका कारण हुनेछैन । 
(लेखक सिएनएनका राजनीतिक रिपोर्टर तथा एडिटर–एट–लार्ज हुन्)
सिएनएन डट कमबाट