मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ०९:३८:००
Read Time : > 1 मिनेट
सम्पादकीय

व्यापारमा  सिमेन्टको शिक्षा

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०९:३८:००

सम्पादकीय

आफूले व्यापारिक सम्बन्ध कायम गरेका देशमध्ये लगभग सबैजसोसँग नेपालको व्यापार घाटामा छ । हामी बेसाउँछौँ बढी, बेच्छौँ कम । बेच्नका लागि पहिले आफूलाई पुग्ने गरी मनग्गे उत्पादन हुनुपर्‍यो । त्यसपछि थप उत्पादन गर्न सके उब्रेको बिक्री गर्ने हो । तर, हामीकहाँ भने भान्सादेखि नै उपभोगका सामग्री विदेशबाट हुने आयातले धानेका छन् । आफ्नै उत्पादनले पुग्न छाडेको छ । भाउ बेसाहा महँगो हुँदै जाँदा हाम्रो पैसाको मूल्य पनि घटेको छ । तर, यस्तो कम मूल्यको पैसा भएको देशसँग पनि बेच्ने कुरा नभएकाले हामीले जहिल्यै व्यापार घाटा बढाउँदै लगेका छौँ । यो महिना आएका केही सूचकले भने हामी यसलाई उल्ट्याउन पनि सक्छौँ भन्ने सन्देश दिएका छन् । पहिलो हो, यस आर्थिक वर्षको पहिलो तीन महिनामा आयात केही घटेको छ र पहिलेको तुलनामा निर्यात न्यूनतम रूपमा बढेको छ । आयात घट्नुमा निर्माण सामग्रीको आयात भार घट्नुलाई कारण मानिएको छ । यही समयमा आएको अर्को सूचना भनेको नेपाल सिमेन्टमा आत्मनिर्भर बनेको छ । सिमेन्ट बनाउने क्लिंकर उत्पादनमा पनि आत्मनिर्भर बन्ने तरखरमा नेपाल उक्लेपछि यसको आयात घटेको हो ।

समग्रमा आयात घट्नुमा सिमेन्टको पर्याप्त उत्पादन एउटा कारण बनेको छ । यससँगै नेपाली बजारमा सिमेन्टको भाउसमेत घटेको छ । सिमेन्टको उत्पादन नेपाली कच्चा पदार्थमा आधारित छ । एकपटक उद्योग स्थापना गर्न आवश्यक पर्ने मेसिनरी खरिद गरेर उत्पादन आरम्भ गरेपछि एउटा आन्तरिक चक्र निर्माण हुन्छ । यो चक्रले आन्तरिक स्रोत उपयोगमा आधारित वस्तु उत्पादनलाई सघाउँछ । रोजगारी पनि सिर्जना गर्छ र बजारमा अरू वस्तुको मागलाई समेत बढाउँछ ।

पूर्ण क्षमतामा उत्पादन गर्ने हो भने नेपाली सिमेन्ट निर्यातको युगमा प्रवेश गर्नुका साथै आयात घट्ने, आयातै नहुने र निर्यातसमेत गरेर विदेशी पैसा आर्जन गर्ने बाटो खुल्नेछ
 

पछिल्लो समय सिमेन्टमा आत्मनिर्भर हुँदै जानुमा देशभित्रकै बढ्दो मागलाई ध्यान दिएर आन्तरिक लगानी बढाउन यहाँका उद्यमी प्रोत्साहित हुनु र ठुलो आकारको वैदेशिक लगानी आकर्षित हुनु पनि हो । यही वेला भूकम्पपछिको पुनर्निर्माणको एउटा चरण पूरा भएको र पूर्वाधारका ठुला परियोजना पनि नथालिएकाले अब नेपाली सिमेन्टले पूर्ण क्षमतामा उत्पादन गर्ने हो भने आफ्नो गुणस्तर बढाउने र बाह्य बजारमा निर्यातका लागि प्रतिस्पर्धा गर्दै बजार खोज्नुपर्नेछ । यस्तो भयो भने नेपाली सिमेन्ट निर्यातको नयाँ युगमा प्रवेश गर्नेछ । यसपछि आयात घट्ने, आयातै नहुने र निर्यातसमेत गरेर विदेशी पैसा आर्जन गर्ने बाटो सिमेन्टले पनि खोल्नेछ । नेपाली अर्थतन्त्रको विकास र संरचनागत परिवर्तनका लागि यो एउटा कोसेढुंगो सावित हुन सक्छ ।

लामो समयदेखि हामीले निर्यात बढाउने अनेक नारा दियौँ । आफूसँग नभएको कच्चापदार्थमा आधारित रहेर कार्पेट, गार्मेन्ट र पस्मिना निर्यात गर्न खोज्यौँ, तर सबै थला पर्दै गए । आफैँले उत्पादन गर्न सक्ने जुटबाट पनि हामी अघि लागेनौँ । आफ्नै उखुखेतीको सम्भावनालाई पनि दलाल पुँजीपति र व्यापारीको नियन्त्रणमा घचेटेर थला पार्दैै छौँ । अब समय आएको छ, नेपालमा जे–जे कच्चापदार्थमा तुलनात्मक लाभ छ, त्यसको उत्पादनमा केन्द्रित भएर नीतिगत व्यवस्थापन गरौँ । आन्तरिक लगानीलाई त्यता प्रोत्साहित गरांँै । वैदेशिक लगानीका लागि बाटो खुला गरौँ र निर्यात बढाऔँ । सिमेन्ट उत्पादनमा आएको अहिलेको फड्कोबाट शिक्षा लिएर अघि बढ्न ढिलो नगरौँ ।