२०७६ कार्तिक २६ मंगलबार ०७:२७:००
एंगस बरविक

मोरालेसको राजीनामाले निम्त्याएको प्रश्न 

बोलिभियाका राष्ट्रपति इभो मोरालेस दक्षिण अमेरिकामा छाएको ‘गुलाबी लहर (पिंक वेभ)’बाट उदाएका वामपन्थी नेतामध्ये सत्तामा रहिरहने सम्भवतः अन्तिम नेता थिए । आइतबार उनले पनि बोलिभियाको राष्ट्रपति पदबाट राजीनामा दिएका छन् । मोरालेसको राजीनामालाई लिएर ल्याटिन अमेरिकी क्षेत्रका नेता दुई धारमा विभाजित भएका छन् । उनको राजीनामालाई भेनेजुएलादेखि अर्जेन्टिनासम्मका राष्ट्रपतिले ‘कु’ भन्दै आलोचना गरेका छन् । त्यस्तै, अर्को धारका सरकारले भने मोरालेस सत्ताच्युत भएकोमा खुसी व्यक्त गरेका छन् । मोरालेस बोलिभियाको आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो व्यक्ति हुन् । उनले १४ वर्ष शासन गरे । अघिल्लो महिना अक्टोबरमा सम्पन्न राष्ट्रपति निर्वाचन परिणाम मोरालेसको पक्षमा पार्न अनियमितता भएको आशंकामा क्रुद्ध विपक्षी दलले हप्तौँदेखि बोलिभियामा विरोध प्रदर्शन गरिरहेका थिए । विरोध प्रदर्शनमाझ आइतबार बोलिभियाको सेना र प्रमुख राजनीतिक सहयात्रीले उनलाई सरकार छाड्न आह्वान गरे । 

मोरालेसको राजीनामापछि ल्याटिन अमेरिकाका दक्षिणपन्थी सरकारले आगामी दिनमा बोलिभियाले विधिको शासनलाई सम्मान गर्दै अघि बढ्नुपर्ने बताएका छन् । त्यस्तो माग गर्नेमा कोलम्बिया र पेरु पनि छन् । ब्राजिलका उग्र–दक्षिणपन्थी राष्ट्रपति जेइर बोल्सोनारोले त अझ मोरालेसको पतनमा खुसी नै व्यक्त गरेका छन् । उता, आफ्नो देशमा राजनीतिक संकट बेहोरिरहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले मित्र शक्तिलाई मोरालेसको पक्षमा परिचालन हुन आह्वान गरेका छन् । मदुरोका पूर्ववर्ती समाजवादी नेता ह्युगो चाभेज मोरालेसका राजनीतिक गुरु नै थिए । ‘हामीले हाम्रा भाइ मोरालेसको पक्षमा लाग्नुपर्छ । मोरालेसलाई बचाउनका लागि हामीले विरोध जनाउनुपर्छ,’ भेनेजुएलाको सरकारी टेलिभिजनमा प्रसारण भएको मदुरोका रेकर्डेड सम्बोधनमा भनिएको थियो । 

पछिल्लो समय मेक्सिको र अर्जेन्टिनामा वामपन्थीले सरकार बनाएपछि संकटमा फस्दै गएका मदुरोलाई मनोवैज्ञानिक बल मिलेको थियो । तर, मोरालेसको राजीनामाले भेनेजुएलाका नेतालाई पनि अप्ठ्यारोमा पार्न सक्छ । भेनेजुएलाका विपक्षीले लामो समय सञ्चालन गरेको देशव्यापी प्रदर्शन असफल भएपछि तिनले सेनालाई मदुरोविरुद्ध उभ्याउन अभियान चलाउँदा पनि मदुरो हालसम्म सत्तामा टिकिरहेका छन् । यस्तो समयमा बोलिभियामा विकसित पछिल्लो घटनाक्रम मदुरोका लागि सकारात्मक मान्न सकिँदैन । मोरालेसका अर्का पक्का मित्रराष्ट्र क्युवाका राष्ट्रपति म्यानुअल डियाज–क्यानेलले पनि ट्विट गर्दै मोरालेसप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।  म्यानुअलले भनेका छन्, ‘मोरालेसको जीवन र स्वतन्त्रताको रक्षाका लागि विश्व लाग्नुपर्छ ।’

भेनेजुएला, अर्जेन्टिना, मेक्सिको र क्युवाका सरकारले मोरालेसप्रति ऐक्यबद्धता जाहेर गरेका छन् भने कोलम्बिया र ब्राजिल सरकारले उनको राजीनामालाई स्वागत गरेका छन् 

मेक्सिको सरकारले बोलिभियाको राजनीतिक अवस्थालाई सैन्यकारबाही भन्दै त्यसलाई नस्विकार्ने बताएको छ । उसले ‘कुनै प्रकारको कु’ हुन नहुने प्रतिक्रिया दिएको छ । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रर्डले मोरालेसले चाहेमा आफूहरू उनलाई राजनीतिक शरण दिन तयार रहेको पनि बताए । मेक्सिकोको प्रस्ताव सम्बन्धमा मोरालेसले हालसम्म कुनै जवाफ दिएका छैनन् । ल्याटिन अमेरिकाको तेस्रो ठूलो अर्थतन्त्र अर्जेन्टिनामा अघिल्लो महिना सम्पन्न राष्ट्रपति निर्वाचनमा भारी मतले विजयी हुने वामपन्थी नेता अल्बर्टो फर्नान्डेज पनि बोलिभियाको पक्षमा उभिएका छन् । फर्नान्डेजले बोलिभियाली राजनीतिक घटनाक्रमलाई संरचनात्मक पतन भनेका छन् र त्यो अस्वीकार्य रहेको बताएका छन्  । 

आइतबार मोरालेस नयाँ निर्वाचन गराउन सहमत भएका थिए । त्यसअघि ‘अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस)’ले एक रिपोर्ट जारी गरेर अक्टोबर २०को निर्वाचनमा गम्भीर अनियमितता भएको बताएको थियो । ओएएसको रिपोर्टमा निर्वाचनको समयमा भोटिङ प्रणालीमा ‘स्पष्ट धाँधली’ भेटिएकाले अक्टोबरको मत–परिणाम रद्द गर्नुपर्ने भनिएको थियो । अनियमितताको प्रमाणले गर्दा विपक्षी नेता कार्लोस मेसाविरुद्ध मोरालेसले हासिल गरेको १० पोइन्टको अग्रताप्रति प्रश्न उठेको रिपोर्टको निष्कर्ष थियो । ब्राजिलको सरकारले छिमेकी बोलिभियाको लोकतान्त्रिक संक्रमणको समर्थन गर्ने बताएको छ । ब्राजिलले बोलिभियामा ‘कु’ भएको भन्ने वामपन्थीको आरोपलाई समेत खण्डन गरेको छ । ब्राजिलका विदेशमन्त्री एर्नेस्टो अरुजोले ठूलो चुनावी धाँधली गर्ने प्रयास गरेर इभो मोरालेसले आफ्नो वैधानिकता आफैँले अन्त्य गरेको टिप्पणी गरे । बोलिभियाले आमविरोध प्रदर्शनपछि राजीनामा दिएर मोरालेसले राम्रो गरेको ब्राजिलको आधिकारिक धारणा देखियो । विदेशमन्त्री अरुजोले एक ट्विटमार्फत बोलिभियाको लोकतान्त्रिक र संवैधानिक संक्रमणलाई आफूहरूले सक्दो सहयोग गर्ने बताए ।  

कोलम्बियाका विदेशमन्त्रीले ‘बोलिभियाली नागरिकले निर्वाचनमा स्वतन्त्र भएर अभिव्यक्त हुन सक्ने अवस्था’ प्रत्याभूत गर्न त्यहाँको सरकारी संस्था र राजनीतिक दललाई आह्वान गरेका छन् । बोलिभियामा विकसित अवस्थाबारे छलफल गर्न कोलम्बियाले ओएएसको स्थायी परिषद्को बैठक माग गरेको छ । मोरालेस सन् २००६ मा राष्ट्रपति बनेका थिए । उनी भेनेजुएलाका ह्युगो चाभेज, अर्जेन्टिनाका नेस्टर किर्चनर र ब्राजिलका लुइज इनासियो लुला दा सिल्भासँगै सत्तामा आएका थिए । शृंखलाबद्ध रूपमा ल्याटिन अमेरिकी देशमा वामपन्थी सरकार गठन हुनुलाई ‘गुलाबी लहर (पिंक वेभ) संज्ञा दिइएको थियो । त्यस लहरले एकातर्फ राज्यका संस्था पुनर्संरचना गर्‍यो  भने अकोतर्फ ती मुलुकका राजनीति भने तीव्र ध्रुवीकरण भएको देखिएको थियो । ल्याटिन अमेरिकामा लामो समय उपभोग्य वस्तुको मूल्य वृद्धि अन्त्य भएसँगै केही दक्षिणपन्थी कन्जरभेटिभ दल सत्तामा आए । तथापि, मेक्सिको र अर्जेन्टिनामा भने भ्रष्टाचार, असमानता र गरिबी बढ्दा उत्पन्न आक्रोशले अघिल्लो वर्ष कन्जरभेटिभ सरकारलाई वामपन्थी सरकारले विस्थापित गरेका थिए । त्यस्तै, पछिल्लो केही समययता इक्वेडर र चिलीका कन्जरभेटिभ सरकार पनि सडकमा उर्लिएका असन्तुष्ट प्रदर्शनकारीको सामना गरिरहेका छन् ।
रोयटर्सबाट

एंगस बरविक भेनेजुएलाका लागि रोयटर्सका संवाददाता हुन् ।