मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २५ सोमबार १२:१७:००
Read Time : > 1 मिनेट
प्रदेश

साहुको ऋण तिर्न नसक्दा सुकुम्बासी

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २५ सोमबार १२:१७:००

०२६ सालमा ऐरावती गाउँपालिका–२ हरियाटारीमा खुमबहादुर (रवीन्द्र) को जन्म भयो । उनी जन्मिएको केही वर्षमै हजुरबुबाले छिमेकी साहुसँग लिएको ऋण तिर्न नसक्दा भएभरको घरजग्गा र सम्पत्ति हडपेपछि राउत परिवारको उठिवास लाग्यो । वास बस्ने घरजग्गा नभएपछि उनी मावली गाउँ चेरनेटानजिक किट गाउँमा बस्न थाले । मावली गाउँमा पनि संरक्षण नभएपछि पछि उनी प्युठान नगरपालिकाको क्वाडीमा सानो टहरो बनाएर बस्न थाले । 

डुल्दै जीवन गुजारा चलाएका उनको दैनिक जिन्दगी उतारचढावमै बितेको छ । सुखदुःख गरी जीवन साटाँैला र बिताउँला भन्दै विवाह गरेका श्रीमतीले पनि साथ नदिएपछि उनी झन् पीडा र ताप सहन बाध्य बने । यसअघि दुई श्रीमतीले साथ छोडे । अहिले सरुमारानी गाउँपालिकाको कुडुलेबाट तिला राउतलाई बिहे गरेर सँगै जीवन बिताइरहेका छन् खुमबहादुरले । अहिले यो दम्पतीका तीन भाइ छोरा र एक छोरी छन् । एक छोरा नेपालगन्जमा बस्दै आएको र अरू दुई छोरा र एक छोरी आफूसँगै बस्दै आएको खुमबहादुरले बताए । 

दुई छोरा र एक छोरीले नजिकैको कार्कीडाडाँ विद्यालयमा पढ्छन् । खुमबहादुर)ले प्युठान नगरपालिका–३ को ठेगानाबाट नेपाली नागरिकता प्राप्त गरेका छन् । बुबा आमाको पनि जग्गा जमिन नहुँदै मृत्यु भएको र आफ्नो अवस्थासमेत उस्तै रहेको र छोराछोरीको अवस्था पनि उस्तै हुने खुमबहादुर बताउँछन् । 

मजदुरी गरेर गुजारा चलाउँदै राउतदम्पती 
राउतदम्पतीले दैनिक जिन्दगी मजदुरी गरेर चलाउँदै आएका छन् । खुमबहादुरले माछा मार्ने र उनकी श्रीमती तिला राउतले लेबर काम गरी परिवारको गुजारा चलिरहेको छ । सम्पत्तिको नाममा एउटा झुपडी चार सन्तान छन् । जग्गा जमिन र घरवास नहुँदा आफूहरूलाई बस्न समस्या भएको खुमबहादुर बताउँछन् । नगरपालिकाछेउमै सुकुम्बासीको रूपमा बस्दै आए पनि कतिवेला कसले लखेट्ने हो पत्तो छैन । जीवनको करिब ३० वर्षदेखि सुकुम्बासी जीवन बिताउँदै आएका यो परिवारलाई अहिलेसम्म कसैले सहयोग गरेको छैन । नगरपालिकानजिकै बस्दै आए पनि आफूहरूलाई कसैबाट सहयोग नभएको उनको गुनासो छ । उनले भने, ‘नगरपालिकामा सहयोगका लागि गयौँ । तर, अहिलेसम्म केही पाएका छैनाैं ।’ 

खुमबहादुर दमको बिरामी भएपछि पछिल्लो समय श्रीमतीले मात्रै आर्थिकको जोहो गर्दै आएकी छिन् । श्रीमती तिला भन्छिन्, ‘श्रीमान्ले पाल्ने वेला मैले आफैँ श्रीमान् र केटाकेटी पाल्नुपरेको छ ।’ राउत परिवारले बालबालिकाको पढाइ र सहयोगको लागि सबैसामु हारगुहार गरिरहेका छन् ।

जाडो मौसम सुरु भएसँगै यो परिवारलाई समस्या हुँदै आएको छ । चिसो मौसममा लगाउने र ओढ्ने ओछ्याउने कपडा नहुँदा समस्या परेको हो । जस्तापाताको छानामुनि चिसो भुइँमा बस्ने राउतको परिवारलाई चिसो बढेसँगै चुनौती थपिएको छ । आवश्यक कपडाहरू लगाउन नपाउँदा छोराछोरीहरू पढ्नसमेत नगएको खुमबहादुरले बताए । 

जन्मदिनको अवसरमा सुकुम्बासीलाई सहयोग     
यसैबीच, प्युठान नगरपालिका–४ जुम्रीका युवा सामाजिक अभियन्ता हरि बस्नेतले आफ्नो जन्मदिन सुकुम्बासी परिवारसँग मनाएका छन् । प्युठान नगरपालिकाको कार्यालयनजिकै खेलकुद मैदानमा टहरा बनाई बस्दै आएका सुकुम्बासी खुमबहादुर राउतको परिवारलाई बस्नेतले ओढ्ने कम्बल र म्याट प्रदान गरी जन्मदिन मनाएका हुन् । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुको सट्टा केही सामाजिक काम गर्ने उद्देश्यले सामग्री प्रदान गरेको बस्नेतले बताए । उनले जाडो मौसममा उपयोगी हुने गरी कम्बल र म्याट प्रदान गरेका हुन् ।