मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २५ सोमबार ११:५७:००
Read Time : > 1 मिनेट
प्रदेश

ऋणीलाई अभद्र व्यवहार गर्दा एक लाख जरिवाना

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २५ सोमबार ११:५७:००

अभद्र व्यवहारको आरोपमा पक्राउ परेका जिल्ला अदालत महोत्तरीका खरिदार राजकरण साह एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । साहसहित दुईजनाले २७ असोजमा एक महिलामाथि अभद्र व्यवहार (लछार–पछार) गरेका थिए ।

भंगहा नगरपालिका– ३ की रिना सदालाई अभद्र व्यवहार गरेको आरोपमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भंगहा– ६ का साह र सोही ठाउँका रघुवीर साहलाई एक/एक लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएका हुन् । आरोप प्रमाणित भए उनीहरूलाई एक वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने प्रजिअ खत्रीले जानकारी दिए ।

लेनदेनमा विवाद 
राजकरण साह जिल्ला अदालत महोत्तरीका खरिदार पदमा कार्यरत कर्मचारी हुन् । उनको जग्गामा रिना (पीडित महिला) र अन्य मुसहरले बस्ती बसाएका छन् । राजकरण र मुसहरहरूबीच गत वर्षदेखि नै जग्गासम्बन्धी विवाद चल्दै आएको प्रहरीले जनाएको छ । रिनाका श्रीमान् किसुन सदाले आरोपी राजकरणलाई उक्त बस्ती रहेको जग्गा नामसारी गर्न एक लाख ५० हजार दिएका थिए । तर, राजकरणले जग्गा नामसारी नगरी उल्टै ठाउँ खाली गर्न दबाब दिएपछि प्रहरीको समेत सहभागितामा पटक–पटक छलफल भइसकेको छ । सोही जग्गाको झगडामा आरोपीले रिनालाई ‘जग्गा खाली गर्’ भन्दै लछार–पछार गर्दै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । 

खरिदार साह एजेन्ट र साहु
अभद्र व्यवहारको आरोप खेपिरहेका राजकरण साह गाउँमा आर्थिक लेनदेन गर्ने साहु हुन् । जिल्ला अदालतको तथ्यांकअनुसार उनका लेनदेनसम्बन्धी ६ वटा मुद्दा चलिरहेका छन् । सबै मुद्दामा उनले प्रमाणको रूपमा तमसुक पेस गरेका छन् । उनले भंगहाकै लालबहादुर चौधरी, सुनिता देवी, रामतोला देवी, चन्देश्वर महरा, ओपिन्द्र महरा र महेन्द्र चमारमाथि लेनदेनको मुद्दा हालेका छन् । 

उनी वैदेशिक रोजगारीका एजेन्टसमेत भएका स्थानीयको भनाइ छ । उनले विदेश जानेलाई तमसुक बनाई चर्को ब्याजदरमा ऋण दिने गरेको पीडित बताउँछन् । उक्त तमसुककै आधारमा राजकरणले ब्याज खाने तथा ब्याज दिन नसक्ने वा ब्याज र साँवा तिरेकाहरूसँग पनि पैसा नदिएको भनी अदालतमा मुद्दा हाल्ने गरेको पीडितहरूको गुनासो छ ।