२०७६ कार्तिक २५ सोमबार ०९:०३:००
युवराज भट्टराई

दास कोरल्ने सत्ता

सत्ता, बौद्धिकभन्दा रेमिट्यान्स आयातकलाई बढी रुचाउँछ किनभने हरेक सत्तासँग आफूअनुकूल राज्य सञ्चालनको खुफिया बुद्धि हुन्छ

दासोत्पादन
सन् १९३८ मा एलेक्स हक्सलेको एउटा उपन्यास छापिएको थियो– ‘द बे्रभ न्यु वल्र्ड’ । विज्ञानले चरम चामत्कारिक प्रगति गरेको ‘आदर्श राज्य’को कल्पना गरिएको छ, त्यहाँ । यो नवीन जगत्मा एउटा पनि बालबालिका जन्माइँदैन । सेन्ट्रल लन्डन ह्याचरीमा ट्युब र इन्क्युवेटरमा भ्रूण राखेर जम्मा आठ मिनेटको रासायनिक प्रक्रियाबाट वयस्क मानिस नै कोरलिन्छ । यो नवीन जगत्मा एकै किसिमका मानिस भने कोरलिँदैनन् । ह्याचरीमा एकाध ‘अल्फा’ वर्गका मानिस निकालिन्छन् । यी शासक हुन् ।

शारीरिक र मानसिक विकासलाई ध्यान दिँदै आवश्यक हर्मोन दिएर तिनलाई तयार पारिन्छ । यसै प्रकारले निश्चित हर्मोन मिसाउँदै आवश्यक मात्रामा सैनिक, वैज्ञानिक, डाक्टर, इन्जिनियर आदि उत्पादन गरिन्छ । अझ रोचक, त्यहाँ धेरैभन्दा धेरै ‘इप्सिलन’ वर्गका मानिस कोरलिन्छ । ‘इप्सिलन’ दास वर्ग हो । यो वर्गको शारीरिक र मानसिक विकास पनि त्यहीअनुसार गरिएको हुन्छ । यिनको काम भनेकै सत्ताको आज्ञा शिरोपर गर्नु हो । यिनको बौद्धिक चेतना शून्य हुन्छ, राम्रो–नराम्रो, ठीक—बेठीक छुट्याउन सक्दैनन् । 

यो त भयो हक्सलेको स्वैरकाल्पनिक अत्याधुनिक ‘आदर्श राज्य’ । हक्सेलेको राज्यले जस्तो हाम्रो ‘आदर्श राज्य’ले एकाध—दुई ‘अल्फा’ वर्गका शासक निर्माण ग¥यो या गरेन वा अन्य आवश्यक मात्रामा वैज्ञानिक, लेखक, दार्शनिक, कलाकार जन्मायो या जन्माएन ठयाक्कै भन्न सकिन्न, तर यसले आवश्यकताभन्दा अधिक दास भने पैदा गरेको छ । इतिहासदेखि आजसम्म यसले ह्याचरीबाट चल्ला कोरलेजस्तो असंख्य दास कोरलेको–कोरल्यै छ । आवश्यक हर्मोन सकिएर हो या ‘इप्सिलन’ वर्गबाहेक अरू वर्गको आवश्यकता नभएर हो, यसले फगत दास मात्र कोरल्दै आएको छ । 

दासार्थ 
‘दास’ भनेकोे अंगे्रजी ‘स्लेभ’को नेपाली अनुवाद होइन । दास भन्नाले ‘परम भक्त’ वा कसैप्रति मन, वचन र कर्मले समर्पित व्यक्ति बुझिन्छ । अथवा कथित प्रभुको चरणकमलमा प्रभुप्रति जीवन नै अनुगृहीत गरेको, प्रभुलाई नै एक मात्र अन्तिम सत्यको रूपमा लिने परम अन्धभक्त नै दास हो । दास र नोकरमा फरक छ । दासको प्रभुप्रति रिस–राग हुँदैन, द्वेष हुँदैन, शंका–उपशंका हुँदैन । उसले त प्रभुको अन्याय, अत्याचार, छल र चरित्रहीनतालाई ‘लीला’को उपमा धसिदिन्छ । अंग्रेजीको ‘स्लेभ’ भन्दा संस्कृतको ‘दास’ एकदमै भिन्न छ । ‘स्लेभ’लाई बाह्य शक्ति लादिन्थ्यो, नियन्त्रणमा लिइन्थ्यो । जबर्जस्ती काममा लादिन्थ्यो । 

दास निर्माण प्रक्रिया अलिकति फरक हन्छ । कसैले खुकुरी या बन्दुक तेस्र्याएर दास बनाउँदैन । डर त्रास र धम्की दिँदैन । बरु जतिसुकै ढोँगी र पाखण्डी किन नहोस् फुकोकै शब्द सापट लिएर भन्नुपर्दा उसले ‘गतिला डिस्कोर्स सिर्जदैँ आफैँलाई एक मात्र सत्यको रूपमा स्थापित गर्छ ।’ उसका डिस्कोर्सबाट मोहित हुनेहरू स्वस्फूर्त उसका दास बन्न जान्छन् । उसलाई सर्मथन मिल्छ र शक्ति पनि । त्यसैले प्रभुले दास बनाउन बल प्रयोग गर्दैनन् । बरु एन्टोनियो ग्राम्सीले भनेजस्तो ‘प्रभु’ र दासको सम्बन्ध पनि प्रभुत्वले निर्धारण गरिदिन्छ । कुनै कष्टविना नै ऊ सजिलै दास बनिहाल्छ । ‘दास’–‘प्रभु’ सम्बन्धबारे त्यस्तो प्रस्ट सैद्धान्तिक दृष्टिकोण छैन । यद्यपि, यसको प्रक्रिया, पद्धति, चरित्र आदि विविध आयामलाई नित्से, ग्राम्सी, फुकोलगायत पूर्व–औपनिवेशिक सिद्धान्तका खास–खास आयमलाई अध्ययन गर्दै यसलाई बुझ्न भने सकिन्छ । 

दाससत्ताले नारीलाई मान्छे गन्दैन । छाउपडी रोक्न ऊ कुनै उत्सुकता देखाउँदैन । रोस्ट्रमबाट ओर्लेर आफ्नै कर्मचारीको बलात्कारमा लिप्त हुन मन पराउँछ । कतिसम्म भने, शक्ति र पैसाको उन्मादमा ऊ नारी देह खरिद गर्दै संसद्लाई बेश्यालयमा परिणत गर्छ अनि होटेलबाट प्रेमजोडीलाई समाउँदै कथित व्यवस्था कायम गरेको पाखण्डी रमिता रच्छ ।

मानिसले सधैँ दासत्व खोजिरह्यो । उसले ईश्वर सिर्जियो र आफू दास बन्यो । ऊ भयग्रस्त थियो होला, असुरक्षित महसुस ग-यो होला, सायद त्यसैले रक्षार्थ उसले ईश्वर बनायो । दास बनिसकेपछि ऊ जिम्मेवारीबाट पन्छियो, उसको बोझ पनि हलुका हुने भयो । यसको गतिलो उदाहरण रोमन सम्राट कन्स्टाइनपोल हुन् । जब रोम ‘बार्बरियन’को आक्रमणबाट तहसनहस हुँदै गयो, उनको केही सीप लागेन । फलस्वरूप सपनामा क्राइस्टलाई देखेकै भरमा उनले रोमको आधिकारिक धर्म क्रिस्टियानिटी बनाए । तर, पनि प्रभुले रोमन साम्राज्य जोगाइदिएनन् । अन्ततः सम्राट आफैँ पादरी बने, क्रिस्टियानिटी पनि युरोपभर फैलियो । आखिर त्यसरी एकातर्फ दासत्व स्विकार्न पाइन्छ, अर्कोतर्फ कसैलाई भगवान् बनाउन पनि पाइन्छ । 

दासलीला र दाससत्ता
पौराणिक कालदेखि आजसम्म दासताको परम्परा कायम छ । बलात्कारी आशाराम बापु जेलमा छन् । बाहिर अझै तिनका हजारौँ भक्त छन् । जसका लागि उनी भगवान् हुन् । भगवान् बन्न कुनै अलौकिक काम गर्नुपर्दैन, बस् ! निम्न चेतना भएका आममानिसअगाडि भ्रम छरे पुग्छ । आलोचनात्मक चेत नभएका वर्गमा उत्तेजक र भावनात्मक वाकपटुता वा सस्तो लोप्रियताका एक–दुई फन्डा उब्जाए मान्छे स्वतः भगवान् बनिहाल्छ । 

आशारामझैँ नेपालमा एकजना पत्रकार रातारात ‘भगवान्’ बनाइए । उनका भक्त आशारामका भन्दा जब्बर निस्किए । कसैलाई भगवान् स्विकारिँदैमा त्यति ठूलो आपत्ति हुने कुरा त होइन, तर उनलाई लागेको आरोपको छानबिनका लागि अनुसन्धान अघि बढाउँदा उनका समर्थक सडकमा उत्रिए । उनका समर्थकको दाबीलाई स्विकार्ने हो भने ‘उनी तीन करोड नेपालीका भगवान् हुन् ।’ यी समर्थक मात्र थिएनन्, निम्न चेत भएका दास थिए । उनले आफ्ना भक्तको सामान्य चेतना स्तर उकास्न टिभीमा दुई–चार एपिसोड प्रशिक्षण कार्यक्रम चलाए हुने थियो । तर, आममानिसको चेतना उकासेर कथित प्रभुहरूले आफ्नो खुट्टमा बन्चरो हान्दैनन् ।

चेतना भएका व्यक्ति केही हदसम्म फस्दैन । विभेद र अन्यायका विरुद्ध बोल्न सक्छ । यति भइसकेपछि ‘स्टन्ट पत्रकारिता’ र ‘स्टन्ट राजनीति’ दुवैको हुँदैन । यस्तोमा सस्तो संवेदना बटुल्न सकिँदैन । फेरि, जब मानिसमा चेतना भरिन्छ, उसले अफ्नो ‘प्रभु’को कथित एकल शास्वत्वमाथि सन्देह गर्न थाल्छ । आफ्नो ‘प्रभु’को विगत र वर्तमान केलाउन थाल्छ । सस्तो लोकप्रियता कमाउन उसले के–के नौटंकी गरेको थियो त्यो पनि बुझ्छ । आममानिसको चासो सरोकार र भलाइका मुद्दा उठाइरहँदा, ऊ आफैँ कत्तिको नैतिक धरातलमा उभिएको छ, सन्देह गर्न थाल्छ । समग्रमा भन्नुपर्दा चेतना पाइसकेपछि मनुष्य दास जुनीबाट मुक्त हुन्छ । 

कहाँबाट उब्जियो त यो दास वर्ग ? इतिहासको अन्तर्निहित गर्भबाटै जन्मिएको हो, यो । अहिलेको सरकारलाई ‘प्रचण्ड’ बहुमत दिलाउन, ००७ सालको क्रान्ति, ०४६ सालको जनआन्दोलन, जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलन सबमा यिनको भूमिका छ । फूलमाला अबिर लिएर पञ्चायतलाई स्वागत गर्ने पनि यिनै हुन् । सबैभन्दा खतरनाक सवाल यिनलाई कसले परिचालन गर्छ भन्ने हो । अथवा यिनले कसलाई प्रभु सम्झिन्छन् भन्ने हो । 

हाम्रो राज्य, समाजका सबै पद्धति आममानिसलाई व्यक्तिविशेषको दास बनाउन उद्वेलित छ । यो खतरनाक विषय हो । यसको ज्वलन्त उदाहरण हाम्रा प्रधानमन्त्री हुन् । किनभने उनलाई सामान्य आदरार्थी सम्बोधन मन नपर्ने उनी आफैँले व्यक्त गरिरहेका छन् । त्यो दासप्रेमको संकेत हो । एकथान दास भेला पारेर मन्त्रिपरिषद् गठन गरेका छन् । दासहरूलाई भेला पारेर सल्लाहाकारमा नियुक्त गरेका छन्, ताकि सबैले उनलाई भगवान् मानेर पुजिरहून् । कामको कुरा नगरौँ, त्यो परको विषय हो । मात्रै उनको मन्त्रिपरिषद्का सदस्य र सल्लाहकारले बोलेको भाषा सुन्दा जगजाहेर हुन्छ, त्यहाँ कुन स्तरका दास संगठित छन् भनेर । राम्रो÷नराम्रो छुट्याउन नसक्ने विवेकहीनबाट घेरिएका छन्, उनी । विवेकहीनबाट घेरिँदा तिनले कतिवेला नाक काटिदिन्छन् पत्तो पाइँदैन । 

अरूको कुरैै नगरौँ, कान्छो मन्त्रिपरिषद् सदस्य बन्दै ‘आदर्श युवा’ पर्यटन मन्त्रालय छिरे । नियुक्ति भएको सात दिन नबित्दैै प्याट्ट भनिदिए, ‘१० लाख कार्यकर्ता उतारेर निजगढ विमानस्थल भव्यसँग शिलान्यास गरिन्छ ।’ ‘ताल’ क्षेत्रको पूर्वमा अवस्थित निजगढ विमानस्थलको निर्माणस्थल र आसपासको जंगल सबैभन्दा सामरिक ‘बायोलोजिकल करिडर’ हो । यसको पर्यावरणीय महत्वलाई मध्यनजर गर्दै पाकिस्तान, भारत, चीनलगायत विश्व (ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारो बाहेक)ले विगतको दशकदेखि अकल्पनीयसँग जंगल विस्तार गरिरहेका छन् । यो विषय उनलाई थाहा छैन भनेर कल्पना गर्न सकिन्न । यस्तो परिस्थतिमा पैसा र पर्यावरणको विनाश गरेर निर्माण गरिने विमानस्थल आवश्यकता हो कि सस्तो लोकप्रियता ? दार्शनिक रूपमा भन्ने हो भने, यो उनको दास मनोवृत्तिको द्योतक हो किनभने उनी आफ्ना अघिल्तिरको गास मात्र देखिरहेका छन् । 

दाससत्ता प्रवृत्ति बडो घातक हुन्छ । यसले नारीलाई मान्छे गन्दैन । छाउपडी रोक्न ऊ कुनै उत्सुकता देखाउँदैन । रोस्ट्रमबाट ओर्लेर आफ्नै कर्मचारीको बलात्कारमा ऊ लिप्त हुन मन पराउँछ । कतिसम्म भने, शक्ति र पैसाको उन्मादमा ऊ नारी देह खरिद गर्दै संसद्लाई बेश्यालयमा परिणत गर्छ अनि होटेलबाट प्रेमजोडीलाई समाउँदै कथित व्यवस्था कायम गरेको पाखण्डी रमिता रच्छ । सत्ताले यस्तै पाखण्डी कोरल्छ वेला–बखत ।

भर्खरै वैकल्पिक पार्टी भनिएको पार्टीका नेताले पतिको नाममा तिजको व्रत बसेकी श्रीमतीलाई प्रेमपत्र लेखेर छपाए । अर्का पत्रकारले श्रीमतीलाई खुट्टाको पानी खुवाएको सामाजिक सञ्जालमा फोटो चुहाए । यी दुवै प्रवृत्ति पाखण्डी दास धर्म, संस्कृतिको मलजल गर्नु हो । अर्थात् नारीलाई भुइँको कसिंगर बनाउँदै ‘लिंग’को सर्वोच्चता डगमगाउन नदिनु यसको निचोड हो । ताकि सत्ताधारीको ‘लिंग’ले सडकदेखि सदनसम्म, घरदेखि पधेँरोसम्म युग–युगसम्म बलात्कार गरिरहन पाओस् । पाखण्डी नेता तथा पत्रकार मात्र होइन, सत्ताले ‘वाई–प्रोडक्ट’ पाखण्डी दास अभियन्तारूपी फोहोरका डुंगुुर थुपार्छ र त्यही फोहोरलाई उधिनेर खुद दुङदुङी गन्हाउँछ । 

दासोत्पादनालय
दास, राज्य र सत्ताद्वारा कोरलिन्छन् । हाम्रै मुलुकले करोडौँ दास कोरल्छ । शिक्षाले चेतना दिन्छ । चेतनशील भइसकेपछि व्यक्ति दास बन्दैन । उसलाई जे मन लाग्यो, त्यही गर्न सकिदैँन । यो ज्ञान राणामा थियो । तिनले आममानिसका लागि शिक्षा वञ्चित गरे र दास बनाए । दासमाथि लामो समय दमन र शासन गर्नु कुनै नौलो कुरा भएन । चेतनाले राणा शासन फाल्यो, तर समाज दास मनोविज्ञानबाट ग्रसित भइरह्यो । यसले फेरि महेन्द्रको दासत्व स्विका¥यो । शिक्षाले नयाँ पुस्तालाई केही चेतनशील बनायो र त्यसले पटक—पटक आमू्ल राजनीतिक परिवर्तन गरिदियो । तर, विडम्बना सत्तामा पुग्नेले सधैँ आफूलाई प्रभु सम्झिरह्यो र राज्यका सम्पूर्ण शक्ति दास कोरल्न खर्चिरह्यो । 

महेन्द्रले ‘महेन्द्रमाला’जस्ता पाठ्यक्रम निर्माण गरेर कारखानाबाट चाउचाउका पोका उत्पादन गरेसरी दास उत्पादन गरिरहे । तर, नयाँ नवावहरू महेन्द्र भन्दा चम्बु निस्किए । यिनले त विश्वविद्यालयलाई नै दास उत्पादन गर्ने कारखानामा परिणत गरिदिए, जसका लागि त्यहाँ आफ्नै दास नियुक्त गरिए । ‘विद्यार्थी राजनीतिमा संलग्न भए सेवा आयोगमा छिर्न सजिलो हुन्छ’ विश्वविद्यालयमा पढ्दा सुनिने बलियो स्वर थियो, यो । विश्वविद्यालय मात्रै होइन, पुँजीवादले ल्याएको खुला बजारको अवधारणाले निजी क्याम्पसलाई समेत नयाँ ‘दासोत्पादनालय’ बनाइदिएको छ । यी ‘दासोत्पादनालय’ सुन तस्कर, जग्गा दलाल, भ्रष्ट वा माफिया, जसको स्वामित्वमा पनि हुन सक्छ । यसको एक मात्रै उद्देश्य आफूअनुकूलको जनशक्ति उत्पादन र जतिसक्दो लुट्ने नै हुन्छ ।

सत्ताले यसरी नै दास कोरलिरहने हो भने भोलि त्यस ठाउँमा कुनै धूर्त तानाशाह, चरम दक्षिणपन्थी वा सस्तो लोकप्रियताको भोको ‘स्टन्ट–म्यान’ आयो भने ? लोकतन्त्र आफ्नो गलबन्दीको पासोमा झुन्डिएर त मर्ने छैन ?

अझै चाखलाग्दो कुरा त यो हो कि सत्ताले दासोत्पादनालयका रखौटे माफियालाई वेलाबखत ‘शिक्षासेवी’को पगरी पनि गुथाउँछ । ‘गेसपेपर’ र सेटिङको भरमा विश्वविद्यालयबाट सजिलै प्रथम श्रेणीको स्नातकोत्तर प्रमाणपत्र मिलिहाल्दो रहेछ । यति भएपछि कामको खोजीमा एउटा दास मालिकको कारखानामा छिर्छ, जुन हिजोको हलीभन्दा कुनै मानेमा चेतनशील हुँदैन । यस्तो परिवेशमा कुनै प्राध्यापकसँग ज्ञान, चेतना, विवेक, अन्तरदृष्टि भयो भने त्यो सत्ताका लागि फसाद भइदिन्छ । त्यसैले सत्ता, बौद्धिकभन्दा प्रश्न नगर्ने रेमिट्यान्स आयातक ‘इप्सिलन’लाई बढी रुचाउँछ । हरेक सत्तासँग आफूअनुकूल राज्य सञ्चालनको एउटा खुफिया बुद्धि हुन्छ, जसमा ऊ रमाउँछ । 

दासालाकार
‘के दास मात्र उत्पादन भएका हुन् त ?’ यदि त्यसो नहुँदो हो त, हाम्रा एकाध सिनेमाले कान्स, भेनिसतिर तहल्का पिट्थे होलान् ! हाम्रो संगीत ग्रामी अवार्डतिर पुग्थ्यो होला ! हाम्रा पुुस्तक पुलिट्जर, बुकरतिर लड्थे होला ! यहाँ पनि एक–दुई थान नित्से र फुको जन्मिन्थे होलान् । दुई–चार थान आविष्वकारका प्याट्रन राइट्स हुन्थे होलान् ! स्थानीय व्यवसायीलाई सामान निर्यात गर्न भ्याई–नभ्याई हुन्थ्यो होला ! तर, विडम्बना ! दासबाट घेरिँदा जिन्दगीभर जेल/नेल र युद्धमा होमिएर परिवर्तनका संवाहक बन्ने नेताहरू नालायक बनेर निस्कन्छन् । सीमान्तकृत वर्ग र समुदायका व्यक्तिको पीडा र बाध्यतालाई खिसी गर्दै दास वर्गलाई सस्तो मनोरञ्जन दिने चटके यो मुलुकका तमाम समस्या सुल्झाउन सक्ने महामानव भएर निस्कन्छन् । माथेमा, मिश्र र केसीजस्ता चिन्तक/सुधारक दासहरूको सस्तो हाँसोमा उडाइन्छन् ।

कहिलेकाहीँ सत्ताको कन्पारो तातेर आउँछ । नतातोस् पनि किन ? आफैँद्वारा उत्पादित दासहरूसँग युट्युब र जुगरबर्गले चिटिदिएको चौतारोसम्मको पहुँच छ । यो ‘दासलोक’मा फेरि ‘दासालाकार’को कमी हुने कुरै भएन । रातारात हिट भएर ढोल पिटिहाल्ने, नीच चेतना भएका, संगीत भनेको साधना हो भन्ने न्यूनतम ज्ञानबाट वञ्चित वर्ग नै ‘दासालाकार’ हुन् । यिनीहरूको गीत पनि हुरी बतास भएर आउँछ । अनि सुकेको पात भएर जान्छ । यिनलाई तुच्छ भन्न पनि मिलेन, किनकि दासश्रोताका लागि विथोवन, मोर्जाट, रविशंकर, भूपेन, डिलनभन्दा पनि यी भयानक उस्ताज हुन् । दासश्रोताले त्यो ‘दासगीत’ दुई–चार दिनमा भुल्छन् । त्यस गीतमा सम्झनलायक केही हुन्न । कथंकदाचित भइहाले पनि दाससँग त्यस्तो विशिष्ट चेतना नै कहाँ हुन्छ र ? 

तर, दासको यही ‘सर्ट–टर्म मेमोरी’ पनि सत्ताका लागि एउटा ऊर्जावद्र्धक औषधि भइदिन्छ । सत्ताले गरेका राम्रा÷नराम्रा काम पनि यिनले दुई–चार दिनमा भुलिहाल्छन् । यही मनस्थितिलाई मध्यनजर गर्दै सत्ता हरेक टोल–टोलमा ठूलो घन्टा, त्रिशूल–डमरु, शिवलिंग, गाई निर्माण गर्ने घिनलाग्दा अभियान चलाइरहन्छ । यो यति घिनलाग्दो छ कि कथित यस्ता स्मारक सिमेन्ट र रडको थुप्रोबाट बनाइन्छन् । ताकि दासहरू दिनहुँ त्यसलाई ढोगिरहून् र सगँसँगै निर्मातालाई पुजिरहून् । लिछ्छवी–मल्लकालीन शिलाशिल्पीलाई नै गिज्याउने यो कर्ममा दास यति हौसिन्छ कि उसलाई खानेपानी, ढल, बाटो, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको बोध नै हुँदैन । सत्ता कथित भालेश्वर र ठिगेश्वरजस्ता महादेवका नयाँ स्वरूपको आविष्कार गर्छ । सिमेन्ट थुप्र्याएर अर्थहीन भ्युटावर बनाउँदै दासलाई एउटा ठूलो भुलभुलैयामा भुलाउँछ । सत्ताका तमाम बेइमानी बिर्सेर दासहरू फेरि जयजयकारमा उत्रिन्छन् । 

डेढ वर्षपहिला एकजना ‘दासकलाकार’ले दासगीत ल्याए । त्यो प्यारोडीजस्तो थियो । गीतको माध्यमबाट व्यंग्य गर्न पाइन्छ । व्यंग्य गर्ने परम्परा छँदै छ । तर, यो दासगीत थियो, गीत–संगीत थिएन । दासश्रोतालाई यो महान् सिर्जना लाग्ने भइहाल्यो र त्यतिमै दासालाकारले लुट मच्चाइहाल्थे । साँच्चिकै  हास्यास्पद त त्यतिवेला भयो, जब यो दासगीतसँग सत्ता झस्कियो र सत्ताले दासगीतविरुद्ध असंख्य अरिंगाल छोडिदियो । मानौँ, बब डिलन वासिंग्टन डिसीअगाडि ‘नकिङ अन ह्याभन्स डोर’ गर्दै छ, हजारीका ‘गंगा बहती हो क्योँ’ वा पल रब्सन ‘जो हिल’ भन्दै कुर्लिरहेछ । अथवा रामेश र मञ्जुलले ‘गाउँ–गाउँबाट उठ’ भन्दै मान्छे उठाउँदै छन् । श्रवणको बिसे नगर्ची बहुलाएको पनि थिएन, सियारामकी प्रेमिकाले सिंहदरबार घेरेकी पनि थिइन । त्यसैले अधिकांश समय दाससत्ता खुद यस्तै सस्ता प्रहसनमा भाग लिन्छ र रमाउँछ ।  

दासोत्मोचन 
प्रत्येक युगमा चेतनशील बन्दै परिवर्तनका संवाहक बन्ने आमनागरिकलाई ‘दास’को संज्ञा कसरी दिनू ? राजनीतिक दलका संस्थापक नेतृत्वको चेतना र बौद्धिकतासँग नतमस्तक नभइरहन सकिन्न । तर, सत्ता सदैव चेतनासँग तर्सिंदै आएको छ । शिक्षामा सबैको पहुँच पुगेको छैन । फेरि शिक्षाले पनि चेतनशील बनाउँछ भन्ने ग्यारेन्टी छैन । त्यसो त राजनीति संगठन केन्द्रदेखि टोल–टोलसम्म पुगेका छन् ।

हरेक आमनागरिक कुनै न कुनै राजनीतिक आस्थामा संगठित पनि देखिन्छन् । राजनीतिक दलको केन्द्रदेखि स्थानीय तहसम्मै प्रशिक्षण पनि हुनेगर्छ । पञ्चायती कालका भूमिगत राजनीतिक प्रशिक्षणले अघिल्लो पुस्तालाई केही जागरुक बनाएको थियो । हिजोआज पनि प्रशिक्षण त हुन्छ होला, तर अहिलेको प्रशिक्षणले चेतनशील बनाउनुको साटो अरिंगाले दास उत्पादन गर्छ होला ! 

‘खर्पन’जस्तो कविता लेख्ने प्रधानमन्त्री दास होइन कि धूर्त हो । दासलाई मन्त्रमुग्ध गराएर सत्तामा पुगे । फ्रेन्च दार्शनिक बर्टान्ड डी जुभेनलले भनेका छन्– ‘भेडाको बथानमा ब्वाँसोले राज गर्छ ।’ अहिले प्रजातन्त्रमा शताब्दीऔँदेखिको अथक प्रयासबाट यहाँसम्म आइपुगेको उदारवादी चिन्तनलाई आत्मसात् नगर्ने उनीजस्तै ट्रम्प, बोल्सेनारो, मोदीहरू झेल्न नागरिक बाध्य छन् । तर, सत्ताले यसरी नै दास कोरलिरहने हो भने भोलि त्यस ठाउँमा कुनै धूर्त तानाशाह, चरम दक्षिणपन्थी वा सस्तो लोकप्रियताको भोको ‘स्टन्ट म्यान’ आयो भने ? 
अथवा दासको झुन्डले उदारबादी चिन्तन नै नबुझ्ने कुनै सस्तो चटके दासालाकारलाई प्रभु मानेर उभ्यायो भने ? लोकतन्त्र आफ्नो गलबन्दीको पासोमा झुन्डिएर त मर्ने छैन ?