१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फरहान बोकहारी
२०७६ कार्तिक २५ सोमबार ०८:२९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

पाकिस्तान सरकारले घरेलु मामिलामा ध्यान दिनुपर्छ

घरेलु मोर्चामा सफलता कायम गरेर मात्रै पाकिस्तानले विदेश नीतिको सफलता खोज्न सक्छ

Read Time : > 2 मिनेट
फरहान बोकहारी
२०७६ कार्तिक २५ सोमबार ०८:२९:००

पाकिस्तानी प्रधानमन्त्री इमरान खान शनिबार भारतीय सीमानजिकैको करतारपुर गुरुद्वारामा शिख धर्मावलम्बीसँगै देखिए, उनले भारतीय शिखका लागि भिसारहित यात्राको औपचारिक उद्घाटन गरे । पाकिस्तानको विदेश नीतिमा यो एउटा राम्रो कदम हो । विश्वभरका शिख समुदायको हृदय जित्न यो कदम महत्वपूर्ण हुनेछ ।तर, यस कार्यक्रममा समर्थकबाट घेरिएका खानले पछिल्लो सप्ताह घरभित्र विपक्षीबाट घेरिएको घटनालाई कम आँक्न मिल्दैन ।

जमियत उलेमा ई इस्लाम (जेयुआई) का हजारौँ कार्यकर्ता गत सातादेखि खानको राजीनामा माग्दै इस्लामावादका सडकमा उत्रिएका छन् । यो विरोधले विश्वव्यापी चर्चा पाएको छ । यो प्रदर्शनले पाकिस्तानको अविच्छिन्न अस्थिर छविलाई कायम राखेको छ ।

प्रदर्शनमा जेयुआईसँग जोडिएको अर्धसैन्य दस्ता ‘अन्सर उल इस्लाम’को ब्यानर पनि देखाइएको छ, यसले घटनालाई थप खराब बनाएको छ । खाकी रंगको सलवार र कमिजमा देखिएका युवाले हातमा लाठी बोकेर खुलेआम पाकिस्तानको कानुनलाई चुनौती दिएका छन् । झन्डै दुई दशकअघि पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परभेज मुसर्रफले इस्लामावादमा बढ्दो सैन्य गतिविधि नियन्त्रण गर्न यस्ता पहिरन लगाएर हुने प्रदर्शनमा प्रतिबन्ध लगाएका थिए ।

गत साता इस्लामावादमा भएको प्रदर्शनले कानुनलाई कागजमा होइन, व्यवहारमा उतार्न जरुरी रहेको स्पष्ट देखाउँछ । यस्तो प्रदर्शनको नियति के हुन्छ भन्ने अझै स्पष्ट छैन । तर, गत साताको प्रदर्शनले खानको सरकारसँग देखिएको विपक्षीको असन्तुष्टि र उनीविरुद्धकोे घेराबन्दी थप उजागर गरेको छ । संक्षिप्तमा भन्नुपर्दा घरेलु मोर्चामा सफलताको छवि कायम गरेर मात्रै पाकिस्तानले विदेश नीतिको सफलता खोज्न सक्छ, त्यो अझै बाँकी छ । 

केही दिनयता स्वास्थ्य खराब भएपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि विदेश जाँदै छन् । सरिफको बहिर्गमनले मात्रै पाकिस्तानको राजनीतिक धरातल परिवर्तन गर्नेवाला छैन । तर, यी पूर्वनेतामाथि खानले निरन्तर भ्रष्टाचारको आरोप लगाएका थिए । खानले यो पनि कसम आएका थिए कि उनको सरकारले उदाहरणीय काम देखाउनेछ ।

करतारपुर गुरुद्वारा शिख धर्मावलम्बीका लागि खुला गरेपछि आफ्नो विदेश नीतिको सफलतालाई खानले जसरी उत्सवका रूपमा मनाए, त्यसबाट पाकिस्तानका घरेलु चुनौती पार लाग्दैनन् 
 

सरिफसँगै खानको सरकारले देशका धेरै व्यवसायीमाथि भ्रष्टाचारसँग सम्बन्धित आरोप लगाएको छ, आफूलाई उदाहरणीय देखाउनका लागि । तर यस्तो कदमले उल्टै सरकारमाथि संकट बढाएको छ, ती व्यापारीले आफूमाथि कुनै स्पष्ट र सान्दर्भिक प्रमाण नभई सरकारले अभियोग दर्ता गरेको आरोप लगाएका छन् । अहिले पाकिस्तानको आर्थिक वृद्धि निरन्तर आरोलोमा छ र यस्तो अवस्थामा भ्रष्टाचारसँग सम्बन्धित मुद्दाका विषयमा देखिएको विवादले सरकारलाई सहयोग गर्नेवाला छैन । 

आमजनताको दैनिक जीवन बदल्ने गरी सुधारका कार्यक्रम ल्याउने चुनावी प्रतिबद्धता पूरा गर्नबाट खान टाढा छन् । संसद्मा उनको पार्टी पिटिआईको उपस्थिति कमजोर देखिएको छ । उनी सन् २०१८ मा अन्य दलको समेत सहयोग जुटाएर गठबन्धन सरकारका प्रधानमन्त्री बनेका थिए । तर, पाकिस्तानको राजनीतिमा गहिरिँदो ध्रुवीकरण र जनतामा देखिएको स्पष्ट निराशाका कारण सरकारलाई अन्य दलले सधैँ सहयोग गर्छन् भन्ने ग्यारेन्टी छैन । पाकिस्तानको अर्थतन्त्र ओरालो लाग्दै छ र सँगसँगै पिटिआई र खानको लोकप्रियता पनि ।

देशका दुई प्रमुख राजनीतिक दल बाहिरबाटै अभूतपूर्व रूपमा चुनिएका खान सफलतापछि असफल हुने तय नै छ त ? पाकिस्तानको बढ्दो राजनीतिक र आर्थिक अनिश्चितताका बाबजुद अहिल्यै यस्तो निष्कर्ष निकाल्नु हतारो हुनेछ । 

दुई मुख्य विपक्षी पिएमएल एन र पिपिपी पनि आफ्नै चुनौतीसँग लडिरहेका छन् । पिएमएल एनका नेता तथा पूर्वप्रधानमन्त्री सरिफ र पिपिपीका नेता तथा पूर्वराष्ट्रपति आसिफ जर्दारी दुवै अस्वस्थ छन् । दुवैमाथि भ्रष्टाचारको अभियोग छ । तैपनि खानको साख उठाउनुपर्ने चुनौतीसामु यो कम नै हो । 

अब खानले आफ्नो कमजोरीलाई ध्यानमा राख्नुपर्छ, खाडलहरू चिरेर अघि बढ्नुपर्छ । शनिबार करतारपुर गुरुद्वारा शिख धर्मावलम्बीका लागि खुला गरेपछि आफ्नो विदेश नीतिको सफलतालाई खानले जसरी उत्सवका रूपमा मनाए, त्यसबाट पाकिस्तानका घरेलु चुनौती भने पार लाग्दैनन् । 
(बोकहारी राजनीतिक तथा आर्थिक विश्लेषक हुन्)  गल्फ न्युज डटकमबाट