मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २४ आइतबार ०८:१६:००
Read Time : > 1 मिनेट
सम्पादकीय

खेलकुदको अव्यवस्था

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २४ आइतबार ०८:१६:००

आगामी १५ मंसिरमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग काठमाडौंमा सुरु हुँदै छ । उपत्यकाका विभिन्न खेल मैदानसहित पोखरा र जनकपुरमा समेत आयोजना हुने प्रतियोगिताको भौतिक तयारी भने अहिलेसम्म सकिएको छैन । दिनगन्तीले नै जम्मा तीन साता रहेको उद्घाटन मिति नजिकिँदै जाँदा तयारीको काम अधुरै राखेर लटरपटर प्रतियोगिता सक्ने बाध्यता आउला जस्तो देखिन्छ ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले आयोजनाको तयारी गर्ने जिम्मेवारी सम्हालिरहेका छन् । तर, आजभन्दा ३६ वर्षपहिले सन् १९८३ मा पहिलो साफ गेम सफलतापूर्वक आयोजना गरेको नेपालले पटक–पटक मिति सारेर पनि साग राम्रोसँग आयोजना गर्नेमा शंकै छ । यसै पनि दक्षिण एसियाली खेलकुद राजनीतिक खिचातानीले बिथोलिएको सार्कसँगै ढिलो आयोजना हुने गरेको छ । हरेक दुई वर्षमा आयोजना गर्ने भनिए पनि २० वर्षयता यो नियमित हुन सकेको छैन ।

यसअघि नै तीनपटक म्याद थपेर तय गरिएको नयाँ मितिमा पनि आयोजनाका लागि पूर्वाधार तयार नहुनु एकप्रकारले राष्ट्रिय लज्जाको विषय हो । २०७२ मा गएको भूकम्पका कारण भत्केको दशरथ रंगशालाको मर्मतसम्भार र पुनर्निर्माणको कामले गति नलिँदा यो समस्या आइलागेको हो । ललितपुरको सात दोबाटोस्थित पौडी पोखरीमा जडान गरिनुपर्ने तातो बनाउने प्रणाली पनि जोडिएको छैन । यता, रंगशालाको प्यारापिटमाथि राखिने छानो अझै चीनमै छ ।

यसै साता एसियाली फुटबल महासंघका पदाधिकारी आएर निरीक्षण गर्दा रंगशालाको अवस्था नेपाल र कुवेतबीचको फुटबल प्रतियोगिता आयोजना गर्न तयारी नपुगेको भनेर फर्केको समाचार चुहिइरहेको अवस्थामा सागको उद्घाटनका लागि तयार हुने विश्वास गर्न कठिन छ । यद्यपि, खेलकुदमन्त्री र परिषद्का सदस्यसचिव भने जसरी पनि तयारी सक्ने गरी काम भइरहेको दाबी गरिरहेका छन् ।

तीनपटक म्याद थपेर नयाँ मिति तय गरिएको समयमा पनि साग आयोजनाका लागि पूर्वाधार तयार नहुनु राष्ट्रिय लज्जाको विषय हो
 

केही समयअघि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले आफूहरू जे योजना बनाउँछौँ त्यो पूरा गरेरै छाड्ने गरेको बताएका थिए । यसोभन्दा धेरैले चीनले नेपालमा बनाइदिने भनेका काम गरेरै छाड्छ भन्ने अर्थ लगाएका थिए । वास्तवमा सीले नेपालीलाई भनेको समयमा काम कहिल्यै पूरा नगर्ने गफाडी भनेर चित्रण गर्न खोजेको भनेर अथ्र्याउनु ठीक हुनेछ । नेपालमा योजनाहरू बनाउनै ढिलो गर्ने, योजना कार्यान्वयनमा गइसकेपछि पनि त्यसलाई समयमै सक्नुपर्छ भनेर कहिल्यै नतात्ने अचम्मको संस्कार छ ।

हाम्रो रगतमै बसेको संस्कारझैँ जो मानिस आए पनि यो परम्परालाई पछ्याइरहेका देखिन्छन् । यसको सबैभन्दा बदनाम उदाहरण मेलम्ची हो र तामाकोसीले पनि त्यसैलाई पछ्याइरहेको छ । यस्तो संस्कार खेलकुदका पूर्वाधार निर्माणमा पनि कायम छ । अन्यथा, अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने जिम्मेवारी लिइसकेपछि त्यसका लागि बनाउनुपर्ने पूर्वाधार, आवश्यक पर्ने बजेट र कार्यान्वयन गर्ने संस्थागत ढाँचाबारे प्रस्ट हुने र उत्तरदायित्व बाँडफाँड गरेर काम गर्ने हो भने समयमै पूर्वाधार बनाउन असम्भव हुनै सक्दैन ।

हालै नेपालगन्जमा आयोजना भएको राष्ट्रिय खेलकुद प्रतियोगिता पनि हतरपतर र लटरपटर गर्दै विवादबीच सकिएको थियो । साग त्यस्तो नहोस् । जो व्यक्ति नेतृत्वमा आए पनि कामको अवस्था उही दोहोरिने परम्परा तोड्नु आवश्यक छ ।