१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ कार्तिक २३ शनिबार ०८:०६:००
Read Time : > 2 मिनेट
खेलकुद

पहिलो श्रेणीको क्रिकेटमा नेपालको पहिलो पराजय 

कमजोर ब्याटिङसँगै नेपाल एमसिसीसँग २०८ रनको भारी अन्तरले पराजित

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २३ शनिबार ०८:०६:००

नेपालले पहिलो श्रेणीको मान्यताप्राप्त क्रिकेटमा पहिलो पराजय बेहोरेको छ । इंग्ल्यान्डको मेरिलेवन क्रिकेट क्लब (एमसिसी)सँगको पहिलो श्रेणीको मान्यताप्राप्त तीनदिवसीय एक मात्र खेलमा नेपाल शुक्रबार २०८ रनको भारी अन्तरले पराजित भएको हो । नेपालले हालसम्म पहिलो श्रेणीको मान्यताप्राप्त खेलमा पराजय बेहोरेको थिएन । यसअघि खेलेका चारमध्ये दुई खेलमा जित हात पारेको नेपालले बाँकी दुई खेलमा बराबरी नतिजा निकालेको थियो । नेपालले आफ्नो पहिलो खेलका रूपमा सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) इन्टरकन्टिनेन्टल कपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)सँग खेलेको प्रथम श्रेणीको मान्यताप्राप्त खेलमा बराबरी खेलेको थियो । दोस्रो खेलमा नेपालले मलेसियालाई नौ विकेटले पराजित गरेको थियो ।

त्यसपछि सन् २००५ मा आइसिसी इन्टरकन्टिनेन्टल कपअन्तर्गत नै हङकङसँग बराबरी खेलेको नेपालले युएईलाई १७२ रनको भारी अन्तरले पराजित गरेको थियो । त्यसको १४ वर्षपछि फेरि पहिलो श्रेणीको मान्यताप्राप्त क्रिकेटमा फर्कंदा नेपालले असफलता बेहोरेको हो ।

ब्याटिङमै समस्या
शुक्रबार तेस्रो तथा अन्तिम दिन एमसिसीले बिहानको सत्रमा ३६ ओभर ब्याटिङ गर्दै १८१÷६ को अवस्थामा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो । त्यससँगै नेपालले जितका लागि ३९३ रनको विशाल लक्ष्य पाएको थियो । त्यसअघि एमसिसीले आफ्नो पहिलो इनिङमा ३६४ रन बनाउँदा नेपाल १५३ रनमै समेटिन पुगेको थियो । लक्ष्य पछ्याएको इनिङमा पनि नेपाल १८४ रनमै समेटिन पुग्यो । 

यो खेलमा नेपाली टोलीको ब्याटिङ प्रदर्शन निकै कमजोर देखियो । विशेषगरी बहुदिवसीय खेलमा नेपालको ब्याटिङको समस्या सतहमा देखिने गरेको छ । पहिलो इनिङमा ४५ ओभर मात्रै ब्याटिङ गरेको नेपाल दोस्रो इनिङमा ४०.४ ओभरसम्म मात्र क्रिजमा टिक्यो । दोस्रो इनिङमा पनि नेपालका भरपर्दा ब्याट्सम्यान चल्न सकेनन् । फेरि एकपटक बलरले नै नेपाली इनिङ सम्हाल्ने प्रयास गरे । दोस्रो इनिङमा नेपालका लागि सोमपाल कामीले ८३ बल खेल्दै ५१ रनको अर्धशतकीय योगदान दिए । उनीसँगै सन्दीप लामिछानेले १९ बलमा २५ रन प्रहार गरे । यी दुईले नेपालका लागि ५० रनको साझेदारी गरेका थिए । 

नेपालका लागि पहिलो इनिङमा पनि सन्दीपले २१ बलमा अविजित रहँदै सर्वाधिक ३९ रन योगदान दिएका थिए । दोस्रो इनिङमा प्रारम्भिक ब्याट्सम्यान राजु रिजालले थप ३१ रन जोड्दा आरिफ सेख १९, करण केसी १८ र शरद भेषवाकर १५ रनमै आउट हुन पुगे । कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा आउट भए । विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले खाता खोल्न सकेनन् ।

करणको ६ विकेट
एमसिसीविरुद्ध नेपाली बलरमध्ये करण केसी सफल देखिए । करणले प्रतियोगिताका दुवै इनिङमा गरी ६ विकेट लिए । पहिलो र दोस्रो इनिङमा उनले समान तीन विकेट हात पारे । उनीपछि सोमपाल र सन्दीपको नाममा समान तीन विकेट रह्यो । पहिलो इनिङमा तीन विकेट लिएका सन्दीप दोस्रो इनिङमा विकेटविहीन रहे । पहिलो इनिङमा दुई विकेट लिएका सोमपालले दोस्रो इनिङमा एक विकेट थपे । 

‘अनुभवमै पछि पर्‍यौँ’ : सन्दीप लामिछाने, बलर 


हामीले रातो बलको क्रिकेट पहिलोपटक खेलेका हौँ । यो क्रिकेटको नियमबारे हामीलाई धेरै जानकारी नै थिएन । हामीलाई फिल्ड सेटिङमै पनि समस्या परेको थियो । हामीले आफ्नो योजना कार्यान्वयन गर्न सकेनौँ । हुन त एमसिसीसँग हाम्रो तुलना गर्न पनि मिल्दैन । एमसिसीसँग ११–१२ वर्ष पहिलो श्रेणीको क्रिकेट खेलेको अनुभव भएका खेलाडी छन् । त्यसको  तुलनामा नेपालले पहिलोपटक यो क्रिकेट खेल्दै थियो । त्यसैले अनुभवमै हामी पछि प¥यौँ । त्यसबाहेक अन्य पक्ष राम्रै रहे । सिक्ने कुरा धेरै रहे । भविष्यमा तीनदिवसीय क्रिकेटको आवश्यकता देखिन्छ । 

एमसिसीको पहिलो इनिङ
१०२ ओभर, ३६४ रन, १० विकेट

नेपालको पहिलो इनिङ
४५ ओभर, १५३ रन, १० विकेट

एमसिसीको दोस्रो इनिङ
३६ ओभर, १८१ रन, ६ विकेट

(इनिङ समाप्तिको घोषणा) 

नेपाललाई ३९३ रनको लक्ष्य प्रस्तुत

नेपालको दोस्रो इनिङ
४०.४ ओभर, १८४ रन, १० विकेट
नेपाल २०८ रनले पराजित