१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २३ शनिबार ०६:४६:००
Read Time : > 4 मिनेट
खेलकुद

तीन सातामा दक्षिण एसियाली खेल तर, तयारी भद्रगोल

पाँच अर्ब २६ करोड बजेट : १३ हजार सुरक्षाकर्मी परिचालन हुने

Read Time : > 4 मिनेट
२०७६ कार्तिक २३ शनिबार ०६:४६:००
  • खेल उद्घाटन हुन तीन साता बाँकी तर, दशरथ रंगशालाको भिभिआइपी प्यारापिटको छानो अहिलेसम्म चीनमै
  • जाडोमा हुने प्रतियोगितामा स्विमिङ पुलको पानी तातो हुनुपर्छ, तर हिटिङ सिस्टम जोडिने निश्चित छैन

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पहिलो आयोजक नेपाल । सन् १९८३ मा पहिलो संस्करण सफलतापूर्वक गरेको नेपालले १९९९ मा आठौँ संस्करण पनि सानदार सम्पन्न गर्‍यो । त्यसको २० वर्षपछि १३औँ साग १५ मंसिरदेखि नेपालमै हुँदै छ । तर, यसपटक सागको तयारी सन्तोषजनक भइरहेको छैन । हरेक दुई वर्षमा हुनुपर्ने सागका लागि नेपालले तीनपटकसम्म मिति सारेर चार वर्षसम्म लम्ब्याउँदासमेत पूर्वाधार निर्माण सकाएको छैन । साग सुरु हुन २३ दिन बाँकी छँदा कस्तो छ तयारी ? श्रीलोचन राजोपाध्यायको रिपोर्ट :

एक वर्षअघि नै नेपालमा सम्पन्न हुनुपर्ने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) तीनपटक म्याद थपेर १५ मंसिरमा गर्ने तयारी छ । तर, तीन साता मात्रै बाँकी हुँदा पूर्वाधार तयारी भने अपूरो छ । साग उद्घाटन हुने दशरथ रंगशालाको भिभिआइपी प्यारापिटको छानो अहिलेसम्म चीनमै छ । 

प्यारापिटको छानो जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको खेलकुदमन्त्री जगत विश्वकर्मा बताउँछन् । ‘थप रकम खर्चेर भए पनि हवाईजहाजबाटै कार्गो गरी छानो ल्याउँछौँ,’ उनले भने । समयमै छानो आएन भने दर्शक, खेलाडी तथा अफिसियल खुला आकाशमुनि बस्नुपर्ने अवस्था हुन सक्छ । १५ मध्ये छानोका लागि पाँचवटा पिलर ठड्याइएकोमा १० वटा राख्न बाँकी नै छ । समयमै काम सक्न आफू राति अबेरसम्म पनि रंगशालामै खटिएको मन्त्री विश्वकर्मा बताउँछन् । 

काठमाडौं, ललितपुर, पोखरा र जनकपुरका विभिन्न स्थलमा खेल हुनेछन् । पौडी प्रतियोगिताका लागि सातदोबाटो पौडी पोखरी निर्विकल्प हो । नियमअनुसार अन्तर्राष्ट्रिय पौडी आयोजना गर्न आठ लेनको पोखरी हुनुपर्छ, यो मापदण्ड सातदोबाटो पोखरीमा मात्रै छ । तर, पूर्वाधार निर्माण सकिएको छैन । जाडोमा प्रतियोगिता हुन लागेकाले अभ्यास र खेल तातोपानीमा गराउनुपर्छ । तर, हिटिङ प्रणाली अहिलेसम्म राखिएको छैन । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल भने प्रतियोगिताअघि नै हिटिङ प्रणाली जडान हुने दाबी गर्छन् । सरकारले बाँकी काम फास्ट ट्र्याकमा गर्न निर्देशन दिएको छ ।

सागको सबल पक्ष खेलाडीलाई दिएको प्रशिक्षण मात्रै हो । सरकारले खेलाडीलाई धमाधम वैदेशिक प्रशिक्षणमा पठाइरहेको छ । पुरुष भलिबल टोली शुक्रबार मात्रै वैदेशिक प्रशिक्षणका लागि गएको छ । नेपाल सहभागी हुने २७ मध्ये १५ खेलका खेलाडी यतिवेला वैदेशिक प्रशिक्षणमा छन् । केही प्रशिक्षण लिएर स्वदेश फर्किसकेका छन् । पदक सम्भावना रहेको खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइएको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले बताए । कुस्ती, खो–खो, कबड्डी, पौडी, स्क्वास, पुरुष ह्यान्डबल, पुरुष भलिबल, फेन्सिङ, ह्यान्डबल, महिला भलिबल, गल्फ, बक्सिङ, आर्चरी, जुडो, तेक्वान्दो र करातेका खेलाडीले यो अवसर पाएका छन् । यता १८औँ एसियाडमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएको प्याराग्लाइडिङ, एथलेटिक्स, ट्रायथलन, बास्केटबल, सुटिङ, क्रिकेट (पुरुष र महिला), टेनिस, ब्याडमिन्टन, उसु र महिला फुटबलको तयारी भने स्वदेशमा भइरहेको छ । सागका लागि १४ खेलका दुई सय ९९ खेलाडी छनोट भइसकेका छन् । बाँकी १३ खेलको पनि २५ कात्तिकभित्र छनोट गरिने रानाभाटले बताए । सागमा नेपालबाट ६ सय ७७ खेलाडी सहभागी हुनेछन् ।

१५ देखि २४ मंसिरसम्म साग गर्न नेपाललाई अन्य सहभागी राष्ट्रले अन्तिम मौका दिएका हुन् । सन् २०२० मा टोकियो ओलम्पिकका साथै अन्य ठूला खेलकुद प्रतियोगिता हुने भएकाले पनि साग सर्ने सम्भावना छैन । बरु नेपालमा साग नै नहुने परिस्थिति निम्तिन सक्छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले विशेष पहलमा सारेकाले अब मिति नसर्ने बताए । ‘अब साग सर्ने कल्पना पनि नगर्नुस्,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘अन्य राष्ट्रहरू निश्चित योजना र बजेटमा चलिरहेका हुन्छन्, साग सार्नु भनेको उनीहरूको अरू प्रतियोगिता र बजेटमा समेत असर पुर्‍याउनु हो ।’ भारत, पाकिस्तान, माल्दिभ्स, बंगलादेश र श्रीलंकाले जनवरीदेखि नै आफ्ना खेलाडीलाई टोकियो ओलम्पिकको तयारीमा पठाउँदै छन् । 

सागका लागि सरकारले १५ समिति बनाएको छ । राष्ट्रिय टिम तयारी, खेलस्थल व्यवस्थापन, प्राविधिक, स्रोत–साधन परिचालन, सुरक्षा, आवास व्यवस्थापन, यातायात, स्वास्थ, प्रचारप्रसार, समारोह, स्वयंसेवक, अनुमगन र मूल्यांकन, अतिथि सत्कार र खेल सामग्री समिति छन् । सातै राष्ट्रका खेलाडी, पदाधिकारी र समर्थकलाई सुरक्षा व्यवस्थापनका लागि प्रतियोगिता अवधिभर १३ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । सुरक्षा समिति संयोजक नै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल हुन् । काठमाडौंको सुरक्षा व्यवस्थापनको कमान्ड भने डिआइजी दीपककुमार थापाले गर्नेछन् । खेलाडी र पदाधिकारीलाई विमानस्थलबाट होटेल, होटेलबाट खेलस्थलमा पुर्‍याउन नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले सुरक्षा दिने सुरक्षा समितिका सचिव फणिन्द्र पौडेलले बताए । सुरक्षातर्फ ५० करोड २६ लाख बजेट छुट्याइएको छ । ट्राफिक व्यवस्थापनका लागि जोर–बिजोर प्रणालीबारे पनि छलफल भइरहेको पौडेलले बताए । 

विशिष्ट पाहुनालाई पाँचतारे होटेलमा राख्ने तयारी छ । ‘सुरक्षाका कारण पनि विशिष्ट पाहुनालाई पाँचतारेभन्दा मुनिका होटेलमा राख्न सकिन्न,’ वास व्यवस्थापन समिति संयोजक टासी घलेले भने । त्यस्तै स्वदेशी तथा विदेशी पत्रकारलाई सहजै सूचना उपलब्ध गराउन ‘साग मिडिया सेन्टर’ बनिरहेको प्रचारप्रसार समितिका सचिव दुर्गाप्रसाद दुलालले बताए । सूचना सहजताका लागि सागभर छुट्टै वेब पोर्टल पनि सञ्चालन हुनेछ । त्यस्तै, स्वास्थ्य समितिका संयोजक अजय राणाले बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण छिटै हुने बताए ।

खेलकुदमन्त्री जगत सुनार विश्वकर्मा भन्छन्–रातिसम्म पनि रंगशालामै खटिएको छु 

साग सिंगो राष्ट्रकै प्रतिष्ठाको विषय हो । तर, समय धेरै छैन, काम बाँकी छन् । त्यसैले म दिनरात सक्रिय भएर लागेको छु । बिहानदेखि राति अबेरसम्म पनि रंगशालामै खटिएर काम गराइरहेको छु । प्रमुख काम नै भिभिआइपी प्यारापिटको छानो हाल्ने हो । अहिले पोल ठड्याइँदै छ । मलाई विश्वास छ, १५ मंसिरमा साग हुन्छ । 

जसले जन्माए साग

साग नेपालले नै जन्माएको थियो भने सुरु पनि नेपालबाटै । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव शरद चन्द शाहले दक्षिण एसियाली राष्ट्रबीच खेलको माध्यमबाट भाइचारा सम्बन्ध प्रगाढ बनाउन एउटा खेल आयोजनाको प्रस्ताव गरेका थिए । शाहको प्रस्ताव सबै सार्क राष्ट्रले स्विकारेपछि सन् १९८३ मा काठमाडौंमा पहिलोपटक साग आयोजना भयो । तर, त्यतिवेला नाम भने साफ राखिएको थियो । सन् २००६ को कोलम्बो संस्करणदेखि मात्रै साग भनिएको हो । सुरुमा यो प्रतियोगिता दुई–दुई वर्षमा गर्ने भनिएको थियो । १९९९ सम्म नियमित दुई–दुई वर्षमै भयो । तर, त्यसपछिका संस्करण भने विभिन्न परिस्थितिका कारण समयमा हुन सकेनन् । 

नेपाललाई अहिलेसम्म ७४ स्वर्ण
नेपालले अहिलेसम्म ७४ स्वर्ण जितेको छ । अहिलेसम्म नेपाल स्वर्णविहीन हुनुपरेको छैन । सन् १९९९ मा काठमाडौंमै भएको साफमा नेपालले ऐतिहासिक ३१ स्वर्ण जितेको थियो । साग इतिहासमा नेपालको अहिलेसम्मको उच्च प्रदर्शन नै त्यही हो । 

राखेप सदस्यसचिव रमेश सिलवाल भन्छन्- सबै काम समयमै सकिन्छ 

साग हुनेमा दुईमत नै छैन । सबै काम दु्रत गतिमा भइरहेका छन् । जिम्मेवारी पाएका सबै समितिले काम गरिरहेका छन् । अहिले लगभग सबै संरचना तयारी अवस्थामै छन् । रंगशालाको छानो पनि निर्धारित समयमै हुन्छ । सातदोबाटोको हिटिङ पनि फिट हुन्छ । अहिलेको अवस्थामा साग रोकिँदैन । 

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ भन्छन् - अब सर्दैन साग

नेपाल ओलम्पिक कमिटीले आफ्नोतर्फबाट गर्नुपर्ने काम विना अवरोध गरिरहेको छ । सहभागी राष्ट्रका पदाधिकारीसँग छलफल जारी छ । आयोजक पक्षबाट पनि द्रुत गतिमा काम भइरहेको छ । पूर्वाधार बनिरहेका छन् । पटक–पटक मिति सरिसक्यो अब साग रोकिनेवाला छैन । 

बजेट : पाँच अर्ब २६ करोड 
१३औँ सागका लागि पाँच अर्ब २६ करोड ५७ लाख बजेट छुट्याइएको छ । प्रतियोगिताको तयारी तथा व्यवस्थापन समितिका संयोजक पीताम्बर तिम्सिनाले खेलकुद मन्त्रालयमा सो बजेट प्रस्ताव गरेका थिए । यो बजेट पूर्वाधार निर्माणबाहेक साग आयोजनाका लागि मात्रै हो । धेरै बजेट यी शीर्षकमा छुट्याइएको छ ।

  •  राष्ट्रिय टिम तयारी– ८८ करोड १२ लाख
  •  खेल सामग्री, उपकरण, पोसाक र सचिवालय– एक अर्ब २९ करोड ९१ लाख 
  •  आयोजक समिति– २७ करोड ९९ लाख
  •  समारोह व्यवस्थापन– ७१ करोड ४६ लाख 
  •  प्रचारप्रसार– आठ करोड ९५ लाख
  •  स्वास्थ्य– तीन करोड ४३ लाख ५२ हजार
  •  आवास व्यवस्थापन– ४५ करोड ८६ हजार 
  •  यातायात– १५ करोड ७१ लाख