मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार १९:४६:००
Read Time : > 1 मिनेट
समाचार

पूर्व सहायक मन्त्री ज्योति र उनकी छोरीको अनुसन्धान गर्न तीन दिनको म्याद थप

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार १९:४६:००

हाउजिङको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व अर्थ सहायकमन्त्री तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचीलाई अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद थपको अनुमति दिएको श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनीहरूमाथि एक करोड ३६ लाख ७५ हजार रुपैयाँ ठगीको अभियोग छ ।

प्रहरीमा जाहेरी परेको एक वर्षपछि उनीहरु पक्राउ परेका हुन् । गत वर्ष मंसिरमा नै उनीहरुविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । सो मुद्दामा काठमाठौं जिल्ला अदालतले १० मंसिर ०७५ मा पक्राउ गर्न आदेश दिएको थियो । त्यस आदेशविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए । गत १८ कात्तिकमा सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ज्योतिको रिट खारेज हुने फैसला गरेपछि उनलाई पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुलेको हो ।

काठमाडौंस्थित बाँसबारीमा रहेको ल्याण्ड मार्क डेभलपर्स प्रा लिका सञ्चालकका रुपमा उनीहरुले ठगी गरेको प्रहरीले जनाएको छ । सो कम्पनीले जग्गा खरिद गरी घर बनाउन सिई कन्ट्रक्सनसँग साझेदारी गरेको थियो । सो कन्ट्रक्सनले कित्ता नम्बर २३८ को २२२.५३ वर्गमिटर जग्गामा भवन निर्माणसमेत गरेको थियो । ल्यान्डमार्क डेभलपर्सले एक करोड ३२ लाख रुपैयाँमा क्वालिटी डेभलपर्सका नाममा २४ कात्तिक ०७४ मा राजीनामा कायम गरिदियो । 

सिई कन्ट्रक्सनका महाप्रबन्धक शम्भूप्रसाद फुँयाले विज्ञेन्द्रकृष्ण मल्लसँग बिक्री गर्ने सम्झौता गरेका थिए । पछि मल्लले ज्योतिविरूद्ध महानगरिय प्रहरी परिसरमा ठगीको उजुरी दर्ता गरे । २ असोज ०७५ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कविप्रसाद न्यौपानेले सो मुद्दा फैजदारी नभइ देवानी प्रकृतिको भएको भन्दै फैसला गरे । त्यस्तै ज्योतिको कम्पनी ल्यान्डमार्क डेभलपर्स प्रा लिले मल्ल आफ्नो सम्पत्ति लिन नआएपछि रकम बुझाइ पाउ भन्दै १३ मंसिरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरे ।
 
यसैबीच मल्लले काठमाडौंस्थित महानगरीय प्रहरी परिसरमा ठगीको उजुरी दर्ता गरे । सो उजुरीपछि प्रहरी ज्योतिलगायतलाई पक्राउ गर्नका लागि काठमाडौं जिल्ला अदालत अनुमति लिन पुगेको थियो । अदालतबाट पक्राउको अनुमति भएपछि ज्योतिलगायत सर्वोच्च अदालत पुगेका थिए । उनीहरु अदालबाट देवानी भनी ठहर भैसकेको मुद्दा विवादमा फौजदारी लगतमा दर्ता गरेर दुख दिने कार्य भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

मल्लले कमला कंसकार, सौरभ ज्योति, सुहृद्ध ज्योति, अमिक ज्योति, प्रकाशभक्त माथेमा, पद्म ज्योति, किरण महर्जन, मिला सायमी र मोतिलाल तामाङविरुद्ध जाहेरी दिएका छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।