प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा विवादबारे राष्ट्रिय सहमतिसहितको ठोस धारणा तय गर्न शनिबार प्रमुख राजनीतिक दलसहित पूर्व प्रधानमन्त्रीसहितको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेताहरु, विज्ञहरुसहितको बैठक आव्हान गरेको पुष्टि गरे ।
कालापानी क्षेत्र नेपालकै भूमि भएको र सीमा रक्षाका लागि सरकार प्रतिबद्ध रहेको सरकारको बिहीबार वक्तव्य जारी गरेको थियो । प्रधानमन्त्री ओलीले ठोस राष्ट्रिय धारणा तय गर्ने उद्धेश्यसहित छलफल गर्न लागेका हुन् । भारतसँगको सीमा विवादमा प्रमुख प्रतिपक्ष कांग्रेससहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एउटै धारणा तय गर्नका लागि प्रधानमन्त्रीले बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।
छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, पूर्व परराष्ट्र मन्त्रीहरुसहितलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रविद, सीमाविद, विभिन्न राजनीतिक दलका नेताहरु, नापी विभागका महानिर्देशकलगायतलाई डाकिएको छ । नापी विभागले प्रस्तुत गर्ने नक्सा, तथ्य, प्रमाणका आधारमा छलफल गर्ने र सुझावसहितको निष्कर्षका आधारमा भारतसँग सम्वाद अघि बढाउने सोचमा प्रधानमन्त्री ओली रहेको स्रोतले जनाएको छ ।