मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका विराटनगर
२०७६ कार्तिक २२ शुक्रबार ११:४२:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश प्रमुख अधिकारी सुखानीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका विराटनगर
२०७६ कार्तिक २२ शुक्रबार ११:४२:००

एक नम्बर प्रदेशका नवनियुक्त प्रमुख सोमनाथ अधिकारीले पदभार ग्रहणपछि झापा आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपतिबाट शपथ लिएपछि बुधबार साँझ राजधानी विराटनगर आइपुगेर पदभार ग्रहण गरेका प्रदेश प्रमुख अधिकारीले बिहीबार दिउँसो झापाको अर्जुनधारास्थित सुखानी पार्क पुगेर झापा आन्दोलनका पाँचजना सहिदलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

१ नम्बर प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री जगदीश कुसैत, नेकपा केन्द्रीय र जिल्ला नेताहरूलाई लिएर प्रदेश प्रमुख सुखानी पुगेका थिए । त्यहाँ उनले पञ्चायतको विरोध गर्दा हत्या गरिएका सबै सहिदको सालिकमा माल्यार्पण गरेका थिए ।

पञ्चायत शासनको विरोध गरेको आरोपमा २१ फागुन ०२९ मा जेल सरुवा गर्ने बहानामा झापा कम्युनिस्ट आन्दोलनका पाँचजना अगुवाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको सुखानीको जंगलमा हत्या गरिएको थियो । उनीहरूकै सम्झनामा सालिक स्थापना गरेर सुखानीमा पार्क निर्माण गरिएको छ ।

खोकुछिन्ताङका सहिद परिवारलाई जनही पाँच लाख
विराटनगर/प्रदेश नम्बर १ सरकारले धनकुटास्थित खोकुछिन्ताङका सहिदहरूको परिवारलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । कात्तिक २१ मा बसेको प्रदेश १ सरकारको मन्त्रिपरिषद् बैठकले ०३६ सालका सहिदका परिवारलाई राहतस्वरूप जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

पञ्चायती व्यवस्थाविरोधी भनेर हत्या गरिएका सहिदको सम्मानका लागि जनही पाँच लाख दिने निर्णय गरिएको जनाइएको छ । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा धनकुटाको खोकुछिन्ताङमा १६ जना स्थानीयको हत्या गरिएको थियो ।