Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार १०:५३:००
Read Time : > 1 मिनेट
प्रदेश

सेनाद्वारा जाजरकोट–डोल्पा सडक हस्तान्तरण

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार १०:५३:००

बाह्र वर्ष लगाएर ट्रयाक खोलेको जाजरकोट–डोल्पा सडकलाई नेपाली सेनाले सडक विभागको जिम्मा लाएको छ । बिहीबार डोल्पा सदरमुकाम दुनैमा एक कार्यक्रमको आयोजना गरी विभागलाई हस्तान्तरण गरिएको हो । 

दुनैस्थित नेपाली सेनाको नन्द बक्स गण घ गुल्ममा आयोजित विशेष कार्यक्रममा जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले चौरजहारीस्थित सडक डिभिजन कार्यालयका उपप्रमुख नरेन्द्रप्रसाद भट्टलाई सडक हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै कर्णेल पहाडीले कठिन भौगोलिक अवस्थाले गर्दा थुप्रै चुनौतीबीच पनि नेपाली सेनाको अहोरात्र खटाइले सडक पूरा भएको बताए । ‘अहोरात्र खटिएर डोल्पाली जनतालाई सडक उपहार दिन सफल भएका छौँ,’ पहाडीले भने । 

सरकारले ०६४ मा यो निर्माणको जिम्मा सेनालाई दिएको थियो । जाजरकोटदेखि डोल्पा सदरमुकाम दुनैसम्म एक सय १८ किलोमिटर रहेको छ । निर्माण थालेको १२ वर्षपछि नेपाली सेनाले सडकको ट्र्याक खोल्न सफल भएको हो । गत वर्ष ट्र्याक पूरा गरेको सेनाले बिहीबार विभागलाई हस्तान्तरण गरेको हो । सबैको सहयोगले सेना सफल भएको बताउँदै निर्माण कार्यदल प्रमुख पहाडीले आभार प्रकट गरे । 

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सेनाले गरेको कामको प्रशंसा गरे । उनले आगामी आर्थिक वर्षभित्र जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने खदाङ र त्रिपुराकोट बगरस्थित भेरीमा बेलिब्रिज निर्माण गरिने बताए ।  देशका ७७ वटै जिल्लामा कालोपत्रेसहितको सडक पुर्‍याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उनले भने, ‘अबको दुई वर्षभित्रै सडक स्तरोन्नतिको काम सुरु गरिनेछ ।’

सडक हस्तान्तरण कार्यक्रममा बोल्दै रक्षा मन्त्रालयका सह–सचिव शान्तबहादुर सुनारले अटुट हिम्मत र सबैको सहयोग भए जस्तोसुकै कठिन कार्य पनि सम्पन्न गर्न सकिने उदाहरण नेपाली सेनाले दिएको बताए । 

जिल्ला समन्वय समिति उपप्रमुख नरबहादुर बुढाले सेनाले डोल्पालीको भाग्यरेखा कोरेको बताउँदै दुनैसम्म सीधा यातायात सञ्चालनका लागि पुल निर्माणसँगै स्तरोन्नति गरिनुपर्ने बताए । त्रिदेशीय व्यापारिक मार्गको रुपमा समेत रहेकाले जाजरकोट–डोल्पा सडकको रणनीतिक महत्व झल्काउन दुनैदेखि धो हुँदै मोरिम्सम्म सडक निर्माणको जिम्मा नेपाली सेनालाई नै दिनुपर्ने उनको भनाइ थियो । 

 हेलिकोप्टरबाट अनुगमन
एक वर्षअघि निर्माण सम्पन्न भएको जाजरकोट–डोल्पा सडक र निर्माणाधीन दुनै–मोरिम्ला सडकको समेत सेनाको हेलिकोप्टरबाट अनुगमन गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की, सहसचिव गोपाल सिग्देल, उपसचिव विष्णुप्रसाद शर्मा, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री,उपसचिव मोहन सिंह बस्नेत, शाखा अधिकृत सुशिला भट्ट पण्डित, सडक विभागका महानिर्देशक केशव शर्मालगायतले अनुगमन गरेका हुन् ।