मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सिमोन जोन्सन
२०७६ कार्तिक २२ शुक्रबार ०९:३९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

डलर खतरामा परेको हो ?

Read Time : > 3 मिनेट
सिमोन जोन्सन
२०७६ कार्तिक २२ शुक्रबार ०९:३९:००

विश्व अर्थतन्त्र

दोस्रो विश्वयुद्ध अन्त्य भएयता अमेरिकी मुद्रा डलर अन्तर्राष्ट्रिय वित्त तथा व्यापारको केन्द्रबिन्दुमा छ । विश्व अर्थतन्त्रका थुप्रै उतरचढावका बाबजुद अमेरिकी डलर दशकौँदेखि विश्वको लोकप्रिय बचत सम्पत्तिका रूपमा आफ्नो भूमिका कायम राखिराख्न सफल छ । विडम्बनाचाहिँ के हो भने अमेरिकामा वित्तीय संकट छाएको कठिन अवधिमा पनि लगानीकर्ता अमेरिकी केन्द्रीय बैंक ‘फेड’ले जारी गरेको ऋणपत्र खरिदका लागि झुम्मिएका थिए । फलस्वरुप विश्वभरको आर्थिक अवस्थामाथि फेडरल रिजर्भकै बोलवाला छ, जो आफैं अमेरिकी डलरको ब्याजदर तय गर्छ । 

विकेन्द्रीकृत ‘ब्लकचेन’(‘ब्लकचेन’ दुई पक्षबीचको कारोबारलाई प्रामाणिक र स्थायी रूपले कुशलतापूर्वक रेकर्ड गर्न सक्ने एउटा खुला ‘डिस्ट्रिब्युटेड लेजर’ हो) मा आधारित डिजिटल मुद्रा बिटक्वाइन सन् २००९ बाट अस्तित्वमा आएको छ । आधुनिक क्रिप्टोकरेन्सीको आगमनले पनि डलरको विश्वव्यापी लोकप्रियतामा पारेको प्रभाव शून्यबराबर छ । यद्यपि क्रिप्टोकरेन्सीका प्रवर्तक मौजुदा वित्तीय प्रणालीलाई चुनौती दिन सकिनेमा अझै आशावादी देखिन्छन् । तर, विश्वव्यापी पोर्टफोलियोमा क्रिप्टोले पारेको प्रभावलाई हेर्दाचाहिँ त्यस्तो सम्भावना कमै देखिन्छ । विश्वकै शक्तिशाली केन्द्रीय बैंक (फेड, युरोपेली केन्द्रीय बैंकलगायत)ले नै अझसम्म विश्वव्यापी वित्त व्यवस्थालाई सञ्चालन गरिराखेका छन् । 

यसैबीच, फेसबुकले ल्याउन लागेको डिजिटल मुद्रा लिब्रा वित्त बजारमा सम्भावित गम्भीर खेलाडी बनेर एकाएक देखा परेको छ । फेसबुक र उसका गठबन्धन कम्पनी मिलेर आफ्नै नयाँखाले नीजी मुद्रा सुरु गर्ने योजना बुन्दै छन् । त्यो मुद्रा कुनै न कुनै रूपमा विश्वका प्रमुख मुद्रा वा स्थिर सम्पत्तिको छहारीबाट सुरक्षित हुने बताइएको छ । 
अहिले फेसबुकसँग दुई अर्ब बढी सक्रिय प्रयोगकर्ता छन् अनि मौजुदा वित्तीय प्रणालीमा चाहिँ थुप्रै कमीकमजोरी विद्यमान छन् । त्यसैले लिब्रा भुक्तानीमा व्यापक प्रयोग हुने मुद्रा बन्नेमा प्रश्नवाचक चिन्ह छैन । यदि निजी मुद्राले भुक्तानी प्रणालीलाई सस्तो, सजिलो र सुरक्षित बनाए भने यसलाई प्रयोग गर्न उपभोक्ता राजी हुनेछन् । मौद्रिक इन्जिनको खोलमुनि के छ भन्ने परवाह कमैले गर्छन्, अधिकांश मानिसलाई त कारोबार दुर्घटनारहित भइदिए पुगिहाल्छ । 

दुर्भाग्यवस हाम्रो अहिलेको भुक्तानी प्रणालीको सञ्चालन खर्च महँगो छ । विदेशमा काम गर्ने कामदारले आफ्नो देशमा रेमिट्यान्स पैसा पठाउन निकै महँगो शुल्क तिर्नुपर्छ । यदि फेसबुकले आफ्ना अपडेटमा दाबी गरेजस्तै डिजिटल मुद्रा लिब्राले मानिसलाई पैसा सजिलै र सस्तोसँग पठाउन सक्ने सेवा दियो भने त्यसले वाहवाही पाउने पक्का छ । 

आर्थिक परिदृष्यलाई रुपान्तरणकारी नयाँ डिजिटल प्रविधिले कति चाँढै रुपान्तरण गरिदिन्छन् त्यो त हामीले बारम्बार अनुभव गरिरहेकै छौँ । विचार गरौँ त उबर र लिफ्टको दबाबको चपेटामा ट्याक्सी कति चाँडै आएको थियो । 

आधुनिक क्रिप्टोकरेन्सीको आगमनले पनि डलरको विश्वव्यापी लोकप्रियतामा पारेको प्रभाव शून्यबराबर छ । यद्यपि, क्रिप्टोकरेन्सीका प्रवर्तक मौजुदा वित्तीय प्रणालीलाई चुनौती दिन सकिनेमा अझै आशावादी देखिन्छन् ।

बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीहरू बैंकलगायत वित्तीय मध्यस्थताको जालोलाई अतिक्रमण गर्ने गरी डिजाइन गरिएका हुन् । सिद्धान्ततः धेरैजसो वित्तलाई अहिले अस्तित्वमा रहेका बैंक एवं अन्य मध्यस्थकर्ताविनै व्यवस्थापन गर्न सम्भव पनि देखिन्छ । तर, क्रिप्टो–बजारको पूर्वाधार खासै उपभोक्तामैत्री भन्न सकिने खालको भने छैन । वास्तविकताचाहिँ यही हो । पैसा हराउन वा विभिन्न तरिकाले चोरिन सक्ने  प्रसस्त सम्भावना छन् ।

यसविपरीत फेसबुक आफ्ना ग्राहकलाई कसरी खुसी राख्नुपर्छ भन्ने जानेको एउटा प्रतिनिधिमूलक डिजिटल प्रविधि कम्पनी हो । निश्चय पनि यसका गोपनीयतासम्बन्धी नीति र राजनीतिक भाषणप्रतिको व्यवहारलाई लिएर गुनासो गर्ने क्रम प्रतिदिन बढिरहेको छ, तर गुनासो गर्नेले फेसबुकको सेवा प्रयोग गर्न भने छोडेका छैनन् । तीव्र रूपले विकसित भइरहेको डिजिटल प्रविधिमा सस्तो र सुरक्षित वित्तीय कारोबारको संयोजन हुन खोज्दै छ, जसले वित्तीय विश्वमा क्रमभंगता ल्याउने सम्भावना छ ।

सार्वजनिक चासोका विषयमा अमल नगरेकाले अहिले फेसबुकको प्रतिष्ठा घटेको छ । त्यसकारण अवश्य पनि लिब्रालाई अलिकति शंकाले हेरिनेछ । यसर्थ फेसबुकको बदनामीका कारण लिब्राको आगमनका लागि गत वर्ष अशुभ हुन सक्थ्यो । 

यसखाले निजी मुद्राले मुद्रा निर्मलीकरण तथा केवाइसी ( नो योर कस्टुमर) जस्ता नियमनका प्रावधान पालना नगरेमा अग्रणी देशसँग त्यसलाई बन्द गरिदिने विकल्प सधैँ रहन्छ नै । त्यसैले यदि लिब्राले प्रगति गरेन भने त्यसले थप सचेत कर्पाेरेट–समर्थन पाउने अन्य मुद्राका लागि मार्ग प्रसस्त मात्रै गर्नेछ । सायद कुनै सार्वभौम राष्ट्रले जारी गरेको आधुनिक डिजिटल वा यस्तैखाले अन्य मुद्राबाट पो डलरले चुनौतीको सामना गर्नुपर्ने हो कि । आखिर सबै देशलाई आफ्नै मुद्रा डिजाइन र चलन गर्ने हक जो छ । 

केही समय चिनियाँ मुद्रा रेन्मेन्वी चुनौती बन्न सक्ने आकलन गरिएको छ । हुन त यसले कुनै दिन अमेरिकी मुद्रा डलरलाई विस्थापित गर्दै विश्वको मुख्य बचत मुद्रा बन्ने अनुमानसमेत गर्ने गरिएको छ । यस्तो हुन पनि सक्छ । तर, विदेशी लगानीकर्ताले चिनियाँ राजनीतिक प्रणालीलाई विश्वास गर्नेमा आशंका रहेकाले  हामी त्यसदिन तर्फअघि बढिरहेका छौं छैनौँ स्पष्ट छैन । 

यसर्थ, अमेरिकी केन्द्रीय बैंक फेडको चासो र चिन्ता रहनु जायज हुन्छ । लिब्राको असरका रूपमा बढिरहेको सम्भावित प्रतिस्पर्धाको दबाबले मौजुदा प्रणालीलाई राम्रोसँग काम गर्ने प्रेरणाचाहिँ मिलेको छ । फेडले सुरु गर्न लागेको तत्काल भुक्तानी प्रणाली ‘फेडनाउ’ भुक्तानीको समय र लागत घटाउने गरी तयार गरिएको छ । योलगायतले मौजुदा प्रणालीमा सुधार ल्याउन सक्ने सम्भावना छ । 

पछिल्लो वक्तव्यमा फेडका गभर्नर लायल ब्रेनार्डले फेडले माध्यमस्तरको नयाँ खोज गर्ने र डलर ठीक हुने तर्क गरेका छन् । उनी सही हुन सक्छिन् । तर, लामो अन्तरालमा पहिलोपटक केन्द्रीय बैंकसँग  प्रतिस्पर्धा गर्न कोही आएको छ । यसबाट उपभोक्ताले राम्रो सेवाको विकल्प पाउन सक्छन्  । 

आइएमएफका पूर्वप्रमुख अर्थशास्त्री जोन्सन, एमआइटी स्लोन स्कुल अफ मेनेजमेन्टका प्राध्यापक हुन् ।

Project Syndicate 2019
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य