मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०९:०५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

आन्द्राको क्यान्सर कारण र रोकथाम

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०९:०५:००
 डा. सुरेन्द्र शाह
ग्यास्ट्रो इन्टेस्टाइनल सर्जन
कान्तिपुर अस्पताल

नेपालमा आन्द्राको क्यान्सरका बिरामी बढिरहेका छन् । पेटमा हुने क्यान्सरमध्ये आमाशय र ठूलो आन्द्राको क्यान्सर धेरैमा देखिने समस्या हो । सामान्यतया कोलम र रेक्टम आन्द्राको तलतिरको भाग हो, जसलाई ठूलो आन्द्रा भनिन्छ । 
कारण

  •  उमेर बढ्दै जानु आन्द्राको क्यान्सरको प्रमुख कारण मानिन्छ । सामान्यतया ५० वर्षभन्दा माथिका व्यक्तिमा क्यान्सरको सम्भावना बढी हुने गर्छ । तर, पछिल्लो समय युवा उमेरमै आन्द्राको क्यान्सर देखिन थालेको छ ।  
  •  वंशाणुगत गुणबाट पनि आन्द्राको क्यान्सर हुन सक्छ । परिवारका कुनै सदस्यमा आन्द्राको क्यान्सर भएमा सन्तानमा पनि क्यान्सर हुने सम्भावना रहन्छ । 
  •  अस्वस्थ खानपान क्यान्सरको अर्को कारण मानिन्छ । अत्यधिक रातो मासु सेवनले क्यान्सरको जोखिम बढाउँछ । त्यस्तै, हिजोआज तरकारी तथा फलफूलमा अत्यधिक मात्रामा कीटनाशक औषधि वा केमिकलको प्रयोग हुने गर्छ । जसले गर्दा समेत स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको हुन्छ ।  
  •  मोटोपनाले गर्दा पनि आन्द्राको क्यान्सर हुन सक्छ । 

आन्द्राको क्यान्सर भएमा सामान्य लक्षण मात्रै देखापर्छन् । जसले गर्दा सुरुवातीको चरणमै क्यान्सर भएको थाहा पाउन गाह्रो हुने गर्छ । 

कसरी थाहा पाउने ?

  •  एडिनोमाबाट भएको आन्द्राको समस्या बिस्तारै क्यान्सरमा परिणत हुने गर्छ । समयमै समस्या पत्ता लागेमा यसबाट जोगिन सकिन्छ ।  
  •  आन्द्राको क्यान्सर भएमा सामान्य लक्षण मात्रै देखापर्छन् । जसले गर्दा सुरुवातीको चरणमै क्यान्सर भएको थाहा पाउन गाह्रो हुने गर्छ । 
  •  ५० वर्ष पार गरेका व्यक्तिमा यस्तो समस्या धेरै देखिने गर्छ । ती व्यक्तिले स्क्रिनिङ गरेर आफ्नो स्वास्थ्य स्थिति ठीक भए÷नभएको पत्ता लगाउन सक्छन् । 
  •  कालो दिसा, भोक कम लाग्ने, दुब्लाउँदै जाने, पेट दुख्नेजस्ता समस्या यसका लक्षण हुन् । आन्द्राको माथिल्लो भागमा क्यान्सर भएमा रगतको कमी हुने, आन्द्रा बन्द भएर पेट सुन्निने, कमजोरीपन देखिने समस्या आउँछ । कतिपयमा क्यान्सरले गर्दा आन्द्रा फुट्ने हुन्छ ।
  •  क्यान्सरको सुरुको चरणमा कब्जियत हुने वा पखाला लाग्ने, दिसामा रगत देखिने हुन्छ । क्यान्सर जटिल हुँदै गएपछि आन्द्रा बन्द हुने, पेट सुन्निने, बान्ता हुने, अत्यधिक रक्तश्राव हुने समस्या देखिन्छ ।   

रोकथाम र उपचार

  •  मोटोपन भएका व्यक्तिमा क्यान्सरको जोखिम धेरै रहने भएकाले तौल नियन्त्रण आवश्यक छ । त्यस्तै, दैनिक एक्सरसाइज रोकथामको प्रभावकारी उपाय हो ।
  •  स्वस्थ खानपानमा ध्यान दिनुपर्छ । फाइबर, प्रोटिन, काब्र्रोहाइडेट पर्याप्त मात्रामा पाइने खाना मात्रा मिलाएर  खान आवश्यक छ ।
  •  प्रभावित अंग र समस्या कुन चरणमा छ भन्ने आधारमा फरक– फरक ढंगले आन्द्राको क्यान्सरको उपचार हुने गर्छ । शल्यक्रियाको माध्यमबाट प्रभावित अंग निकालेर उपचार गरिन्छ । तर, क्यान्सर जटिल चरणमा पुगिसकेको अवस्थामा किमोथेरापीबाट उपचार गरिन्छ । 
  •  ननक्युरेटिभ  स्टेजमा पुगिसकेपछि उपचार गर्न सकिँदैन । तर, रेडियोथेरापी, किमोथेरापी र शल्यक्रियाबाट समस्या नियन्त्रण गर्न सकिन्छ ।