मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
इलन वाल्ड
२०७६ कार्तिक २२ शुक्रबार ०८:५९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

साउदी राजघराना पोस्ने ठूलो कम्पनी

Read Time : > 3 मिनेट
इलन वाल्ड
२०७६ कार्तिक २२ शुक्रबार ०८:५९:००

साउदी अरबको पुँजी बजार प्राधिकरणले आइतबार साउदी अराम्कोलाई सार्वजनिक कर्पोरेसनमा रूपान्तरण गर्ने योजनालाई स्वीकृति दिएको छ । कम्पनीको १ देखि ३ प्रतिशत सेयर डिसेम्बरसम्म ‘इनिसियल पब्लिक अफरिङ–आइपिओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव)’का रूपमा जारी गरिने आशा गरिएको छ । युवराज मोहम्मद बिन सलमानले तीन वर्षअघि कम्पनीलाई २० खर्ब अमेरिकी डलर मूल्यांकन गरेका थिए । तर, यसको मूल्यांकन १३ खर्बदेखि १७ खर्बबीचसम्म हुने आकलन गरिएको छ । मानौँ, कम्पनीको मूल्यांकन १७ खर्ब डलर भयो । त्यस अवस्थामा साउदी अरबले बाहिर अनुमान गरेजस्तो २ प्रतिशतमात्र सेयर सार्वजनिक गर्‍यो भने पनि त्यो ३० अर्ब अमेरिकी डलर हुनेछ । 

अराम्को आफैँमा एक अदभुत व्यवसाय हो, जसले सन् २०१८मा संसारभरका कम्पनीमध्ये सबैभन्दा धेरै नाफा कमायो । अराम्कोले सन् २०१८ मा १ खर्ब ११ अर्ब अमेरिकी डलर नाफा कमायो । दोस्रो धेरै नाफा कमाउने एप्पलले त्यस वर्ष ५९.५ अर्ब नाफा कमाएको थियो । अराम्कोले न्यून मूल्यमा अन्य कुनै कम्पनीले भन्दा बढी तेल निकालिरहेको छ । ३० वर्षदेखि कम्पनी निरन्तर उन्नति पथतर्फ अग्रसर छ । त्यस क्रममा कम्पनीले आफ्नो व्यवसायलाई विविधीकरण गर्‍यो र दक्षिण र दक्षिण–पूर्वी एसियादेखि अमेरिका र युरोपसम्म सम्बन्ध विस्तार गर्‍यो । 

यही अवधिमा अराम्कोले साउदी अरबमा पुरानो हुँदै गएको तेल कुवा–क्षेत्रको पूर्वाधारमा सुधार गर्‍यो । वातावरणीय प्रभाव न्यूनीकरण गर्न पनि कम्पनी गम्भीर रह्यो । कार्बनमा आधारित इन्धनको वातावरणीय प्रभाव न्यूनीकरणका लागि उसले नियमित रूपमा नयाँ प्रविधि भित्र्रयाइरहेको छ । लगानीकर्ताले लगानी गर्दा नाफा र घाटा मात्र ख्याल गर्छन् भने आजको दिनमा अराम्कोमा गरिने लगानी सबैभन्दा सुरक्षित लगानी हुनेछ । तर, साउदी अरबका राजा सलमान संसारका बचेखुचेका निरंकुश राजामध्ये सबैभन्दा शक्तिशाली हुन् ।

उनको शक्तिको ठूलो हिस्सा अराम्कोको नियन्त्रण र स्वामित्वबाट आउँछ । अराम्कोको सेयर जारी हुँदा त्यसको सूचीकरण साउदी अरबमा मात्र हुन्छ । सेयरधनीका रूपमा बाँकी विश्वका लगानीकर्ताको हातमा कुनै खास अधिकार हुने छैन । अमेरिकामा सार्वजनिक कम्पनीले असल विश्वासमा लगानीकर्ताको हित अनुरूप काम गर्ने दायित्व र अधिकार सरकार वा कुनै राजासँग नभएर एक बोर्ड अफ डाइरेक्टरसँग हुन्छ ।

अमेरिकामा सेयरधनीले तिनको अधिकार रक्षाका लागि अदालतमा मुद्दा हाल्न सक्छन् । तर, साउदी अरबमा सेयरधनीले आवाज उठाउने ठाउँ छैन । राजाको चाहना विरुद्धमा सेयरधनीको कुनै अधिकार हुँदैन । हुन त साउदी अरबमा सेयरधनीको अधिकारको संरक्षण गर्न नयाँ नियम आएको छ । तर, कुनै साउदी नियामक संस्था राजाको चाहनाविरुद्ध जाँदैनन् । साउदी अदालत स्वतन्त्र छैनन् र कुनै पनि न्यायाधीशले राजाको इच्छाविरुद्ध गएर विदेशी लगानीकर्ताको पक्षमा फैसला गर्ने कल्पना पनि गर्न सकिँदैन । यदि तपाईंले अराम्कोमा लगानी गर्नुभयो, त्यस लगानीका हकमा तपाईं  साउदी अरबको निरंकुश राजघरानाको प्रजा बन्न स्विकार्नुपर्नेछ । 

साउदी राजघरानाले अराम्कोलाई आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गरिरहेका छन्, भावी दिनमा यसले कम्पनीका सार्वजनिक सेयरधनीलाई अप्ठ्यारोमा पार्न सक्छ  
 

राजा सलमान र युवराज मोहम्मदले अराम्को कम्पनीमाथि कुनै पनि पूर्ववर्तीभन्दा बढी नियन्त्रण कायम गरेका छन् । साउदी राजघरानाले देशको अराम्कोलाई सो कम्पनीको फाइदाका लागिभन्दा पनि आफ्नै स्वार्थ पूरा गर्न प्रयोग गरिरहेका छन् । भावी दिन यस कुराले कम्पनीका सेयरधनीमा समस्या उत्पन्न गर्न सक्छ । आराम्कोको स्टक सूचीकरण केही समय भए पनि साउदी अरबमा मात्र हुने निश्चित भएको छ । त्यसका लगानीकर्ताले के बुझ्नुपर्छ भने तिनले साउदी अरबको वित्तीय प्रणाली र साउदी अरब स्टक एक्सचेन्ज(टडाउल)अन्तर्गत काम गर्नुपर्नेछ । टडाउल राजाको चाहनाअनुरूप चल्छ । यसको अर्थ लगानीकर्ताले साउदी सेयर खरिद गर्दा तिनले सेयरधनीका रूपमा पाउने अधिकारलाई परित्याग गर्नुपर्छ । राजाको इच्छाभन्दा फरक जाँदा सार्वजनिक सेयरधनीको स्वार्थ संरक्षण हुने छैन ।

लगानीकर्ताका लागि यो साँच्चै चिन्ताको विषय हो । लगानीकर्ताको लागि अर्को गम्भीर चिन्ता साउदी सरकारले अराम्कोबाट झिक्ने निकै ठूलो लाभांश पनि हुनेछ । हालसम्म कम्पनी पूर्ण रूपमा राजाको स्वामित्वमा रहेकाले लाभांशलाई लिएर विवाद थिएन । साउदी सरकारको आवश्यकता पूरा गर्ने हिसाबमा अराम्कोबाट लाभांश छुट्याइन्छ । साउदी अरब सरकारले कम्पनीको पैसाले सरकारी आयको ६० प्रतिशत हिस्सा प्रदान गर्ने अपेक्षा गर्छ ।

सन् २०१८ मा साउदी सरकारले अराम्कोबाट १ खर्ब १ अर्ब अमेरिकी डलर प्राप्त गर्‍यो । त्यो कर र ६० अर्ब डलरको लाभांश जोडेर प्राप्त भएको थियो । तेलको मूल्यमा गिरावट भयो वा इरानको आक्रमण भयो र त्यसबाट अराम्कोले राम्रो आय गरेन भने पनि सरकारले उसको आवश्यकताअनुरूप रकम नलिई छाड्दैन । भावी दिनमा पनि यो कार्य जारी रहेमा सेयरधनीले त्यस कार्यको विरोधमा जाने कुनै ठाउँ छैन । पुँजी लगानीकर्ताले अराम्को कम्पनीको आइपिओमा लगानी गर्दा सेयरधनीका रूपमा प्राप्त हुने अधिकारको परित्याग एक हिसाबले स्वाभाविक पनि हुनेछ । किनकि कम्पनीमा लगानी गर्नेले अन्ततोगत्वा साउदी राजतन्त्रलाई बलियो बनाउन योगदान गरिरहेका हुनेछन् । 

आइपिओ र त्यसपछि पनि जारी गरिने सेयरबाट संकलन हुने पैसा कम्पनीमा जाने छैन । यो साउदी अरबको राजा र सरकारकहाँ जानेछ । त्यसपछि जारी हुने प्रत्येक अराम्को सेयर खरिद गर्दा कम्पनीको मूल्य थोरैले बढ्नेछ र राजालाई थप धनी बनाउनेछ । हिजोआज लगानीकर्ता खुला बजारमा पैसा कमाउनका लागि प्रत्येक दिन आफ्नो नैतिकता र आदर्शलाई थाती राखिरहेका देखिन्छन् ।

इन्धन कम्पनीका सेयरधनी यसको राम्रो उदाहरण हुन् । तर, अराम्को कम्पनीको सेयर किन्न चाहने प्रत्येकले त्यसको अर्थ बुझ्न खोज्नुपर्छ । साउदी अराम्को कम्पनीमा गरिने लगानी कुनै एक सफल कम्पनीमा गरिने लगानी मात्र होइन, यो एक निरकुंश राजतन्त्रको प्रजा बन्ने स्विकारोक्ति पनि हुनेछ । आखिर यो सेयर सोही देशको राजतन्त्रलाई पोस्नकै लागि ल्याउन लागिएको न हो । 

इलन वाल्ड लेखक हुन्

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य