मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०८:११:००
Read Time : > 2 मिनेट
खेलकुद

नेपाल र कुवेतबीचकाे खेल रंगशालामा नहुने

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०८:११:००

दशरथ रंगशालाको निर्माण कार्य पूरा नभएकाले नेपाल र कुवेतबीचको विश्वकप छनोट खेल अब तेस्रो राष्ट्रमा 

नेपाल र कुवेतबीच दशरथ रंगशालामा ३ मंसिरमा हुने भनिएको विश्वकप छनोट खेल नहुने भएको छ । नेपालले घरेलु भूमिमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो । तर, दशरथ रंगशालामा खेलाडी चेन्जिङ रुम तयार नहुँदा कुवेतविरुद्धको खेल आयोजना गर्नबाट नेपाल वञ्चित भयो । 

मंगलबार एएफसीका प्रतिनिधिले रंगशालाको निरीक्षण गरेका थिए । उनले एएफसीलाई बुझाएको प्रतिवेदनमा रंगशालामा फुटबल गराउन नसकिने जनाएका छन् । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल गराउन नसक्दा समर्थकसँग माफी मागेको छ । बिहीबार विज्ञप्ति निकाल्दै एन्फाले समयमा रंगशाला बनाउन नसक्दा समर्थक र शुभचिन्तकसँग माफी माग्यो । नेपाल र कुवेतबीचको खेल तटस्थ मैदानमा हुने सम्भावना छ । नेपालले फिफा र एएफसीसमक्ष तटस्थ भूमिका रूपमा भुटानको प्रस्ताव राख्ने तयारी गरेको छ ।

कुवेतको उजुरी नै पर्याप्त
१५ दिनअघि एन्फालाई कुनै जानकारी नदिई कुवेतको एक टोली दशरथ रंगशालाको अवलोकन गरेर फर्किएको थियो । सोही टोलीले एएफसीमा नेपालको निर्माणाधीन रंगशालामा आफूहरू खेल्न नसक्ने भन्दै उजुरी गर्‍यो । एएफसीले तत्कालै आफ्ना कर्मचारी देङ सिओ लङलाई रंगशालाको निरीक्षण गर्न पठायो । देङकै प्रतिवेदनलाई आधार मानेर एएफसीले रंगशालामा नेपाल र कुवेतबीचको खेल नहुने निर्णय गरेको हो । देङले प्रतियोगिताका लागि मैदान र चेन्जिङ रुमदेखि अत्यावश्यक काम नै नसकिएकाले खेल गराउन नमिल्ने जनाएका छन् । 

एन्फाले माग्यो माफी
एन्फाले विज्ञप्तिमार्फत नेपालमा खेल हुन नसक्ने जानकारी गराएको छ । ‘दशरथ रंगशालाको समयमा पुनर्निर्माण हुन र गराउन नसक्दा विश्वकप छनोट खेल गराउन नसकेकाले हामी माफी माग्छौँ,’ एन्फाको विज्ञप्तिमा भनिएको छ । यता एन्फा प्रवक्ता किरण राईले सबै पक्षबाट कमजोरी हुँदा पहिलो घरेलु खेल नेपालमा आयोजना गर्न नसकेको बताए । उनले भने, ‘एन्फासँग सीमित जिम्मेवारी थियो । यो मैदान समयमै पूरा गर्ने दायित्व राष्ट्रिय खेलकुद परिषद्को हो, तर दुर्भाग्य हामीले समयमै मैदान तयार गर्न सकेनौँ । यसमा एकअर्कालाई दोष लगाउनुभन्दा सबैले जिम्मेवारीबोध गरेर बाँकी खेल नेपालमै गर्ने वातावरण बनाउनुपर्छ ।’

नेपालको भुटान र कुवेतको कतार प्रस्ताव
रंगशालामा खेल नहुने भएपछि अब नेपाल र कुवेतबीचको खेल तेस्रो राष्ट्रमा हुनेछ । एएफसीले छिट्टै नयाँ खेलस्थल सार्वजनिक गर्नेछ । नयाँ स्थान निर्धारण एक वा दुई दिनमै हुने प्रवक्ता राईले जानकारी दिए । ‘हामीले भुटानमा खेलको प्रस्ताव गरेका छौँ, कुवेतले पनि आफूअनुकूल मैदान प्रस्ताव गरेको छ,’ राईले भने, ‘अब एएफसीले मैदानको टुंगो एक–दुई दिनमै लगाउनेछ ।’ कुवेतले अगाडि नै कतारमा खेल गराउन एएफसीमा प्रस्ताव राखिसकेको छ । यता एन्फाले विज्ञप्तिमार्फत नै भुटानमा खेलको प्रस्ताव गरेको जानकारी दिएको छ ।

रंगशाला निर्माणमा सहज
कुवेतविरुद्धको खेल नहुने भएपछि निर्माणाधीन रंगशालाको काममा बाधा नहुने भएको छ । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) उद्घाटनस्थलका रूपमा तय गरिएको रंगशालाको अझै पनि मर्मत कार्य भइरहेको छ । भिभिआइपीतर्फको छानो राख्न पोल ठड्याउनले काम भइरहेको छ । नेपाल र कुवेतबीच खेल हुँदा कम्तीमा रंगशालाको मर्मत कार्य दुई वा तीन दिनसम्म रोकिनुपर्ने अवस्था थियो । अन्तर्राष्ट्रिय फुटबल हुँदा फिफा र एएफसीको नियमअनुसार रंगशालामा केही कार्य गर्न मिल्दैन । अझ फुटबल भएको दिनमा यहाँ अन्य कुनै पनि गतिविधि गर्न पाइँदैन । खेल नहुँदा  राष्ट्रिय खेलकुद परिषद्लाई  केही राहत मिलेको छ । 

म्यानमारसँग नेपाल पराजित
नेपाली सिनियर फुटबल टोली बिहीबार म्यानमारसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ३–० ले पराजित भएको छ । म्यानमारको रंगशालामा नेपालले पहिलो तथा दोस्रो हाफमा फितलो प्रदर्शन गरेपछि हारको सामना गरेको हो । नेपालले कतार विश्वकपअन्तर्गत एसियन छनोटको दोस्रो चरणको तयारीस्वरूप म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल बेहोर्‍यो ।