मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०६:२९:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

अफ्ताबकै आदेशमा भाइ डा. अख्तरले घाइतेलाई दिएका थिए बेहोस हुने इन्जेक्सन

Read Time : > 4 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०६:२९:००

१२ वर्षअघि रौतहट राजपुर फरहदवा–४ स्थित शेख इद्रिसको टहरोमा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई इन्जेक्सन लगाई बेहोस पार्ने डाक्टरको परिचय खुलेको छ । घाइतेलाई इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा सांसद मोहम्मद अफ्ताब आलमका काकाको छोरा डा. समिम अख्तर संलग्न रहेको प्रहरी स्रोतले जनाएको छ । अख्तर हाल रौतहटको गौरमा कांग्रेसका पुराना नेता शेख इद्रिस खालिहानको नाममा ‘श्री शेख इद्रिस डाइग्नोस्टिक सेन्टर’ क्लिनिक सञ्चालन गरेर बसेका छन् । 

डा. अख्तरले पाकिस्तानबाट एमबिबिएस अध्ययन गरेका हुन् । तर, प्रहरीले इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा संलग्न अभियुक्तबारे भने अनुसन्धान अघि बढाएको छैन । इन्जेक्सन लगाउने कार्यमा संलग्नहरूको सम्बन्धमा सूचना प्राप्त नभएकाले अनुसन्धान अघि नबढाएको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा संलग्न हुनेहरूको सम्बन्धमा सूचना प्राप्त नभएको बताए । अब भने यस सम्बन्धमा पनि अनुसन्धान अघि बढाइने उनले बताए । ‘विस्फोटका घाइतेलाई इन्जेक्सन लगाएर बेहोस बनाएको र पछि इँटाभट्टामा लगेर जलाएको जानकारीमा छ । तर, कसले इन्जेक्सन लगाएको हो ? त्यस सम्बन्धमा भने सूचना थिएन । अब सूचना संकलन गर्ने कार्यमा प्रहरी अघि बढिसकेको छ,’ एसपी खत्रीले भने ।

 मृतक पिन्टुका बाबुले प्रहरीसँग खुलाए डा. अख्तरको संलग्नता
मृतक पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह राजपुतले विस्फोटमा आफ्नो छोरा घाइते भएको, तर पछि इन्जेक्सन लगाई बेहोस बनाएको बयान प्रहरीलाई दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनमा भने सिंहले घाइते भएका पिन्टुलाई डा. समिरले इन्जेक्सन लगाई बेहोस बनाएको बताए छन् । प्रतिवेदनमा उनले भनेका छन्, ‘मलाई सानो घाउ छ । म घर जान सक्छु भन्थेँ, तर अफ्ताबको भाइ डा.समिरले इन्जेक्सनमा जहर हाली मेरो छोराको नशामा दिएको थाहा पाएँ । मेरो छोरा मर्ने अवस्थामा थिएन ।’

नयाँ पत्रिकासँगको कुराकानीमा पनि भने सिंहले डा. समिमले नै घाइते छोरालाई इन्जेक्सन लगाई बेहोस बनाएको बताए । ‘मेरो छोरालाई इन्जेक्सन लगाई बेहोस बनाए । पछि, इँटाभट्टामा लगेर जलाए । इन्जेक्सन लगाएको अफ्ताबका भाइ डा. समिमले हो । मैले इन्सेकलाई त्यसवेला समिर भनेको थिएँ । मुस्लिम समुदायमा नाम अप्ठ्यारो हुन्छ । त्यसवेला समिर भनेँ । त्यो मान्छे खासमा समिम हो,’ उनले भने ।

प्रहरीका स्रोतका अनुसार घटना हुँदा डा.समिम राजपुरस्थित निवासमै थिए । बम विस्फोटमा घाइते भएको थाहा पाएपछि उनी अफ्ताबको सम्पर्कमा पुगेका थिए । अफ्ताबकै आदेशमा उनले घाइतेलाई इन्जेक्सन लगाएको प्रहरी स्रोतको भनाइ छ । 

 थुनछेक बहस शुक्रबार पनि हुने 
सांसद अफ्ताब आलमको मुद्दामा बिहीबारदेखि थुनछेक बहस सुरु भएको  छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सकिएपछि वकिलहरूले बहस गरेका थिए । बहस नसकिएकाले शुक्रबार पनि जारी रहनेछ ।

सरकारका पक्षबाट सरकारी वकिल खणीन्द्रराज कटवालले पहिलो बहस गरे । उनले प्रहरीले अनुसन्धानका आधारमा घटनामा संलग्न आलमलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरे । सहन्यायाधिवक्ता अर्जुनप्रसाद कोइरालाले आलमले मानवीय संवेदना नै बिर्साउने घटना घटाएका कारण उनलाई हदैसम्मको कारबाहीको माग गरे ।

बिहीबार दिउँसो २ बजेबाट सुरु भएको बहसमा पीडितका पक्षबाट अर्का सहन्यायाधिवक्ता सूर्यराज दाहालले सांसद जस्ताले जघन्य अपराध गरेका कारण हदैसम्मको सजायको माग गरे ।

आलमलाई ५१ वटा प्रश्न सोधिएको थियो । तेस्रो दिनको बयानमा उनलाई ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो । न्यायाधीशले सोधेको अधिकांश प्रश्नको आलमले इन्कारी बयान दिएका थिए ।

 आलमका पक्षका २८ जना वकिलले बहस गर्ने
आलमको तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, रमण श्रेष्ठ, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे, गोपालकृष्ण घिमिरेले बहसका लागि वकालतनामा लिएको रौतहट बार एसोसिएसनका अध्यक्ष अनन्त अधिकारीले जानकारी दिए । वरिष्ठ अधिवक्ता शम्भु थापाले आलमको पक्षमा बहस गर्ने भनिए पनि उनको वकालतनामा भने आइसकेको छैन । आलमको पक्षमा रौतहटका २८ जना वकिलले समेत बहस गर्ने अधिकारीले बताए । आलममाथि प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक सामान ओसारपसार तथा गैरकानुनी भण्डारण गरी तीनवटा मुद्दा अदालतमा दर्ता गरेको थियो ।

 जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमले दिएका बयान 
प्रश्न : नेपालको संविधानले तपाईं आफ्नोविरुद्ध बोल्न कर नलाग्ने र चुप लागेर बस्न पाउने मौलिक हक प्रदान गरेको छ । यदि तपाईंले आफ्नोविरुद्ध बोल्नुभयो भने त्यो तपाईंको विरुद्धमा प्रमाण लाग्ने कुराको जानकारी गराइएको छ । यसको मतलब बुझ्नुभयो नि ? 

उत्तर : नेपालको संविधानले आफ्नोविरुद्ध बोल्न कर नलाग्ने र चुप लागेर बस्न पाउने मौलिक हक प्रदान गरेको कुरा मलाई थाहा छ । मैले आफ्नो विरुद्ध बोल्यो भने मेरो विरुद्धमा प्रमाणमा लाग्ने कुरा मलाई बुझाउँदा बुझेँ । जानकारी पाएँ ।

प्रश्न : सो मुद्दाबाहेक तपाईंउपर फौजदारी मुद्दा परेको छ–छैन, परेको भए फैसला भई सजाय पाएको तथा हाल कारबाही अवस्थामा चलिरहेको छ–छैन ? 

उत्तर : प्रस्तुत मुद्दाबाहेक मउपर कुनै फौजदारी मुद्दा परेको छैन । कारबाही अवस्थामा नरहेको हुँदा सजाय पाउने कुरा भएन । कुनै सजाय पाएको छैन । 

प्रश्न : प्रतिवेदकहरू प्रहरी निरीक्षक पपु नायक, प्रनानि दीपककुमार गुप्ता तथा जाहेरवालाहरू श्रीनारायण सिंह राजपुत, रोक्साना खातुन, सफी अमम्द, शंकर भनिने गौरीशंकर राम चमारसँग चिजान, लेनदेन, कारोबार, रिसइबी छ–छैन ? 

उत्तर : प्रतिवेदकहरू प्रहरी निरीक्षक पपु नायक, प्रनानि दीपककुमार गुप्ता र जाहेरवालाहरू श्रीनारायणसिंह राजपुत, रोक्साना खातुन, सफी अमम्द, शंकर भनिने गौरी शंकर राम चमारलाई मैले चिनेको छैन । नचिनेको हुँदा नाता, लेनदेन, रिसइबी, कारोबार केही पनि छैन । 

प्रश्न : तपाईंउपर वादी नेपाल सरकारले दायर गरेको प्रस्तुत मुद्दाको अभियोगपत्रको प्रतिलिपि तपाईंले प्राप्त गर्नुभयो, पढ्नुभयो, अभियोगका सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन तयार हुनुहुन्छ ? 

उत्तर : मउपर वादी नेपाल सरकारले दायर गरेको प्रस्तुत मुद्दाको अभियोगपत्रको प्रतिलिपि मैले प्राप्त गरेँ । अभियोगको सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन म तयार छु । दिन सक्छु । 

प्रश्न :  तपाईं वारदात भएको भनिएको २७ चैत ०६४ बिहानदेखि बेलुकासम्म कुन कुन ठाउँमा के गर्दै हुनुहुन्थ्यो ? तपाईंको को–कोसँग भेटघाट भएको थियो ? 

उत्तर : वारदात भएको भनिएको मितिमा निर्वाचन प्रचारप्रसार गर्न बन्द थियो । त्यसैले म सो दिन बिहानदेखि बेलुकासम्म म राजपुरअन्तर्गतको आफ्नै निवासमा थिएँ । साथीहरूसँग निर्वाचनको अवस्थाबारे व्यवस्थापन गर्ने विषयमा छलफल गरी बसेको थिएँ । 

प्रश्न : अन्य प्रतिवादीहरू मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भनिने शेख सराज, शेख फजेल हक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी, मुक्ति साहसँग तपाईंको चिनजान छ छैन ? नाता सम्बन्ध पर्छ–पर्दैन ? चिनजान भए निजहरूको वतन खुलाइदिनुस् । 

उत्तर : प्रतिवादीमध्ये मोहम्मद महताब आलम मेरा सहोदर भाइ हो । अन्यलाई म चिन्दिनँ । 

प्रश्न : हत्या गरिएको भनिएको ओसी अख्तर, त्रिलोकप्रताप सिंह चिन्नुहुन्छ ? निजहरू तपाईंको चुनाव प्रचारमा थिए ? 

उत्तर : उनीहरूलाई मैले चिनेको छैन । त्यसो हुँदा ०६४ को चुनावमा मेरो प्रचारमा सहभागी गराएको छैन । 

प्रश्न : ०६४ को चुनावमा तपाईंको प्रचारमा भारतीय नागरिक पनि समेत थिए–थिएनन् ? 

उत्तर : ०६४ को चुनावमा मेरो प्रचारप्रसारमा भारतीय नागरिक कोही पनि सामेल थिएनन् । 

प्रश्न : १८ वैशाख ०६५ मा ओसी अख्तरकी आमा रोक्साना खातुनले दर्ता गराएको जाहेरी दरखास्तमा उल्लिखित व्यहोराको सम्बन्धमा तपाईंको राय के छ ? 

उत्तर : ओसी अख्तरकी आमा रोक्साना खातुनले दर्ता गराएको जोहरी दरखास्तमा उल्लिखित व्यहोरा सुनेँ । घटना भएको छैन । सबै काल्पनिक र झुटा हुन् । 

प्रश्न : ९ असार ०६५ मा अनुसन्धानका क्रममा गरेको बयान पढी सुनाइन्छ । त्यो बयान के हो ? त्यसमा लगाईको सही छाप तपाईंको हो ? 

उत्तर :  बयान सुनेँ । ठीक छ । बयान म आफैँले गरेको हुँ । बयानमा गरेको सहीछाप मेरै हो । 

प्रश्न : २० वैशाख ०६५ मा सराजुल मियाँको कागजमा उल्लिखित बयानका बारेमा तपाईंको भनाइ के छ ? 

उत्तर : २० वैशाख ०६५ मा सराजुल मियाँको कागजमा उल्लिखित बयान सुनेँ । घटना भएको छैन । सबै काल्पनिक र झुटा हुन् । 

प्रश्न : घटनाको प्रत्यक्षदर्शी सराजुलले झुटा व्यहोरा लेखाउनुपर्ने कारण के छ ? 

उत्तर : पटक–पटक सांसद तथा मन्त्री भएको र अहिले सांसद भएको हुँदा मेरो विरोधीहरूले सो कुरा देख्न सकेनन् । त्यसैले फसाएका हुन् । मेरा राजनीतिक पृष्ठभूमि सक्न यसो गरेका हुन् । 

प्रश्न : विस्फोट हुँदा घाइते सफी अहम्मदको घाउजाँच रिपोर्टमा उल्लिखित व्यहोराको सम्बन्धमा तपाईं के भन्नुहुन्छ ? 

उत्तर : वारदात भएको छैन । उनले कहाँ के गरेर घाइते भई कुन–कुन चोट लागी कहाँबाट उपचार गराई घाउँजाँच फराम भराए, मलाई थाहा छैन । 

प्रश्न :  राजा इँटा उद्योगमा भएको १५ वैशाख ०६५ मा भएको मुचुल्का पढी सुनाइन्छ । यसमा तपाईंको भनाइ के छ ? 

उत्तर : घटना भएको छैन । त्यसो हुँदा राजा इँटा उद्योगबाट प्रहरीले खरानी लगे–नलगेको थाहा भएन ।